Comments Add Comment

मकवानपुरमा स्थानीय तहका आइसोलेसन सेन्टरलाई सुचारु गरिने

फाइल तस्वीर

१४ वैशाख, हेटौंडा । मकवानपुरका स्थानीय तहहरुले गत वर्षमा सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुलाई पुनः सञ्चालन गरिने भएको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मकवानपुरको बैठकले गत वर्ष पालिका तथा अस्पतालहरुले सञ्चालन गरेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकपछि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाले गत वर्ष सञ्चालन गरेका आइसोलेसनहरु पुनः सुचारु गरिने भएको छ ।

बैठकले आइसोलेसनलाई पहिलाकै हैसियतमा तयारी अवस्थामा राख्न स्थानीय तहहरुलाई आग्रह गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताए ।

त्यसैगरी विद्यालयका परीक्षालगायत भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलापमा बैठकले रोक लगाएको छ । बैठकले कोरोना जाँचलाई प्रभावकारी बनाउनका लागि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रलाई आग्रह गर्ने, पीसीआर मेसिनमार्फत गरिने जाँचलाई प्रभावकारी बनाउन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी बैठकले हेटौंडा बसपार्क र ख्वपः गल्लीमा रहेको तरकारी बजारलाई बिहान ४ बजेदेखि बिहान ८ बजेसम्म मात्र खुला गर्ने, सडक छेउछाउमा हुने व्यापारलाई बन्द गर्ने, होटल, पार्टी प्यालेस, मठ मन्दिरहरुमा हुने ब्रतबन्ध र विवाहहरुलाई रोक लगाउने निर्णय गरेको छ ।

हेटौंडा बजारमा देखिने भिड नियन्त्रणका लागि मकवानपुर उद्योग वाणिज्य संघसँगको समन्वयमा आलोपालो गरी व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्ने लगायतका निर्णयहरु बैठकले गरेको सूचना अधिकारी गड्तौलाले बताए । मकवानपुर उद्योग वाणिज्य संघले प्रशासनको निर्णय कार्यान्वयन गरिसकेको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।

जोर बिजोर प्रणाली उल्लंघन गर्ने र मास्क नलगाउनेलाई कारबाही

सोमबारबाट मकवानपुरमा लागू भएको जोर बिजोर प्रणालीको सवारी सञ्चालनको नियम उल्लंघन गर्ने १७२ वटा मोटरसाइकल र ४ वटा अटो रिक्सा कारबाही गरिएको छ  भने हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमण बढेको समयमा मास्क नलगाई हिंड्ने १४४ जनालाई प्रतिव्यक्ति १ सय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मास्क नलगाई हिंड्ने निगरानीका लागि क्याम्पडाँडा, चौकीटोल, बसपार्क र थानाभन्ज्याङमा गरी चार ठाउँमा टोली परिचालन गरिएको छ । यस्तै जोर बिजोर कार्यान्वयनका लागि पाँच ठाउँमा टोली परिचालन गरिएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

मकवानपुरमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment