Comments Add Comment

निषेधाज्ञामा पनि कालीमाटी बजारमा तरकारीको बिक्री बढ्यो

फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । सामान्य अवस्थामा भन्दा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारीको बिक्री बढेको पाइएको छ । निषेधाज्ञाको दोस्रो दिनसम्म आइपुग्दा सामान्य अवस्थामा भन्दा तरकारीको आयात र बिक्री झण्डै डेढदेखि दुई सय टनसम्मले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सामान्य दिनहरुमा दैनिक साढे सात सय टनसम्म तरकारी बजारमा भित्रिने गरेकामा अहिले नौ सय टन तरकारीको आपूर्ति र बिक्री भइरहेको बजार बिकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘यस पटक बजारमा निषेधाज्ञाको असर देखिएको छैन, तरकारीको आयात र बिक्री राम्रो छ । सामान्य अवस्थामा भन्दा पनि धेरै मात्रामा दैनिक तरकारीको आयात र बिक्री भइरहेको छ,’ सूचना श्रेष्ठले भने ।

निषेधाज्ञ सुरु हुने अघिल्लो दिन बुधबारदेखि शुक्रबारसम्म बजारमा दैनिक ९ सय टन तरकारी भित्रिएको उनले बताए । ‘आज मात्रै पनि दिउँसो तीन बजेसम्म पाँच सय टन तरकारी भित्रिसकेको छ । साँझसम्म बढेर नौ सय टन नै पुग्न सक्छ,’ श्रेष्ठले भने ।

निषेधाज्ञा सुरु भएपछि नियमित रुपमा समितिले बजार अनुगमन गरेको र हालसम्म तरकारी तथा फलफूल बिक्री नभएको वा मूल्य बढेको विवरण जानकारीमा नरहेको पनि समितिले जनाएको छ । रातिको एक बजेदेखि बिहान १० बजेसम्म धेरै समय बजार खुल्दा बिक्रीमा सहजता भएको पनि समितिको दाबी छ ।

फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाले पनि शुक्रबार साँझसम्म बजारमा कुनै समस्या नरहेको बताएको छ । तरकारी खरिद बिक्रीका लागि लामो समय छुट्ट्याएका कारण यसपटक कारोबारमा सहजता आएको संस्थाका अध्यक्ष गिता आचार्यले बताए । ‘मानिसको भिडभाड अलि धेरै भएकाले असुरक्षा बढेको होकी भन्ने भएको छ तर बजारको खरिद बिक्रीमा समस्या छैन,’ अध्यक्ष आचार्यले भने ।

परिचय पत्र नबनाएका तथा जानकारी मुलक ब्यानरसमेत टाँस नगरी हिंडेका केही ढुवानीका गाडिलाई प्रशासनले अवरोध गरेपनि अहिले त्यो समस्या हल भएको आचार्यको दाबी थियो । बजारका आलु प्याज व्यावसायी ददीराम उप्रेती निषेधाज्ञामा पनि बजार सहज ढंगले चलेको बताउँछन् । ‘बजारमा तरकारीको आपूर्तिमा कुनै समस्या अहिलेसम्म देखिएको छैन् । वितरण पनि राम्रै छ । सुरक्षाको उपायलाई अझ कडाइका साथ लागू गर्नु पर्छ,’ उप्रेतीले भने ।

व्यवसायी भरत खतिवडाले पनि निषेधाज्ञाले बजारमा अवरोध नभएको बताउँछन् । किसानबाट तरकारी नियमित मात्रामा उठेको र बजारमा खपत पनि भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment