Comments Add Comment

किन चासो बन्यो भारतको कोरोना संक्रमण ?

१५ वैशाख, काठमाडौं । भारत अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरको सामना गरिरहेको छ ।

दोस्रो लहरबाट समस्यामा परेको भारतको तस्वीरले समग्र विश्व नै आश्चर्यमा परेको छ । यद्यपि यो महामारी भारतको मात्र नभई प्रत्यक्ष/अप्रत्यक्षरुपमा सबैको संकट हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)की प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथन भन्छिन्, ‘भाइरसले सीमा, राष्ट्रियता, उमेर, लिंग वा धर्म केही भन्दैन । अहिले भारतमा जुन अवस्था देखिएको छ, दुर्भाग्यवश त्यो अवस्था अन्य मुलुकमा पनि देखिँदै आएको छ ।’

महामारीले समग्र विश्व कसरी जोडिएको छ भन्ने कुरा देखाएको छ । यदि कुनै मुलुकमा संक्रमण निकै धेरै छ भने अन्य मुलुकमा पनि संक्रमण फैलिने जोखिम बढी हुन्छ । भ्रमणमा लगाइएको प्रतिबन्ध, उल्लेख्य परीक्षण र क्वारेन्टिनको व्यवस्थाको बाबजुद कोरोना संक्रमण नियन्त्रणमा आएको छैन ।

यदि भाइरसको संक्रमण धेरै भएको स्थानबाट आएको जो कोहीले पनि भाइरस ल्याउने सम्भावना बढी हुन्छ । हालै मात्र भारतको नयाँ दिल्लीबाट हङकङ पुगेका ५० यात्रुमा कोरोना संक्रमण देखिएको थियो ।

भारतको उच्च संक्रमणमा विश्वको चासो हुनुको अर्को कारण कोरोनाको नयाँ प्रकार (भेरियन्ट) पनि हो । भारतमा भेटिएको नयाँ भेरियन्ट बी.१.६१७ हो । प्रयोगशालामा गरिएको परीक्षणले यो भेरियन्ट केही बढी संक्रामक र प्रतिरोधी क्षमतालाई छल्दै संक्रमण गराउन सक्ने पाइएको छ ।

यद्यपि वैज्ञानिकहरुले यस विषयमा थप अध्ययन गरिरहेका छन् । केही विशेषज्ञहरुले भारतमा देखिएको नयाँ भेरियन्टलाई खोपले पनि रोक्न नसक्ने दाबी गरिरहेका छन् ।

भारतमा बढ्दो कोरोना संक्रमणले कोरोनाका नयाँ भेरियन्टहरु अझै निस्किन सक्ने जोखिम बढाएको छ । किनकी जो कोहीलाई कोरोनाको संक्रमण हुँदा भाइरसमा केही परिवर्तन हुन्छ । ठूलो संख्यामा स्वरुपमा परिवर्तन आउँदा नयाँ भेरियन्ट बन्छ ।

भेरियन्टमा कोरोनाको खोप पनि कम प्रभावकारी हुने विशेषज्ञहरुले बताउँदै आएका छन् । यद्यपि यो भाइरसको विषयमा राम्रोसँग अध्ययन गर्नु जरुरी भए पनि आतंकित हुनु भने जरुरी नरहेको उनीहरुको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन तथा भौतिक दुरी पालना गर्ने नियमका साथै खोप पनि लगाउनु महत्वपूर्ण हुने जानकारहरु बताउँछन् ।

यद्यपि भारतमा भने खोप कार्यक्रम निकै सुस्त भइरहेको छ । भारतमा अहिलेसम्म जनसंख्याको १० प्रतिशतभन्दा पनि धेरै कम मानिसले कोरोनाको खोप लगाएका छन् । कोरोना खोपको पूरा डोज लगाउनेको संख्या दुई प्रतिशतभन्दा कम छ ।

विश्वको सबैभन्दा ठूलो कोरोना खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाले कोरोना खोप उत्पादन गरिरहेको भए पनि भारतले पर्याप्त मात्रामा आफ्ना नागरिकलाई खोप लगाउन सकेको छैन । भारतमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमण बढ्नुको एउटा कारण यो पनि हो ।

गत मार्च महिनामा भारतले मुलुकमा कोरोना संक्रमण बढेको भन्दै अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप निर्यातमा रोक लगाएको थियो । जसका कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कोभ्याक्स कार्यक्रमलाई दिनुपर्ने कोरोना खोप पनि रोकियो ।

अझैसम्म पनि वाचाअनुसार सेरम इन्स्टिच्युटले कोभ्याक्स कार्यक्रमका लागि खोप पठाएको छैन । भारतले आफ्नो मुलुकमा कोरोना संक्रमणमा कमी नआउँदासम्म खोप निर्यातमा लगाइएको प्रतिबन्ध नहटाउने संकेत गरेको छ ।

अहिले विश्वका धेरै मुलुकले कोरोना महामारी नियन्त्रणको लागि संघर्ष गरिरहेका छन् । यस्तोमा भारतमा फैलिएको कोरोना संक्रमणले सबैलाई विश्वका हरेक मानिस सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुँदैनन् भन्ने तथ्यलाई पुनः सम्झाएको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment