Comments Add Comment

अत्यावश्यक वस्तुको मूल्य वृद्धि नगर्न महासंघको अपील

फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संकटको बेलामा खाद्यान्न लागायत अत्यावश्यक वस्तुको मौज्दात मूल्य वृद्धि जस्ता घटना रोक्न सम्बद्ध पक्षलाई अपील गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासंघले उपभोक्तालाई आवश्यकता भन्दा बढी बस्तु सञ्चिति नर्गन  र मूल्य वृद्धि रोक्न व्यपारीहरुलाई आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘संकटको बेलामा अनावश्यक बस्तु सञ्चिति र मूल्य वृद्धि नगरी आम सर्वसाधारणलाई सेवा प्रदान गर्न पनि सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गर्दछ, साथै आवश्यक सामग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेको जानकारी गराउँदै महासंघ आम उपभोक्ताहरूलाई पनि अनावश्यक सञ्चिति नगरिदिन हुन पनि अपील गर्दछ ।’

हालसम्म बजारको आपूर्ति व्यवस्थामा कुनै असर नपरेको भन्दै महासंघले सरकार, व्यापारी र उपभोक्ता एक जुट भएरै महामारीविरुद्ध उभिनुपर्ने बेला भएको पनि बताएको छ । ‘सरकार, निजी क्षेत्रसहित आम जनता सबैको अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई फैलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु हो । जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सबै प्रयासमा सदाझैं सहयोग गर्ने निजी क्षेत्रको प्रतिवद्धता छ । निषेधाज्ञाको समयमा आम जनताको दैनिक जीवनयापन सहज बनाउन, उनीहरूको दैनिक आवश्यकता पूरा गर्न, अत्यावश्यक खाद्यान्न लगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसंगै छ’, महासंघको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले उच्चतम स्वास्थ्य सतर्कता अपनाएर निषेधाज्ञाको समयमा रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन हुने सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक भएको पनि अपीलमा भनिएको छ । साथै उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासंघले सरकारसँग अनुरोध पनि गरेको छ । निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै महासंघले रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन प्रस्ताव पनि गरेको छ ।

यसैगरी लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत वर्ष घोषणा भएको राहतको निरन्तरतासँगै नयाँ लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न पनि महासंघले सरकारसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment