Comments Add Comment

‘प्रकाश’ प्रदिपको करिअरको नयाँ स्टेप होः दिनेश राउत

निर्देशक दिनेश राउतले ४२ दिन लगाएर चलचित्र ‘प्रकाश’को छायांकन सकेका छन् । यो चलचित्रको टिम ४२ दिनसम्म जुम्लामा बसेर काठमाडौं आइपुगेको छ । ४२ दिनसम्म चलचित्रको छायांकन गर्दा कुनै समस्या नभएको निर्देशक राउतले अनलाइनखबरसँग भने ।

उनले भने–‘जुम्लामा हामी स्थानिय बासिन्दाकै घरमा बसेका हौं । उहाँहरुसँग अलग हुँदा सबैजना भावूक भएका थियौं । चलचित्रको छायांकनका लागि जुम्लासम्म पुग्न केही गाह्रो भएपनि काम गर्न भने कुनै समस्या भएन । स्थानीय सरकार र प्रशासनको सहयोग राम्रो पायौं ।’

चलचित्र छायांकन अगाडि आफूले सोचेको कुरा पुरा गर्न सफल भएको दिनेशले बताए । भने–‘मैले जुन सोचका साथ चलचित्रको सुरुवात गरेको थिएँ, त्यो पाएको छु । चलचित्रका कलाकार, प्राविधिकबाट पनि राम्रो सहयोग मिल्यो ।’

दिनेशले चलचित्रका मुख्य नायक प्रदिप खड्काका लागि यो चलचित्र नयाँ स्टेप हुने बताए । उनले भने–‘प्रदिपले चलचित्रका हरेक दृश्यका लागि कुनै पनि खालको संझौता गरेका छैनन् । मैले प्रदिपको बिषयमा जे सोचेको थिएँ, त्यो भन्दा अझ माथिको कलाकारको रुपमा उनलाई पाएँ ।’

यो चलचित्रका लागि प्रदिपले कपाल समेत खौरिएका छन् । दिनेशले चलचित्रमा कथाको माग अनुसार नै प्रदिपले कपाल खौरिएको पनि बताए ।

दिनेश भन्छन्–‘प्रदिपले यो चलचित्रमा काम गर्न सक्छन् या सक्दैनन् भन्ने धेरैलाई लागेको थियो । लभ स्टोरी कथामा काम गरिरहेको एक कलाकारलाई यस्तो कथा पक्कै पनि जोखिम नै हुन्छ । तर, प्रदिपले आफ्नो शत प्रतिशत दिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment