Comments Add Comment

४ जनामध्ये ३ जनामा कोरोना संक्रमण !

१६ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कोरोना परीक्षण गराउन आएका ४ जनामध्ये औसत ३ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ ।

अस्पतालको तथ्यांकअनुसार वैशाख १ गतेदेखि १५ गतेसम्म ३३८० जनाको नमुना परीक्षण गर्दा २५१६ जनामा संक्रमण पुष्टि भएको हो । यो भनेको संक्रमणदर ७४.४४ प्रतिशत हो । यसरी हेर्दा औसतमा कोरोना परीक्षणका लागि आएका ४ जनामध्ये करिब ३ जनामा संक्रमण देखिएको चिकित्सकहरु बताउँछन् ।

अस्पतालको तथ्यांकअनुसार सबैभन्दा उच्च कोरोना संक्रमण वैशाख १० गते देखिएको छ । उक्त दिन २६९ जनाको नमुना परीक्षण गर्दा २५० जनामा अर्थात ९२.९४ प्रतिशतमा संक्रमण पुष्टि भएको अस्पतालको रेकर्डमा उल्लेख छ ।

वैशाख ७ गते १९३ जनाको नमुना परीक्षण गर्दा १७८ जनामा अर्थात ९२.२३ प्रतिशतमा संक्रमण देखिएको छ । यो दोस्रो बढी संक्रमित देखिएको दिन हो । यस्तै वैशाख ५ गते १९० जनाको नमुना परीक्षण गर्दा १०६ जनामा अर्थात ९२.५९ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा कम संक्रमितको संख्या वैशाख ४ गते देखिएको छ । यो दिन १९० जनाको नमुना परीक्षण गर्दा १०६ जनामा अर्थात ५५.७९ प्रतिशतमा संक्रमण देखिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । वैशाख १ गतेयता कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

संक्रमितको तथ्यांक उच्च किन ?

अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. राजन पाण्डे अस्पतालमा उपचार गराउन आउने अधिकांशमा कोरोना संक्रमण पुष्टि हुने गरेको बताउँछन् ।

स्वास्थ्यमा समस्या देखिएपछि फिभर क्लिनिकमा आउने अधिकांशको पीसीआर परीक्षण गरिएका कारण पनि संक्रमण दर उच्च देखिनुको मुख्य कारण रहेको उनको भनाइ छ ।

अधिकांश निमोनिया भएका र फिभर क्लिनिकमा जाँच गराउने व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको डा. पाण्डे बताउँछन् । ‘अस्पतालको यो रेकर्डको विश्लेषण गर्ने हो भने समुदाय स्तरमा १० गुणा बढी संक्रमित हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘पहुँच भएका र स्वास्थ्यमा जटिल देखिएका व्यक्तिहरु मात्रै अस्पतालसम्म आइपुगेका छन् । संक्रमण पुष्टि भएकाहरुको क्लोज कन्ट्याक्टमा रहेकाहरुको परीक्षण गर्ने हो भने यो संख्या उच्च हुन सक्छ ।’

सरकारले पछिल्लो समय संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण नगरेका कारण समुदायमा संक्रमितको संख्या उच्च रहेको उनको आशंका छ । ‘कोरोना परीक्षणमा सबैको पहुँच नहुन पनि हुन सक्छ । सरकारीमा एक हजार रुपैयाँ र निजीमा दुई हजार रुपैयाँ परीक्षण शुल्क तोकिएको छ,’ डा. पाण्डेले अगाडि भने, ‘सबैले शुल्क तिरेर परीक्षण गर्न नसक्ने भएका कारण पनि समुदायमा संक्रमितको संख्या अत्याधिक हुन सक्छ ।’

कन्ट्याक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षणलाई तीव्र पारेर संक्रमितको ‘चेन ब्रेक’ नगर्ने हो भने थप भयावह अवस्था आउन सक्ने उनको चेतावनी छ । कोरोना परीक्षणमा सबैको पहुँच बनाउनका लागि सरकारले पीसीआर परीक्षण निःशुल्क बनाउनुपर्ने उनको सुझाव छ ।

सरकारी तथा निजी प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरी परीक्षणलाई व्यापक पार्न सके संक्रमणको चेनलाई ब्रेक गराउन सकिने उनले बताए ।

२४४ उपचाररत, ७ जनाको मृत्यु

भेरी अस्पतालमा बिहीबारसम्म २४४ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ११५ महिला र १२९ पुरुष छन् ।

अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माका अनुसार मोडेरेट अवस्थाका संक्रमित १५६ जना छन् भने भेन्टिलेटरमा ७, सीपीएपीमा ४ जना छन् । शर्माका अनुसार भेरी अस्पतालमा बिहीबार मात्रै ७ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment