Comments Add Comment

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे ।

प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।

विपी कोइराला, गिरिजा कोइरालासँग जोडेर अहिलेको संसद बिघटन जायज छ भनेर मुख्यमन्त्री गुरुङ पुष्टि गर्न लागेको नेपालीले बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको गण्डकी प्रदेश सरकार मतियार बनेको र यो गण्डकी प्रदेशका जनताको भावनाबिपरीत रहेको उनको भनाइ थियो ।

संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेकाले यो असंवैधानिक सरकार भएको नेपालीले दाबी गरे । सत्ता साझेदार दलले समर्थन फिर्ता लिइरहँदा पनि मुख्यमन्त्री कुर्चीमै रहनु गलत भएको उनको भनाइ थियो ।

६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको उनको आरोप थियो ।

‘सरकार अविश्वासको प्रस्ताव फेस गर्नबाट भाग्यो । सरकारलाई समातेर ल्याउन विशेष अधिवेशन बोलाउनुप¥यो,’ नेपालीले भने, ‘मुख्यमन्त्रीले धेरै लोकतन्त्रको कुरा गर्नुहुन्छ । अविश्वासको प्रस्ताव फेस गर्नुभन्दा संसद अधिवेशन नै अधिवेशन गर्नुभयो । यो अलोकतान्त्रिक हो । यसमा घोर आपत्ति छ ।’

संसदलाई छल्ने प्रवृत्ति देखेपछि अविश्वासको प्रस्ताव दर्ता गराएको नेपालीले बताए । सत्ता सहयात्रीलाई निर्मम प्रहार र अपमान गरेको उनको आरोप थियो । प्रधानमन्त्रीको असंवैधानिक कदम र संवैधानिक निकायमा भएको प्रहारप्रति मुख्यमन्त्री गुरुङले साथ दिएको उनको भनाइ थियो ।

साढे ३ वर्षमा कुनै पनि उल्लेखनीय काम यो सरकारले गर्न नसकेको नेपालीले बताए ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता हुने सुइँको पाएलगत्तै १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङ संसद अधिवेशन नै अन्त्य गरिदिएका थिए ।

३ दलले अविश्वासको प्रस्ताव पनि दर्ता गराउँदै विशेष अधिवेशन बोलाउन सोही दिन प्रदेश प्रमुख अमिक शेरचनसामु निवेदन दिएका थिए । प्रदेश प्रमुख शेरचनले विपक्षी दलको माग बमोजिम आजका लागि विशेष अधिवेशन बोलाएका थिए ।

नेपालीले अविश्वासको प्रस्तावको पक्षमा मत हाल्न जनमोर्चा लगायतका दलहरुसँग आह्वान गरे । संसदमा अविश्वासको प्रस्ताव पेश भए पनि सोमबार नै मतदान भने हुने छैन । सोमबार प्रस्तावक तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीसहित अरु दलका नेता र सांसदले संसदमा बोल्ने छन् ।

सदनमा टेबल भइसकेपछि मतदानमा जाने समय सत्ता पक्षले जतिसक्दो धेरै लम्ब्याउन चाहान्छ भने विपक्षी दल तत्कालै टुंगो लगाउन चाहान्छ । २ दिनसम्म संसदमा छलफल चल्ने र त्यसपछि मतदान हुने विपक्षीको भनाइ छ । ढिलोमा जसैगरी पनि १५ गतेसम्म मतदान हुन सांसद खड्काको भनाइ छ ।

गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङेले पनि मुख्यमन्त्री गुरुङलाई नै साथ दिने बताएका छन् ।

माओवादीका १२ सांसदमध्ये १ जना सभामुख छन् । कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् । जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत हाल्दा मुख्यमन्त्री गुरुङ सरकार गिराउन पुग्ने बहुमत ३१ जना पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment