Comments Add Comment

निषेधाज्ञा पालना गराउन बढाइयो चेकिङ

१९ वैशाख, काठमाडौं । निषेधाज्ञा पालना गराउन भन्दै प्रहरीले काठमाडौंमा चेकिङ जारी राखेको छ ।

निषेधाज्ञाको अवधिमा पनि सवारी साधनहरु धेरै गुडेको पाइएकाले थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीले बताएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले कडाइ गरिएको बताए । ‘विभिन्न जिल्लामा र काठमाडौं उपत्यकाको हकमा मुख्य चोक तथा भित्री गल्लीहरुमा बेलाबेलामा चेकिङ गरिरहेका छौं,’ उनले भने ।

अहिले प्रहरीले पत्रकार, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुको हकमा कडाइ गरेको छ । ‘अहिले थप कडाइ भनेको पत्रकारको हकमा र सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको हकमा हो,’ प्रवक्ता कुँवरले भने ।

काठमाडौं उपत्यकामा खटिएका पत्रकारहरुलाई सूचना विभागको परिचयपत्र अनुसार र उपत्यका बाहिरका जिल्लामा सम्बन्धित सञ्चार संस्थाको परिचयपत्रको आधारमा छुट दिइएको छ ।

निषेधाज्ञाको पालना नगर्ने पैदलयात्रीलाई रोकेर सम्झाइबुझाइ गर्ने, सवारी पासविना चलाइएका सवारी साधन नियन्त्रणमा लिने र जरिवाना लिने तीन प्रकारका कारवाही गर्दै आएको कुँवरको भनाइ छ । दिनभरिको कारबाहीको विवरण प्रहरीले साँझपख सार्वजनिक गर्दै आएको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment