Comments Add Comment

खोप आयातमा भारतको विकल्प खोज्दै सरकार

१६ वैशाख, काठमाडौं । देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ ।

अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट अप्रिल महिनाको अन्तसम्म ल्याउने र थप ५० लाख डोज खोप खरिदका लागि सेरम इन्स्टिच्युटसँग सम्झौता गर्ने तयारीमा सरकार थियो ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार यस सम्बन्धमा दुई पक्षबीच केही चरण कुराकानीसमेत भइसकेको थियो । भारतले अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोपका लागि केही हप्ता प्रतीक्षा गर्न भनेको छ ।

यद्यपि आन्तरिक माग आफ्नो प्राथमिकता भन्दै भारतले खोप दिन ढिलाइ गरेपछि सरकारले अन्य देशबाट खोप ल्याउने प्रक्रिया अगाडि बढाएको हो ।

नेपालले हालै रसियाले उत्पादन गरेको स्पुतनिक–भी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएसँगै रसियाबाट खोप किन्ने प्रक्रिया पनि अघि बढेको छ ।

हालै अमेरिकाले आफूसँग ६ करोड एष्ट्राजिनिकाको खोप भण्डारण रहेको र खोपको आवश्यकता भएका मुलुकलाई दिने घोषणा गरेको छ । तर यसका लागि अमेरिकाले आन्तरिक तयारी पूरा गरिसकेको छैन । छिमेकी मुलुक भारतले पनि सो खोप ल्याउन पहल गरिरहेको छ ।

अमेरिकाको सो घोषणासँगै परराष्ट्र मन्त्रालयले सो खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई सामाजिक सञ्जालमा जवाफ दिँदै  अमेरिकाबाट खोप ल्याउने प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।

अमेरिकास्थित नेपाली दूतावासले यस सम्बन्धमा अमेरिकी पक्षसँग सम्पर्क भइरहेको जानकारी दिएको छ । अनलाइनखबरसँगको इमेल कुराकानीमा वासिङटन डिसीस्थित नेपाली दूतावासका द्धितीय सचिव उत्तम घिमिरेले खोप खरिदका विषयमा अहिले नै बताउन मिल्ने प्रगति नभएको जानकारी दिए । उनले भने, ‘यस सम्बन्धमा केही प्रगति हुनासाथ जानकारी गराइने छ ।’

अमेरिकाले आफूसँग भएको ६ करोड डोज खोप विभिन्न मुलुकलाई बाँड्ने घोषणा गरेपनि नेपाललाई दिने वा नदिने भन्ने सम्बन्धमा केही बताएको छैन । यस सम्बन्धमा सोधिएको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतले खोप बाँड्ने सम्बन्धमा विभिन्न विकल्पमा छलफल भइरहेको बतायो ।

नेपालले हालै रसियाले उत्पादन गरेको स्पुतनिक–भी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएसँगै रसियाबाट खोप किन्ने प्रक्रिया पनि अघि बढेको छ । रसिया धेरै पहिलादेखि नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताउँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपका लागि रसियासँग विभिन्न चरणमा संवाद भइरहेको सार्वजनिक रुपमा बताउँदै आएका छन् । यस सम्बन्धमा काठमाडौंस्थित रसियन दूतावासले भने केही पनि बताउन चाहेन । खोपकै सम्बन्धमा छलफलका लागि रसियाको एक उच्चस्तरीय टोली यतिबेला काठमाडौंमा छ । सो टोलीले वुधबार स्वास्थ्यमन्त्री त्रिपाठीसँग भेटघाट गरेको थियो ।

खोप निर्यात गर्ने अर्काे विकल्प चीन हो । चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चीनले नेपाललाई खोप बेच्न पनि तयार रहेको जानकारी गराइसकेको छ ।

मंगलबार चीनका विदेशमन्त्री वाङ यिले दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसँग गरेको कुराकानीमा चीन अनुदान र व्यापारिक दुबै हिसाबले खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिएका थिए । पहिलो चरणमा चिनिया खोप लगाएकालाई दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि चीनबाटै खोप ल्याउनुपर्ने हुन्छ ।

अहिलेसम्म भारतबाट अनुदानमा १० र नेपालले किनेको १० लाख गरी २० लाख खोप आएको छ । त्यसैगरी चीनले अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको छ र कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार खोप प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment