+
+
Shares

संसद अधिवेशन छिटो बोलाउन विपक्षी दलहरुको माग

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ वैशाख १७ गते २१:१८

१७ वैशाख, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेट अधिवेशन छिटो बोलाउन माग गरेका छन् ।

प्रमुख विपक्षी नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रि–बजेट छलफल गर्नुपर्ने भन्दै बजेट अधिवेशन बोलाउन माग गरेका हुन ।

‘अधिवेशन बोलाउन ढिलो भइसक्यो, तुरुन्तै बोलाउनुपर्छ । नत्र त प्रि–बजेट छलफलका लागि समय नै हुँदैन’ नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारीले भने ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ संसद अधिवेशन समयमा बोलाउन सिफारिस गर्ने, बजेटमाथि छलफल गर्न पर्याप्त समय उपलब्ध गराउने जस्ता अभ्यास सरकारबाट हुन्छ भन्नेमा विश्वास गर्न नसकिने बताउँछन् ।

बरु कोरोना महामारीको असहज अवस्थाको नाममा संकटकाल लगाएर सरकार अध्यादेशबाट बजेट ल्याउने प्रयासमा हुनसक्ने उनको आशंका छ ।

जसपाका सांसद उमाशंकर अरगरिया पनि सदन बोलाउन ढिलाइ गर्न नहुने बताउँछन् । ‘अधिवेशन सुरु गर्ने विषयमा हामीसंग कसैले छलफल गरेको त छैन । तर, बोलाउने बेला भइसक्यो’ उनले भने ।

समयमा अधिवेशन बोलाउँदा सदनमा पूर्व बजेट छलफल प्रभावकारी हुने उनको भनाइ छ । गत वर्ष पूर्व–बजेट छलफलका लागि समय कम भएको भनिएको स्मरण गर्दै उनले यसवर्ष गत वर्षको जस्तो नहोस् भन्नेमा सबै सचेत हुनुपर्ने बताए ।

२०७६ सालमा संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । गतवर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण बैशाख २६ गते पु¥याइएको थियो । यसबर्ष बजेट अधिवेशन कहिले सुरु हुन्छ अझै टुङ्गो छैन् ।

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘बजेट अधिवेशन वैशाख २५ गतेदेखि ३० गतेभित्र सुरु हुन्छ ।’

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने हुन्छ । त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १४२ मा बजेट प्रस्तुत हुनु भन्दा १५ दिन अगावै प्रिबजेट छलफल समाप्त भइसक्नुपर्ने व्यवस्था छ ।

यी संवैधानिक र कानुनी प्रावधानहरु नछल्ने गरी यसवर्षको बजेट अधिवेशन सुरु हुने एमाले प्रमुख सचेतक भट्टराईले बताए । ‘संवैधानिक र कानुनी कुरा मिच्न मिलेन । कोरोना महामारी पनि फैलिँदो छ । अधिवेशन चलाउँदा यी दुबैलाइ ख्याल गरिन्छ’ प्रमुख सचेतक भट्टराईले भने ।

तर, बजेट अधिवेशन सुरु हुने मिति र त्यस सम्बन्धी तयारीका सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटा बेखबर रहेको उनको सचिवालयले बताएको छ ।

‘अधिवेशन सुरु गर्दा र अन्त्य गर्दा सभामुखसंग परामर्श नगर्ने नयाँ थिति, नयाँ चलन प्रधानमन्त्रीले बसाउनुभएको छ’ सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपाने भन्छन्, ‘बजेट अधिवेशन सुरु गर्ने सम्बन्धमा पनि सभामुखसंग कुनै परामर्श गर्नुभएको छैन ।’

सचिवालयको तयारी

कोरोना महामारीलाई ख्याल गरेरै बजेट अधिवेशनको आन्तरिक तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रम र अर्थमन्त्रीले पेश गर्ने बजेट वक्तव्यका लागि दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ ।

दुई सदनको संयुक्त बैठक बस्दा प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी कूल सदस्य संख्या ३३४ हुन्छ । यो संख्यालाई ध्यानमा राखेर संसद सचिवालयले बालकोनीमा पनि सांसदहरुलाई नै राख्ने व्यवस्था मिलाउने भएको छ ।

नीति तथा कार्यक्रम र बजेट सुन्न संवैधानिक निकाय र कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु संसदमा जाने परम्परा छ । तर, यो अभ्यास गत वर्षबाट तोडिएको छ । कोरोनाका कारण स्थान अभाव भएको भनेर गतवर्ष सांसदहरु मात्रै राखेर सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । बजेट प्रस्तुत हुँदा पनि सदनमा सांसदहरु मात्रै थिए ।

कोरोना महामारीलाई ख्याल गरेर यसवर्ष पनि गत वर्ष जस्तै सांसदहरु मात्रै सदनमा उपस्थित हुने गरी व्यवस्था मिलाइने सचिवालयका अधिकारीहरु बताउँछन् ।

यद्यपी संवैधानिक निकाय र कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरुलाई नीति तथा कार्यक्रम र बजेट सुन्न बोलाउने नि नबोलाउने भन्ने औपचारिक निर्णय भने अधिवेशन आह्वान भइसकेपछि हुनेछ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?