१७ वैशाख, काठमाडौं । ३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नुपर्यो। एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार त्यस क्रममा हेलिकोप्टर उपयुक्त ठाउँमा अवतरण हुन सकेन र दुर्घटनामा पर्यो । दुर्घटना भयानक थिएन, केवल फोर्स ल्याण्डिङ थियो । सोही कारण हेलिकोप्टर उडाइरहेका पाइलट सुरक्षित बाहिर निस्किए । उनले यसबारे काठमाडौंमा खबर गरे र दोस्रो हेलिकोप्टर पठाएर उनको उद्धार गरियो । हेलिकोप्टरमा उनी एक्लै थिए ।
सोहीकारण यो दुर्घटनामा मानवीय क्षति भएको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले राखेको तथ्यांक अनुसार यो दिन भएको दुर्घटनामा मानवीय क्षति शून्य र एक जनाको उद्धार भएको देखिएको छ । कार्कीका अनुसार यो हेलिकोप्टर दुर्घटनापछि हराएको होइन । दुर्घटनामा परिसकेपछि यसलाई मर्मत गरी पुनः उडाउन सकिन्छ की भनेर अध्ययन पनि भएको थियो । त्यो सम्भव नभएपछि कम्पनीले बिमा दाबी गर्यो । कम्पनीले बिमा बापतको रकम पाएपछि हेलिकोप्टरलाई बिमा कम्पनीले जिम्मा लियो । निकाल्न सकिने उपकरणहरू निकालियो र बाहिर ल्याइयो । हिमालबाट उठाएर ल्याउन नसक्ने वस्तुहरु त्यही छाडियो ।
सोही हेलिकोप्टरको भग्नावशेष नै नेपाली सेनाले फेला पारेको हो । नेपाली सोका अनुसार धौलागिरिमा दुई मानव अवशेष समेत भेटिएको छ । ती अवशेषको कुनै सम्बन्ध हेलिकोप्टरसँग भने छैन । सेनाका अनुसार मानव अवशेष भेटिएको स्थानबाट १२ सय मिटरको फरकमा हेलिकोप्टरको अवशेष भेटिएको हो । ती शवहरु आरोहणका दौरान दुर्घटनामा परेका आरोहीको हुन सक्ने कार्कीले बताए । सेनाले समेत मृतकको पहिचान नभएको जनाएको छ ।
मकालुमा ११ यात्रु बोकेको हेलिकोप्टर १९ वर्षदेखि बेपत्ता
हिमालमा दुर्घटनामा पर्ने हेलिकोप्टर भेटाउन उत्तिकै चुनौति हुने गर्छ । आजभन्दा १९ वर्ष अगाडी मकालु आधार शिविरबाट लुक्लाका लागि उडेको तत्कालीन एसियन एयरलाइन्सको एमआई १७ हेलिकोप्टर ११ जना यात्रुसहित अहिलेसम्म पनि बेपत्ता छ । यो हेलिकोप्टरमा ४ जना चालक दलका सदस्य र ७ जना यात्रु चढेका थिए । यो दुर्घटना ३१ मे २००२ मा भएको हो । निकै खोजी गरेपनि यो हेलिकोप्टर अहिलेसम्म बेपत्ता नै छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4