Comments Add Comment

सुदूरपश्चिममा कोरोना जाँच गराउनै मुश्किल

१९ वैशाख, काठमाडौं । रुघाखोकी, हल्का ज्वरो, टाउको र शरीर दुख्ने जस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय पुरुष चार दिनदेखि परीक्षणका लागि धनगढी धाइरहेका छन् । कोरोना परीक्षणका लागि वैशाख १६ गते थ्रोट स्वाबको नमूना दिन सेती प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा जान सुझायो ।

तर १६ गते उपमहानगरपालिका कार्यालयको मूल गेट बाहिर स्थापना गरिएको स्वाब संकलन केन्द्रमा पुग्दा संकलनको काम बन्द भइसकेको थियो । त्यहाँ उपस्थित कर्मचारीले उनलाई भोलिपल्ट बिहान १० बजे नमुना संकलनका लागि आउन भने ।

१७ गते बिहान १० बजेतिर स्वाब संकलन केन्द्रमा पुगेका उनलाई निर्धारित कोटाभन्दा धेरै जनाको नाम टिपोट भइसकेकाले त्यो दिन पनि गर्न नसकिने भन्दै कर्मचारीले फर्काइदिए ।

भोलिपल्ट शनिबार भएका कारण उनी आइतबार बिहान १० बजेतिर मात्र स्वाब संकलन केन्द्रमा पुगेका थिए । तर उनी त्यहाँ पुग्दासम्म १९० जनाले नाम टिपाइसकेका कारण आइतबार पनि पुनः भोलि आउनु भन्दै फर्काइएको छ ।

‘शारीरिक रुपमा म आफूलाई निकै कमजोर महसुस गर्र्दैछु । कोरोना संक्रमण भइसकेको जस्तो लागेको छ, तर परीक्षणका लागि तीन दिनदेखि यहाँ धाइरहेको छु,’ उनले भने ‘भिडभाडका कारण अहिलेसम्म नाम टिपाउन पाएको छैन । सेती अस्पतालले उपमहानगरपालिकामा पठाउँछ । उपमहानगरले भोलि आउनु भन्दै फर्काइदिन्छ । अझै कति दिन कुर्नुपर्ने हो खोई ?’

वैशाख १० गते छोराछोरीसहित कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरको पुुनर्वास नगरपालिकाका ६० वर्षीय पुरुष छोरासहित धनगढी धाउन थालेको पनि तीन दिन बित्यो । लक्षणसहितको संक्रमण भएका उनी पुनः परीक्षणका लागि नमुना संकलन गराउन घरी सेती प्रादेशिक अस्पताल त घरी धनगढी उपमहानगरपालिका कार्यालयको मूलगेट बाहिर स्थापना गरिएको नमुना संकलन केन्द्र पुग्छन् । ‘शुक्रबार छोरो एक्लै आएको थियो, तर यहाँ भिडभाड धेरै भएका कारण नमुना नदिएरै घर फर्कियो,’ उनले भने, ‘बिहानै सेती अस्पतालमा पुग्यौं त्यहाँबाट उपमहानगरपालिका पठाएको छ । यहाँ हिजो अस्तिकै जस्तो भिडभाड छ । आज पनि नमुना संकलन हुनेमा शंका लागेको छ ।’

अन्य स्थानीय तहमा नमुना संकलनको व्यवस्था नहुँदा समस्या

धनगढी उपमहानगरपालिकाले अहिले दैनिक १५० देखि ३०० जना नमुना संकलनका लागि पुगिरहेको जनाएको छ । आफ्नो नगर क्षेत्रका मात्र नभएर कैलालीको गोदावरी, गौरीगंगा नगरपालिका, कञ्चनपुरको पुनर्वास, बेलौरी नगरपालिकाबाट समेत परीक्षणका लागि मानिसहरु यहाँ आउन थालेपछि स्वाब संकलन केन्द्रमा ठूलो भिड लाग्न थालेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय बताउँछन् ।

‘कोरोनाले भयावह अवस्था सिर्जना भएपछि सर्वसाधारण त्रसित बनेका छन् । शंकास्पद लक्षण लिएर परीक्षण गर्न आउनेहरुको घुइँचो नै लाग्ने गरेको छ,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘हामीसँग सीमित जनशक्ति र स्रोत साधन भएका कारण नभ्याउने अवस्था छ । अन्य पालिकाले आ–आफ्नै ठाउँमा स्वाब संकलनको व्यवस्था मिलाएमा सहज हुने थियो ।’

स्वास्थ्य कार्यालय कैलालीले समेत नमुना संकलन गरेमा उपमहानगरपालिकालाई परिरहेको लोड कम हुन सक्ने उनले बताए । तर चर्को गर्मीमा पीपीई लगाएरै भएपनि कर्मचारीहरुले दिउँसो २ बजेसम्म पनि नमुना संकलन गरिरहेकाले त्यतिकै कसैलाई पनि नफर्काएको उनी बताउँछन् ।

सेती अस्पतालमा दैनिक सय जनाको मात्र नमुना संकलन

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि दैनिक एक सय जनाको नमुना मात्र संकलन गर्ने गरिएको पाइएको छ । अस्पतालले इमर्जेन्सी वार्ड र अन्य वार्डमा उपचारका लागि आउने ५० जना र अन्य ५० जना समेत गरेर दैनिक एक सय जनाको नमुना संकलन गर्ने गरेको जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जनशक्ति अभाव र स्थानीय तहहरुले स्वाब संकलन गरेर पठाउने व्यवस्था गरिएकाले कम नमुना संकलन गरिँदै आएको बताए ।

पुनर्वासका मेयर भन्छन्– किट अभावका कारण समस्या भयो

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले किट अभावका कारण पालिकाभित्र परीक्षणका लागि सबै शंकास्पद बिरामीको नमुना संकलन गर्न नसकिएको दाबी गरे । उनले आफ्ना नगरबासीको कोरोना परीक्षणका लागि नमुना संकलन गर्न संघीय सरकारले पठाएका किट सकिएको र एन्टिजेन किटको पनि अभाव हुँदा समस्या भएको सुनाए ।

‘एन्टिजेन विधिबाट भारतबाट फर्किएका र शंकास्पद व्यक्तिहरुको नगरपालिकामै कोरोना परीक्षण गरिरहेका थियौं,’ मेयर थापाले भने, ‘अहिले त्यो किटको समेत अभाव भएका कारण कतिपय मानिस धनगढी गइरहेका छन् । पीसीआर परीक्षणका लागि नमुना संकलन गर्न आवश्यक पर्ने किट हामीसँग छैन ।’ उनले नगरपालिकाले ती किट सोझै खरिद गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारको मुख ताक्नुको विकल्प नै नभएको दाबी गरे ।

जनशक्ति अभावले महाकाली अस्पतालमा दैनिक ९६ नमुना मात्र परीक्षण

कञ्चनपुरको महाकाली अस्पतालमा पनि दैनिक डेढ सयदेखि दुई सय नमुना संकलन हुँदै आएको भएपनि ९६ जनाको मात्र परीक्षण भइरहेको छ । अस्पतालमा स्थापना गरिएको पीसीआर प्रयोगशाला दुई सिफ्टमा सञ्चालन गर्न सकेमा १९२ जनाको नमुना परीक्षण गर्न सकिने अवस्था भएपनि पर्याप्त जनशक्ति नभएका कारण आधाको मात्र परीक्षण भइरहेको महाकाली अस्पतालका ल्याब इन्चार्ज केशव जोशीले बताए । उनले फ्रिजमा समस्या आएकाले संकलन गरेका नमुना धेरै दिन भण्डारण गर्न नसकिने स्थिति रहेको बताए ।

सामाजिक विकास मन्त्रालय भन्छ– नमुना संकलन सम्बन्धित स्थानीय तहबाटै

प्रदेशको सामाजिक विकास मन्त्रालयले नमुना संकलनको काम सम्बन्धित स्थानीय तहबाटै भइरहेको जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख समेत रहेका प्रवक्ता नरेन्द्र कार्कीले प्रत्येक स्थानीय तहलाई शंकास्पद व्यक्तिको पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तहबाटै नमुना संकलन गरेर पठाउन निर्देशन दिइएकाले सोहीअनुसार काम भइरहेको बताए । उनले सेती प्रादेशिक अस्पतालको हकमा भने उपचारका लागि भर्ना भएका बिरामीको नमुना संकलन गर्ने गरी व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको उनी बताउँछन् ।

परीक्षण सुस्त हुँदा संक्रमित पहिचानमा समस्या

सुदूरपश्चिमको अस्थायी राजधानीमै कोरोना परीक्षणका लागि नमुना दिनकै लागि तीन–तीन दिनसम्म धाउनु परिरहेका बेला प्रदेशमा संक्रमण भने तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशमा शनिबार मात्र ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ७४९ जनाको परीक्षण गर्दा ३१७ र ६६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा शुक्रबार पनि १९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । ५२७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बिहीबार पनि प्रदेशमा ५८५ जनाको परीक्षण गर्दा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment