Comments Add Comment

हलिउडमा ‘यौन दृश्य’लाई सुरक्षित बनाइरहेका महिला संयोजक

मनोरञ्जन दुनियाँमा एउटा नयाँ प्रकारको काम गर्नेहरुको खोजी यतिबेला तिव्र रुपमा बढिरहेको छ । चलचित्रमा यौन दृश्यको संयोजन गर्नका लागि ‘अन्तरंग दृश्य संयोजक’हरु हलिउड चलचित्रको सेटमा आवश्यक परेको समयमा उपस्थित भएका हुन्छन् ।

विश्व बजारमा ‘मि टू’ अभियानपछि यौन दृश्यको छायांकनको समयमा ‘अन्तरंग दृश्य संयोजक’को आवश्यकता महशुश गर्न थालिएको हो ।

एलिसिया रोडिस हलिउड चलचित्रमा यौन दृश्यको छायांकनको समयमा सक्रिय रुपमा काम गरिरहेकी हुन्छिन् । उनको ध्यान सुटिङ गरिरहेका कलाकारमाथि केन्द्रित भएको हुन्छ । एक अमेरिकी नेटवर्कको लागि टीभी सिरिजको छायांकनका क्रममा गु्रप सेक्सको दृश्य खिच्ने क्रममा एलिसिया विशेष सक्रिय देखिएकी थिइन् ।

उनले यो दृश्यमा अभिनय गरिरहेका ३० कलाकार आफ्नो सीमामा रहेर काम गरिरहेका छन् या छैनन् भनेर याद गरिरहेकी थिइन् । एलिसिया जस्तै अर्की ‘यौन दृश्य संयोजक’ हुन्, चेल्सिया पेस । छायांकनका क्रममा कलाकारलाई निर्देशन दिदै उनले एक अर्कासँग सुरक्षित रुपमा सम्पर्क राख्न भनिरहेकी थिइन् ।

केही महिना अगाडिसम्म यस्तो कामका लागि हलिउडमा अवसर नै थिएन । तर, एलिसिया र चेल्सिया जस्ता निर्देशकको माग मनोरञ्जन दुनियाँमा तिव्रताका साथ बढिरहेको छ ।

प्रशिक्षित भैसकेपछि उनीहरु चलचित्र निर्माण कम्पनीलाई मद्दत गर्न तयार हुन्छन् । उनीहरु, शारीरिक सम्पर्क, अंकमाल, चुम्बन, न्यूड र सेक्स दृश्य जस्ता संवेदनशिल भूमिकालाई सही तरिकाले छायांकन गर्ने बिषयमा सधै सजग हुन्छन् ।

यो पनि पढ्नुहोस आस्था खन्नाः जो फिल्ममा ‘यौन दृश्य निर्देशन गर्छिन्’

केही हप्ता अगाडि मात्र, अमेरिकी कलाकारहरुको शक्तिशाली संगठन ‘एसएजी आफ्टरा’ले महत्वपूर्ण निर्णय गरेको थियो । जसमा, सेक्स दृश्यको छायांकनका लागि ‘यौन दृश्य संयोजक’ अनिवार्य नियुक्त गर्नुपर्ने उल्लेख गरिएको छ । यसलाई मनोरञ्जन दुनियाँमा यौन दुव्र्यवहार रोक्नका लागि चालिएको कडा कोशिश भनिएको छ ।

एसएजी आफ्टराका अध्यक्ष अमेरिकी कलाकार ग्रेबिएले कार्टेरिस भन्छिन्–‘यो हाम्रा सदस्यहरुको सुरक्षाको चिन्तापछि चालिएको ठोस कदम हो । जब, महिला कलाकारहरुले आफ्नो समस्या हामीलाई भने, यसपछि हामीले यो कदम चालेका हौं ।’

जब, हलिउडका ६७ बर्षिय निर्माता हार्वी वाइनस्टीन केही महिना अगाडि न्यूयोर्कमा चलेको एक मद्दामा यौन दुव्र्यवहारको बिषयमा दोषी ठहर भएका थिए । उनको विरुद्धमा चलेको आरोपपछि नै विश्व बजारमा ‘मि टू’ अभियान सुरु भएको थियो ।

यसपछि नै हलिउडमा ‘यौन दृश्य संयोजक’को माग बढेको हो । हाल अमेरिका र बेलायतमा ५० भन्दा बढी ‘यौन दृश्य संयोजक’हरुले काम गरिरहेका छन् ।

‘यौन दृश्य संयोजक’ राख्ने प्रचलन नहुँदासम्म विशेषगरि, महिला कलाकारहरु निर्देशक र पुरुष कलाकारमाथि निर्भर रहन्थे । चलचित्र क्षेत्रमा पुरुषहरुको दबदबाका कारण महिला कलाकारहरुले आफ्नो मुख खोल्न सकेका थिएनन् ।

बर्नाडो बेर्तुलुकीको साथमा सन् १९७२ मा पेरिसमा एक चलचित्रको छायांकनका क्रममा कलाकार मारिया स्केनाइडरले आफू ‘लिटिल रेप’को शिकार भएको उल्लेख गरेकी थिइन् । उनका अनुसार, निर्देशकले उनलाई असुरक्षित तरिकाले यौन दृश्यमा अभिनय गर्न लगाएका थिए ।

अर्की महिला कलाकार इमिली मेयाडले एचबीओसँगको कुराकानीका क्रममा भनेकी थिइन्–‘म यस्ती एक कलाकार हुँ, जसले आफ्नो चलचित्र करिअरमा सेक्सुअल दृश्यमा काम गरेकी छु । मैले करिअरमा पहिलो पटक १६ बर्षको उमेरमा यौन दृश्यमा काम गरेकी थिएँ । कहिलेकाही यो कामबाट पछि हट्नुपर्छ भन्ने महशुश पनि मलाई भएको थियो । किनकी, मैले धेरै पटक असहज महशुश गरेकी छु ।’

यौन दृश्य संयोजकको रुपमा काम गरिरहेकी एलिसिया भन्छिन्–‘म सधै नै भन्ने गर्छु कि, स्क्रिप्टमा भएको र नभएको कुरा पहिले नै छलफल गर्न आवश्यक छ । यसले छायांकनका क्रममा सेटमा कुनै पनि प्रकारको सरप्राइजको आशंका हुँदैन । म निर्देशकको सोच र कलाकारको सीमाको बिषयमा सधै नै सजग छु ।’

लस एन्जलसका ‘यौन दृश्य सल्लाहाकार’ अमानद बेलुमेंथल कामुकता भरिएको वेव सिरिजका सल्लाहाकार हुन् । उनी भन्छन्–‘म सल्लाहाकार र कोरियोग्राफर दुबै हुँ ।’
यौन दृश्य संयोजकका लागि तालिम लिने मानिसहरुको संख्या जुन तरिकाले बढेको छ सोही अनुरुप कलाकारहरुमा जागरुकता पनि बढिरहेको छ । यसले, हलिउडमा परिवर्तनको अपेक्षा गरिएको छ ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment