Comments Add Comment

मोरङ सीमा नाका : वारी डिलमा प्रहरीको पहरा, पारीबाट चोर दाउ !

दशगजामा खटिएका प्रहरी भन्छन् : आँखा झिमिक्क पार्दा अर्को बाटो भाग्छन्

१७ वैशाख, विराटनगर । वारी पारी सडक छन् । बिचमा खोल्सो । वारीको सडकमा हातमा लौरो बोकेर बर्दीधारी उभिएका छन् । पारीपट्टी र खोल्सोमा झोला बोकेर बस्नेहरुको संख्या बाक्लो छ । वारी प्रहरीको आँखा छल्दै भिडबाट बेला बेला दौडेर आउँछन् र बाटो लाग्छन् । यो दृश्य विराटनगरको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट पश्चिमतर्फको दरैया बस्तीको हो ।

दशगजामा सुरक्षामा लागि बसेका प्रहरीको आखा छल्न सक्नेहरु दौडेर नेपाल आउँछन् । नसक्नेहरु साझ परेपछि छिर्छन् । रोजगारी गुमाएर फर्कनेहरुलाई प्रहरीले रानी नाकामा स्वास्थ्य जाँचका लागि पठाउँछ ।

दैनिक उपभोग्य वस्तु खरिद गर्न पुगेकाहरु भने नेपाल प्रवेका लागि दशगजामा बसेर चोर दाउ हेरेर बस्‍ने गरेका छन् । ‘ घरमा कराही बसाएर तेल लिन जोगवनी पुग्ने परम्परा छ,’सुरक्षा खटिएका एक कनिष्ट प्रहरि अधिकृत भन्छन्,‘ जति रोकेपनि आँखा छल्दै नेपाल छिर्छन् ।’

महामारीका बेला पनि भारत पुग्ने र आउने गृहिणी महिलाको सङ्ख्या बढी छ । यसका साथै लागूऔषध प्रयोगकर्ताहरु पनि छन् । लुकेर जानेलाई नाकामा रोक्न प्रहरीलाई हम्मे-हम्मे पर्छ । ‘ बाटो रुघेर बस्छौं, बाटो छेक्दा गाली गर्छन्,’ नाकामा खटिएका सशस्त्र प्रहरीका एक जवान भन्छन्,‘ एका तर्फबाट आउनेलाई रोक्न खोज्दा दौडेर अर्को तर्फबाट छिर्छन् ।’

भारतमा कोरोना महामारी नियन्त्रण बाहिर छ । सीमा नाका बन्द गरेको सरकारले सीमा क्षेत्रमा करिब एक सय मिटरको अन्तरमा प्रहरी परिचालन गरिएको छ । खुला सीमा भएका कारण प्रहरीलाई आउजाउ गर्नेलाई रोक्न गाह्रो  परिरहेको छ ।

‘चोर बाटो हुँदै आउने मात्र होइन किनमेलका लागि जानेलाई रोक्न पनि गाह्रो पर्छ, घरी यता घरी उता लखेट्नुपर्छ,’ दशगजामा भेटिएका नेपाल प्रहरीका कनिष्ट अधिकृतले भने,‘ सकेसम्म रोक्ने कोशिस गर्छौ, खुला सीमा भएकाले आउजाउ शून्य गर्न सकिएको छैन ।’

यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का  भने नाकामा प्रहरी परीचालन गरेर आवागमन रोकिएको बताउँछन् । तर किनमेलका लागि पुग्ने सबैलाई रोक्न कठिन भएको उनको भनाई छ । भारतीय पक्षले सहयोग नगरेको बताउँदै उनले दशगजामा कडाइ गरिएको बताए ।

नाकामा हेल्थ डेस्क
भारतबाट नेपाल प्रवेशको वैधानिक बाटो रानी नाका हो । रानीमा विराटनगर महानगरपालिकाले हेल्थ डेस्क पनि राखेको छ । चोर बाटोमा कडाइ गर्नुअघि नाकाबाट दैनिक २०-२५ जना नेपाल प्रवेश गर्दथे । तर पछिल्लो केही दिनयता दैनिक एकसय बढी रानी नाका हुँदै नेपाल प्रवेश गर्ने गरेको हेल्थ डेस्कमा खटिएका डाक्टर कमलकिशोर यादवले बताए । नाकाबाट आएका शंकास्पदको एन्टीजेन परीक्षण गर्ने उनले बताए । एन्टीजेन परीक्षण गर्दा १७ जनामा पोजेटिभ देखिएको उनले बताए ।

लकडाउन पहिलो विकल्प
विराटनगरमा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा छ । दैनिक एक सय बढी सङ्क्रमित भेटिएको विराटनगरमा खुला सीमाबाट प्रहरीको आँखा छल्दै भित्रिनेहरुले जोखिम बढाएका छन् । बजारमा हुने चहलपहलका कारण कोरोना महामारी तीव्रगतिमा फैलिरहेको चिकित्सक संघ कोशीका अध्यक्ष डाक्टर फरवार्ड सिलवाल बताउँछन् ।

कोरोना महामारीको चेन ब्रेक गर्न लकडाउन गर्नुपर्ने उनको सुझाव छ । ‘संक्रमणको चेन ब्रेक गर्ने पहिलो विकल्प लकडाउन हो,’ उनी भन्छन्,‘ लकडाउन गर्न जति ढिलो हुन्छ उति बढी कोरोना संक्रमण फैलिन्छ ।’ बजारमा सतर्कता नअपनाइएका कारण कोरोना संक्रमण दर बढिरहेको उनको तर्क छ ।

लकडाउन भए भारत जाने र आउनको संख्या घट्ने दशगजामा खटिएका प्रहरी बताउँछन् । ‘लकडाउन हुँदा दशगजामा यस्तो चहलपहल थिएन, अहिले रोक्नै गाह्रो छ,’ दशगजामा खटिएका प्रहरी भन्छन्,‘लकडाउन भए भारत जान खोज्ने बजारका मान्छे घरमै रोकिन्थे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment