Comments Add Comment

गुल्मीमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारी साधन नियन्त्रणमा 

१९ वैशाख, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार निषेधाज्ञाको पहिलो दिन सडकमा निकालिएका ३५ वटा मोटरसाइकल र चार वटा जीपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञामा तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचकका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई चिदिचौरमा राखिएको छ ।

निषेधाज्ञा उल्लंघन गरी सवारी साधन चलाएकाले आवश्यक प्रक्रिया पुर्‍याएर छाडिने आचार्यले बताए ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि गुल्मीमा गएरातिदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यस अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक अन्य सम्पूर्ण सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।

निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोकोहीलाई प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment