Comments Add Comment

वन्यजन्तु तस्करीको आरोपमा कुन्जोक लामा दोषी ठहर

१४ वैशाख, काठमाडौं । वन्यजन्तु तस्करीको आरोप लागेका कुन्जोक लामा अदालतबाट दोषी ठहर भएका छन् । जिल्ला अदालत रसुवाका न्यायाधीश राजेन्द्र गौतमको इजलासले वैशाख ८ गते उनलाई कसुरदार ठहर गरेको हो ।

यद्यपि उनलाई कति सजाय हुने भन्ने निर्धारण हुन बाँकी छ । जिल्ला अदालत रसुवाका तहसिलदार रामचन्द्र मण्डलका अनुसार सजाय निर्धारण गर्न वैशाख २२ गते पेशी तोकिएको छ ।

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन) २०७४ को दफा ८ अनुसार कुनै व्यक्तिलाई अदालतले कसुरदार ठहर गरिसकेपछि मात्र सजाय निर्धारण गर्नुपर्ने व्यवस्था अनुसार कुन्जोकलाई वैशाख २२ गते सजाय निर्धारण गर्न लागिएको हो ।

२०६२ भदौ १६ गते नेपाली सेनाको टोलीले रसुवाबाट पाटेबाघ, चितुवा र ओतको छाला तथा बाघको अड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र रिसाङ लामालाई जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतले २०६६ फागुन १२ गते ७ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

त्यस्तै उनीहरुको सहयोगी बलराम श्रेष्ठलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो भने आखेटोपहार भेटिएको घरका घरधनी थोप्तेन तामाङलाई सफाइ दिएको थियो ।
पक्राउ परेकाहरुले आफूहरुले कुन्जोक लामाको निर्देशनमा काम गरेको वयान दिएका थिए । तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०७७ असार ११ गते पक्राउ गरेको थियो ।

त्यसपछि कुन्जोकविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रसुवाले २०७७ असार १४ गते जिल्ला अदालतमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचविखन गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment