Comments Add Comment

सुदूरपश्चिमका अस्पतालमा जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर थन्किए

सामाजिक विकास मन्त्रालय भन्छ- आजबाट तालिम दिन थालेका छौं

१२ वैशाख, धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीया पुरुष गत चैत २९ गते भारतबाट घर फर्किएका थिए । भारतको तमिलनाडुमा रोजगारी गर्दै आएका उनी दोस्रो लहरको कोरोनाभाइरसको संक्रमण तीव्र बनेका कारण जोगिन घर फर्किएका थिए ।

वैशाख १ गते जिल्ला अस्पताल सिमखेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसिरहेका थिए । तर संक्रमण पुष्टि भएको साता नपुग्दै हल्काज्वरो आउने, शरीर र हातखुट्टा दुख्ने समस्या देखिएपछि उनी जिल्ला अस्पताल बझाङ भर्ना भए ।

वैशाख ६ गते अस्पताल भर्ना भएका उनलाई ‘अक्सिजन सपोर्ट’ मा राखिएको थियो । वैशाख ९ गते बिहान श्वासप्रश्वास सम्बन्धी जटिल समस्या देखिएपछि अस्पतालले उनलाई थप उपचारका लागि अन्यत्र लैजान सुझाव दियो ।

अस्पतालका अनुसार उनलाई तत्कालै भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले रेफर गरिएको थियो । तर, बझाङबाट कोहलपुर लैजाँदै गर्दा सोही दिन ती संक्रमितको मृत्यु भयो ।

जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्र सिंहले जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर भएपनि सञ्चालन नभएका कारण संक्रमितले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको बताए ।

‘यदि आईसीयू र भेन्टिलेटर सञ्चालनमा हुन्थे भने आज ती व्यक्तिले ज्यान गुमाउनुपर्ने थिएन,’ वडाध्यक्ष सिंहले भने ।

जिल्ला अस्पतालका निमित्त प्रमुख डा. मिलन खड्काले अस्पतालमा आईसीयू र भेन्टिलेटर भएपनि प्राविधिक जनशक्ति अभावका कारण सेवा सञ्चालन गर्न नसकिएको बताए ।

‘सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष हामीलाई दुईवटा आईसीयू र भेन्टिलेटर उपलब्ध गराएको थियो,’ खड्काले भने, ‘हामीले ‘सेट अप’ पनि गरिसकेका छौं । तर जनशक्ति अभावका कारण सञ्चालन गर्न सकिएको छैन । सोही कारण गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ ।’

अस्पतालले आईसीयू सेवा सञ्चालनका लागि जनशक्ति माग गर्दै दुई पटक सार्वजनिक सूचना जारी गरेपनि दरखास्त नै नपरेको जनाएको छ । जिल्ला अस्पताल सिमखेतमा ५ जना मेडिकल अफिसर कार्यरत छन् । उनीहरुलाई तालिम दिएमा मात्रै सेवा दिन सकिने विकल्प हुँदाहुँदै त्यसतर्फ सम्बद्ध पक्षले ध्यान नदिएको गुनासो छ । अस्पतालका निमित्त प्रमुख डा. खड्काले आफूहरुलाई तालिमको व्यवस्था भए सेवा सञ्चालन गर्न सकिने तर अहिलेसम्म स्वास्थ्य तालिम केन्द्र लगायतका निकायले त्यसतर्फ ध्यान नदिएको बताए ।

डडेल्धुराबाहेक अन्य पहाडी जिल्लाको अवस्था पनि उस्तै

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत वर्ष कोरोना भाइरसका गम्भीर संक्रमितको उपचारका लागि भन्दै ८ करोड खर्च गरेर २०/२० आईसीयू र भेन्टिलेटर खरिद गरेको थियो । केन्द्रले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, टीकापुर अस्पताल, जिल्ला अस्पताल बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालाई २ वटा आईसीयू र २ वटा भेन्टिलेटरका दरले वितरण गरेको थियो ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले १० वटै अस्पताललाई २/२ वटाका दरले गत वर्ष नै आईसीयू र भेन्टिलेटर वितरण गरिएको बताए । उनले सेती प्रादेशिक अस्पताललाई थप ३, महाकाली र टीकापुर अस्पताललाई १/१ भेन्टिलेटर खरिद गरेर हस्तान्तरण गरिएको जनाए ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालबाहेकका अस्पतालमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले वितरण गरेका आईसीयू र भेन्टिलेटर सेवा अझै सञ्चालनमा आएका छैनन् ।

‘सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष हामीलाई दुईवटा आईसीयू र भेन्टिलेटर उपलब्ध गराएको थियो,’ खड्काले भने, ‘हामीले ‘सेट अप’ पनि गरिसकेका छौं । तर जनशक्ति अभावका कारण सञ्चालन गर्न सकिएको छैन । सोही कारण गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ ।’

प्रदेश सरकारले गत वर्ष नै २/२ वटा आईसीयू र भेन्टिलेटर उपलब्ध गराएको जिल्ला अस्पताल डोटीले अझै सेवा सञ्चालन गर्न सकेको छैन । उपकरण जडान भएपनि तालिम प्राप्त प्राविधिक कर्मचारी अभावले ती उपकरण जडान गरेर पनि थन्क्याउनु परेको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश ठकुल्लाले जनशक्ति नभएकै कारण सेवा सञ्चालन गर्न नसकिएको बताए । प्रदेश सरकारले मेडिकल अफिसरलाई तालिम दिएको तर पर्याप्त नभएपछि सेवा सञ्चालन हुन नसकेको उनी बताउँछन् ।

टीकापुर अस्पतालको हविगत पनि उस्तै

कैलालीको पूर्वी भागमा रहेको टीकापुर अस्पतालले पनि जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ । २५ वटा आईसीयू र ८ वटा भेन्टिलेटर रहेको अस्पतालले दक्ष जनशक्ति नभएकाले उपकरण जडान गरेर पनि थन्क्याउनु परेको बताएको छ ।

अस्पतालकी सूचना अधिकारी दीपा अर्यालले आईसीयू र भेन्टिलेटर चलाउन एनएसथेसियोलोजिष्ट लगायतका प्राविधिक जनशक्ति आवश्यक पर्ने तर टीकापुरमा उपलब्ध नहुँदा समस्या भएको बताइन् ।

‘जनशक्ति पदपुर्ति गर्न हामीले २/२ पटक सूचनाजारी गर्यौ,’ उनले भनिन्, ‘तर कसैको पनि आवेदन परेन । मन्त्रालयले के कति जनशक्ति आवश्यक पर्छ भनेर माग गरेको थियो । विवरण पठाएका छौँ । पदपुर्ति भए सेवा सञ्चालन गर्न अन्य समस्या छैन ।’

जनशक्ति व्यवस्थापनमा पहल भइरहेको छ : स्वास्थ्य निर्देशक

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले थन्कीएका आईसीयू र भेन्टिलेटर सञ्चालनकालागि पहल भइरहेको बताए । प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी सम्बन्धीत अस्पतालकै भएको बताउदै डाक्टर अवस्थीले निर्देशनालयले मन्त्रालय र स्वास्थ्य सेवा विभागमा अनुरोध मात्रै गर्ने जनाए ।

‘अस्पतालले आ–आफ्नै किसिमले जनशक्ति व्यवस्थापन गर्ने हो,’ अवस्थीले भने, ‘त्यसमा हाम्रो खासै भूमिका हुदैन् तर पनि मन्त्रालय र स्वास्थ्य सेवा विभागमा हामीले अनुरोध गरिरहेका छौँ । सम्भवतः छिट्टै जनशक्ति व्यवस्थापन हुन्छ होला ।’

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै गएका बेला अस्पतालहरुमा आईसीयू र भेन्टिलेटर थन्कीएपछि जटिल बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको छ ।

जनशक्ति व्यवस्थापन गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने तयारी

कोरोना संक्रमण बढिरहेका बेला जनशक्ति अभावमा थन्कीएका आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गर्न आवश्यक तयारी थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जनशक्ति व्यवस्थापन गर्न मन्त्री परिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी दिए । मन्त्रीपरिषद्बाट प्रस्ताव स्वीकृत भए मन्त्रालयले आवश्यक प्रक्रिया थाल्ने कार्कीले बताए ।

रिक्त दरबन्दीको पदपुर्ति गर्न पनि आवश्यक प्रक्रिया सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले तत्काललाई सेवा सञ्चालनगर्न मिल्ने गरि चिकित्सक र नर्सलाई प्राविधिक तालिम दिनथालेको छ । मन्त्रालयका प्रवक्ता कार्कीले आइतबारदेखि सेती प्रादेशिक अस्पतालममा ९ वटै जिल्लाका मेडिकल अधिकृत र नर्सलाई आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गर्न तालिम दिन थालेको बताए । तालिम ३ दिन सम्मचल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment