Comments Add Comment

सक्रिय संक्रमित निरन्तर बढ्दैछन्, रौतहटमा छैन तयारी

१६ वैशाख, रौतहट । रौतहटमा सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ । बुधबार गौर अस्पतालमा २८ जनाको स्वाब परीक्षण गर्दा ५० प्रतिशत अर्थात् १४ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

रौतहटका सबै संक्रमित अहिले घरमै आइसोलेट भएर बसेका छन् । संक्रमण उच्च दरमा बढिरहँदा पनि रौतहटमा नियन्त्रणको तयारी भने शून्यप्रायः छ । पहिलो चरणको संक्रमणका बेला अग्रसरता लिएका स्थानीय तहका जनप्रतिनिधिहरुले यसपटक आफ्नो पालिकामा आइसोलेसन बनाउने विषयमा चासो दिएका छैनन् । रौतहटको राजपुर, गुजरा र वृन्दावनबाहेक १५ वटा पालिकाका १०७ जना कोरोना संक्रमित घरमै बसिरहेका छन् ।

भगवान् भरोसामा स्वास्थ्य अवस्था

स्वाब परीक्षणको लागि पीसीआर ल्याब रहेको गौर अस्पतालमा जनशक्तिको चरम अभाव छ । जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव रहेको गौर अस्पतालका डा. कृष्ण साहले बताए । ९ जना चिकित्सकको दरबन्दी रहेको गौर अस्पतालमा १ जना मात्रै चिकित्सक रहेका छन् ।

हाल संक्रमित भएकाहरु सामान्य अवस्थामा रहेकोले गौर अस्पतालमा तत्काल संकट उत्पन्न भएको छैन । तर भोलिका दिनमा संक्रमितको स्वास्थ्य अवस्था जटिल भएको खण्डमा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयन मात्रै होइन अत्यावश्यक अक्सिजन समेतको व्यवस्था छैन । अहिलेको विषम परिस्थितिमा गौर अस्पतालमा आईसीयूमा काम गर्ने जनशक्ति, माइक्रो बायलोजिस्ट र स्टाफ नर्स समेतको अभाव रहेको डा. कृष्ण साहले बताए ।

जिल्लामा अक्सिजनको कतिवटा सिलिण्डर छ भन्ने रेकर्ड समेत अस्पतालसँग छैन । ४५ वटा अक्सिजन सिलिण्डर छ भन्ने अनुमान रहेको गौर अस्पतालको पीसीआर ल्याबमा १४ जनामध्ये ५ जना कर्मचारी मात्र रहेका छन् ।

रौतहटबाट रेफर गरेर पठाउने वीरगञ्ज र काठमाडौंमा समेत बेड खाली नभएको अवस्थामा अक्सिजनसमेत नपाएर बिरामी मर्ने अवस्था रहेकोले रौतहटका संक्रमित भगवान् भरोसामा बस्नुपर्ने अवस्था देखिएको स्थानीयको भनाइ छ ।

महामारी नियन्त्रणका लागि पहल जारी छ : प्रजिअ यादव

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना महामारी नियन्त्रणका लागि स्थानीय तहका जनप्रतिनिधिले पहिलो चरणमा जस्तो चासो नदेखाएको बताए ।

‘पहिलो चरणमा जस्तो चासो यसपटक जनप्रतिनिधिले देखाएका छैनन्,’ उनले भने, स्थानीय तहहरु सकेसम्म आफैंले जिम्मेवारी बहन नगर्ने बरु अन्य निकायलाई जिम्मा लगाउने मनसायमा छन् ।’

बढ्दो संक्रमणका बेला पटक–पटक स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिहरुसँग बैठक गरेका प्रमुख जिल्ला अधिकारी यादवले कोरोना नियन्त्रणका स्थानीय पालिकाले गौर अस्पताललाई आर्थिक सहयोग गर्ने तर पहिलेको जस्तो आफैंले काम गर्न जनप्रतिनिधिहरुले अग्रसरता लिन नचाहेको बताए ।

गौर अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावका बारेमा जानकारी आएकोले आफूले प्रदेशको सामाजिक विकास मन्त्रालय तथा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको र छोटो प्रक्रियाबाट करारमा आवश्यक जनशक्ति भर्ना गर्ने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment