Comments Add Comment

कैलालीमा ‘तपाईंको मास्क खोई ?’ अभियान

१४ वैशाख, डोटी । मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको प्ले कार्ड बोकेका ट्राफिक प्रहरी अर्को हातले मास्क लगाउन ईशारा गर्दैछन् । उनी भौतिक दूरी काम गरेर हिंड्न समेत आग्रह गर्दैछन् ।

जिल्ला ट्राफिक कार्यालय कैलालीले धनगढीमा ‘तपाईंको मास्क खोई ?’ अभियान चलाएपछि ट्राफिक प्रहरीहरु सडकमा यसरी देखिएका छन् । दोस्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालन गरेको हो ।

सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले बताए ।

उनले मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरेको बताए । बोहराले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको बताए । कोरोनाबाट बच्न मास्क, पञ्जा र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नसमेत उनले आग्रह गरे । प्रहरीले मास्क नलगाइ हिंड्नेलाई जरिवानासमेत गर्न थालेको छ ।

यस्तै कैलालीको अत्तरिया बजारमा अनावश्यक घर बाहिर ननिस्कन भन्दै प्रहरीले माइकिङ गरिरहेको छ । घर बस्न र यदि अत्यावश्यक काम परे मास्क लाएर मात्रै बाहिर निस्कन भन्दै प्रहरीले माइकिङ गरिरहेको छ ।

उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरौं, मास्कको अनिवार्य प्रयोग गरौं, भौतिक दूरी कायम गरौं, कोभिड–१९ बाट बचौं र बचाऔं ट्राफिक नियमको पालना गरौं भन्ने प्लेकार्ड सहितको सचेतनामूलक कार्यक्रम गरिएको बताए । प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोड्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment