Comments Add Comment

यो वर्ष आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान सरकारले गरेको छ । शुक्रबार आव २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले यस्तो अनुमान गरेको हो । चालु आवको बजेटले आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहने अनुमान गरेको थियो । तर, कोरोना महामारीको बढ्दो संक्रमणका बीच वृद्धिदर केही खुम्चन जाने अनुमान सरकारले गरेको हो । सरकारको संशोधित अनुमान विकास साझेदार संस्थाहरु विश्व बैंक तथा एसियाली विकास बैंकले गरेको अनुमान भन्दा भने बढी हो ।

निषेधाज्ञाले अर्थतन्त्र प्रभावित हुन्छ

विभागका अनुसार अहिले विश्वमा देखिएको कोभिड १९ को महामारीको असर न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभाव अर्थतन्त्रमा प्रत्यक्ष देखिने छ । तर, यसको असर कति गहिरो रहने छ भन्ने अनुमान भने अहिले गर्न नसकिएको विभागले जनाएको छ ।

विभागका अनुसार आगामी दुई सातापछि चालु आर्थिक वर्षको अन्तिमसम्म भने कोभिड १९ को नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलाप सामान्य किसिमले संचालन हुने विश्वास गरिएको छ । यो दुई साता भने सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । यसबीचमा आवास तथा भोजन सेवाको क्षेत्रमा भने प्रभाव कायमै रहने छ । विभागले चैत मसान्तसम्मको तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको हो ।

यस्तो रहने छ आर्थिक वृद्धिदर

  • आव २०७२/७२ : ०.० प्रतिशत
  • आव २०७३/७४ : ८.६ प्रतिशत
  • आव २०७४/७५ : ७.७ प्रतिशत
  • आव २०७५/७६ : ६.४ प्रतिशत
  • आव २०७६/७७ : –२.१ प्रतिशत
  • आव २०७७/७८ : ४.०१ प्रतिशत (संशोधित अनुमान)

विभागका अनुसार चालु आवमा प्राथमिक क्षेत्रको वृद्धिदर २.७५ प्रतिशत मात्र रहने छ । यस क्षेत्रमा कृषि, वन, मत्स्य, खानी तथा उत्खननजस्ता क्षेत्र पर्छन् । द्धितीय क्षेत्रको वृद्धिदर भने ४.९३ प्रतिशतको रहने छ । द्धितीय क्षेत्रमा उद्योग, विद्यूत, ग्याँस, पानी, आपूर्ति, निर्माणजस्ता क्षेत्र पर्छन् ।

मेलम्ची खानेपानी आयोजनाको प्रभाव यो क्षेत्रमा सकारात्मक परेको छ । यो आयोजना अब निर्माणको अन्तिम चरणमा रहेको छ । सेवा क्षेत्रमा भने वृद्धिदर ४.४३ प्रतिशतको हुने छ । यस क्षेत्रमा खुद्रा व्यापार, आवा तथा भोजन, यातायात, संचार, भण्डारण, वित्तीय मध्यस्थता, पेशागत तथा प्रशासनीक, व्यवसायिक सेवा, सार्वजनिक प्रशासन, रक्षा, स्वास्थ्य लगायत क्षेत्र पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment