Comments Add Comment

गण्डकीमा सांसदको कोरोना परीक्षण : रिपोर्ट पोजेटिभ आए पनि भोट हाल्न पाइने

कोरोना परीक्षण गर्न बुधबार दिउँसो १ बजेसम्म बैठक स्थगित

१४ वैशाख, पोखरा । सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछिमात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सोमबार सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले मंगलकार संसद बैठक अवरुद्ध गरेको थियो ।

सरकारका प्रवक्ता र मन्त्री नै सहभागी भएर कार्यसूची तयार गरिएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठकमा बस्न सांसदहरुलाई आग्रह गरेका थिए । तर, एमालेका सांसदले विरोध कायम राखेपछि २० मिनेटका लागि सभामुख अधिकारीले संसद बैठक स्थगित गरे ।

बैठक स्थगितपछि कार्य व्यवस्था परामर्श समितिमा छलफल थालेका दलहरुले कोरोना परीक्षणको रिपोर्ट आएपछि बुधबार दिउँसो १ बजे बस्ने गरी सहमति जुटाएका हुन् । ‘१ बजेभन्दा अगाडि नै कोरोना परीक्षण सकिसक्ने र बैठक बस्ने गरी स्थगित भएको छ,’ सभामुख अधिकारीले अनलाइनखबरसँग भने ।

सबै सांसदको पीसीआर परीक्षण गर्ने र पोजिटिभ आएकाले सदनमा बोल्न नपाउने सहमति दलहरुबीच भएको छ । तर नतिजा पोजेटिभ आए पनि भोटिङ गर्न पाउने निर्णय भएको उनले बताए । सांसदसँगै कर्मचारी, चालक लगायतको पनि कोरोना परीक्षण हुने छ ।

कोरोना परीक्षणको प्रवन्ध प्रदेश सभा सचिवालय र प्रदेश सरकारले मिलाउने छ । सत्तारुढ सांसदले कोरोनाको बाहनामा संसद स्थगित गरेको भन्दै नयाँ सरकारका लागि गठबन्धन गरिरहेका विपक्षी दलले आलोचना गरेका छन् ।

‘सांसदको कोरोना परीक्षणको प्रवन्ध मिलाउने कसले हो ? हामीले हो नगराएको ?’ कांग्रेस सांसद डोबाटे विकले भने, ‘आफैं सरकारमा बस्ने आफैं कोरोना नियन्त्रणप्रति उत्तरदायी नहुने अनि अविश्वासको प्रस्तावको छलफल लम्ब्याउने नाटक गर्ने ?’

सरकार ढल्ने निश्चित भएपछि सरकारले सीमित समयका लागि सरकारको आयु लब्याउने खेल खेलेको माओवादी सांसद दीपक कोइरालाको भनाइ छ । जनता समाजपादी पार्टीका सांसद हरिशरण आचार्यले सरकारले जग हँसाउने काम गरेको बताए । सरकारमा बसेर आफूले गर्नुपर्ने काम भएन भनेर संसद बैठक अवरुद्ध गर्नु लज्जास्पद भएको उनको भनाइ थियो ।

सोमबारकै बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बैठकको सुरुमै संसदको ध्यानाकर्षण गराएका थिए । मंगलबार बैठकको कार्यसूचीमा प्रवेश गर्न लागेसँगै एमालेका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले आफ्नो माग राख्ने समय दिएपछि सांसद राजीव पहारीले कोरोनाको परीक्षण बिना संसद चल्न नदिने बताए ।

सांसद पहारीले कास्कीमा निषेधाज्ञासमेत जारी भएको अवस्थामा कोरोना परीक्षण नगरी बैठक बस्नु गलत भएको बताएका थिए । धेरै सांसदले कोरोनाविरुद्धको दोस्रो खोप पनि नलगाएको, कतिपय सांसद दीर्घरोगीसमेत भएकाले पीसीआर परीक्षण गरेरमात्र बैठक राख्न एमालेका तर्फबाट पहारीले भनाइ राखेका थिए ।

सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पहलो दिन प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएदेखि छलफल चलिरहेको छ ।

सोमबार १० जना सांसदले छलफलमा भाग लिएका थिए भने बाँकीले मंगलबार छलफलमा भाग लिएर १५ गते मतदानमा जाने दलहरुको तयारी थियो ।

कांग्रेस, माओवादी र जसपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको थाहा पाउनेवित्तिकै वैशाख १ गते मध्यरातमा मुख्यमन्त्री गुरुङले विधायन अधिवेशन नै अन्त्य गराएका थिए ।

मुख्यमन्त्रीले अधिवेशन अन्त्य गरे पनि विपक्षी दलका २८ सांसदले हस्ताक्षर गरेर वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै प्रदेश प्रमुखको कार्यालयमा दलहरुले विशेष अधिवशेनको माग गर्दै निवेदन दिएका थिए ।

मुख्यमन्त्रीको सिफारिसलाई मध्यरातमै सदर गरिदिएका प्रदेश प्रमुख अमिक शेरचनले विपक्षीको मागमा पनि १५ दिनभित्र विशेष अधिवेशन बोलाउने संसदीय अभ्यासअनुसारै १३ गतेका लागि बोलाएका थिए ।

अविश्वासको प्रस्तावलाई तलमाथि हुन नदिन कांग्रेस, माओवादी र जसपाका सांसदलाई रिसोर्टमा राखिएको छ ।

मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ जना सांसद छन् । उनलाई साथ दिइरहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि स्वतन्त्र हैसियतमा बस्न थालेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसदमध्ये एक जना सभामुख भएकाले ११ जनाले मत हाल्ने छन् । जनता समाजवादीका २ र जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment