Comments Add Comment

निषेधाज्ञा पालना गराउन ठाउँठाउँमा चेकिङ, नागढुंगामा जाम

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं खटिएका छन् ।

निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् । तर काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा भने विहानको समयमा गाडीहरुको चाप छ । ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको छ ।

यो पनि पढ्नुहोस काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे के सजाय हुन्छ ?

ट्राफिक प्रहरी प्रवक्ता एवम् एसपी श्यामकृष्ण अधिकारीले जाम भएका कारण रातभर सडकमा बसेकाहरुलाई उपत्यका प्रवेश गर्न दिइएको बताए ।

ट्राफिक प्रहरीका अनुसार धादिङको धार्के नजिक एउटा गाडी बिग्रिएकाले सडक जाम भएको थियो । जामका कारण गाडीहरु पास हुन पाएनन् । त्यही भएर विहान आठ बजेसम्म पनि गाडीहरुलाई काठमाडौं आउन दिइएको छ । यद्यपि काठमाडौं प्रवेश गर्ने धेरैजसो मालवाहक गाडीहरु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने समाचार सार्वजनिक भएलगत्तै काठमाडौं उपत्यका छाड्ने लहर सुरु भएको थियो । यो क्रम आज बिहान सात बजेसम्म जारी रह्यो ।

विहान सात बजे पनि नयाँबसपार्कबाट गाडी छुटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘पहिले नै टिकट काटेर बसमा बसिसकेकालाई विहान सात बजेसम्म पनि जान दिइएको छ,’ ट्राफिक प्रहरीका एकजना अधिकृतले भने ।

कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

तस्वीरहरू : आर्यन धिमाल/शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment