Comments Add Comment

एनएसएलमा काठमाडौंको सुखद शुरुवात

११ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले उपत्यका डर्बीमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको हो ।

काठमाडौंको जितमा विदेशी खेलाडी स्टेफन समिरले निर्णायक गोल गरे ।

खेलको ६६औं मिनेटमा विदेशी खेलाडी मेसोउके ओलोउमोउले गोल गरे । अर्का विदेशी खेलाडी स्टेफन समिरको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले बचाए पनि त्यसमा रिबाउण्ड भएको बलमा मेसाउकेले गोल गरे ।

पहिलो हाफमा पनि काठमाडौंले गोलको अवसर बनाएको थियो । ३३ औं मिनेटमा काठमाडौंका स्टेफन समिरले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएको थियो । पहिलो हाफमा ललितपुरका लागि विदेशी खेलाडी भिलिम पोसिनकोभिकले फितलो प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

६२ औं मिनेटमा मेसेउकेको प्रहार ललितपुरका गोलकिपर अर्पणले बचाएका थिए । ६६औं मिनेटमा भने मेसोउकेले गोल गरे ।

खेलको म्यान अफ दी म्याच काठमाडौं रेजर्सका सन्जोग राई चुनिए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेअर अफ दी म्याच काठमाडौं रेजर्सका विश्वास श्रेष्ठ बने उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको एनएसएलमा सात फ्रेन्चाइज टिमले सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगलाई प्राविधिक सहयोग गरेको छ ।

लिगमा आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो २:३० बजे विराटनगर सिटी एफसी र धनगढी एफसी खेल्नेछन् भने साँझ ५:३० बजे हुने खेलमा पोखरा थण्डर्स र बुटबल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment