Comments Add Comment
सलाम ! डा. बर्मा  :

आफैँ थला पर्दा पनि बिरामीलाई जोगाउँदै

क्यानुला लगाएर ड्युटीमा खटिएका डा. पुरुषोत्तम बर्मा

२० वैशाख, काठमाडौं । एक चिकित्सक पीपीई सेटसहित कुर्चीमा बसेका छन् । टेबलभरी  बिरामीको रेकर्ड फाइल फिजाइएको छ । त्यसमा उनी केही हेरिरहेका छन् । सायद उनी रेकर्ड पल्टाएर बिरामीको स्वाथ्य अवस्थाबारे विश्लेषण गरिरहेका छन् ।

बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्नु, विश्लेषण गर्नु एक असल चिकित्सकको धर्म नै हो ।  तर स्वयम उनको देब्रे हातमा क्यानुला जडान गरिउको छ । स्ट्यान्डमा झुन्डाइएको सेतो बोतलमार्फत शरीरमा स्लाइन पानी चढिरहेको छ ।

यो दृश्यले यतिबेला जो कसैको ध्यान आकर्षित गरेको छ ।  सबैको मन छोएको छ । दृश्यले प्रष्ट हुन्छ तीं चिकित्सक आफै बिरामी छन् तर उनी बिरामीको सेवामा अनवरत खटिरहेका छन् ।

यो तस्बिर अहिले  सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  आफै अस्वस्थ्य भएर पनि २४ सै घण्टा कोरोना संक्रमित बिरामीको उपचारमा डटेकोमा ‘सलाम छ डाक्टर सा’व !’ भन्दै  उनको प्रशंसा भइरहेको छ ।

‘राज्यका नीति निर्माताहरू भने महामारीमा जनताले सास फेर्न अक्सिजन नपाउँदा पनि दलीय स्वार्थमै सीमित रहेका छन् । जनता रहे पो देश रहन्छ, देश रहे दल र नेता रहन्छ होइन र ?’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको आलोचना गरिरहेका छन् ।

‘सेवा नै धर्म हो, बिरामीको सेवामा निरन्तर जुट्न कामना’ भन्दै डा. बर्मालाई सामाजिक सञ्जालमार्फत हौसला र भावनात्मक साथ दिने प्रयोगकर्ताको कमी छैन ।

 

आफ्नो ज्यानको बाजी लगाएर संक्रमितको उपचारमा खटिने चिकित्सक हुन् डाक्टर पुरुषोत्तम बर्मा । उनी यतिबेला बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा अनवरत सेवामा छन् ।

बिरामीको उपचारमा खट्ने क्रममा एक्कासी उनलाई पेट दुख्ने, झाडा पखला लाग्ने समस्या देखियो । झाडा पखलाले शरीर निकै गलायो । उनलाई स्लाइन पानी नै चढाउनुपर्ने भयो । उनलाई टाउको दुख्ने समस्या पनि थपियो । त्यति मात्रै होइन  श्वासप्रश्वासमा समेत समस्या आउन थाल्यो । प्रेसर लो भयो ।  जसले गर्दा उनलाई इन्जेक्सन दिनुपर्ने भयो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षणले उनलाई गलाए पनि अस्पतालमा बिरामीको चाप झन् झन् थपिँदै गयो । उनलाई कर्तव्यबाट भाग्न मन लागेन । त्यसपछि उनले आफ्नो र बिरामीको उपचार एकसाथ अगाडि बढाए । त्यही तस्बिर हो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको ।

उनीसँगै काम गर्ने २/३ जना चिकित्सकमा संक्रमण पुष्टि भइसकेको छ । उनीहरु सबै होमआइसोलेसनमा छन् । सँगैका साथी संक्रमित भएपछि बढ्दो बिरामीको चापको जिम्मेवारी पनि उनमा थपियो । साथीहरुमा लक्षण पनि नदेखिएको उनी बताउँछन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण शनिबार उनले पनि पीसीआर परीक्षण गराएका छन् । तर उनको रिपोर्ट भने आइसकेको छैन ।

अस्पतालमा ३८ जना संक्रमित उपचाररत छन् । सबैको अवस्था गम्भीर रहेको उनको भनाइ छ । ‘सबै बिरामीलाई अक्सिजन सपोर्ट दिनुपरेको छ । यस्तो अवस्थामा २४ सै घण्टा उनीहरुको निगरानी जरुरी पर्छ’, उनले भने, ‘त्यसैले चिकित्सकहरू जुनसुकै बेला पनि चनाखो भएर बस्नुपर्ने अवस्था छ ।’

बिरामी शरीर लिएर पनि उपचारमा खटिँदा बिरामीहरूको मनोबल बढेको आफूले पाएको उनले सुनाए ।  डाक्टर बर्माले भने, ‘कोरोनालाई पराजित गर्न उनीहरूमा आएको मनोबलले मलाई थप हौसला मिलेको छ ।’

‘सेवा नै धर्म हो, बिरामीको सेवामा निरन्तर जुट्न कामना’ भन्दै डा. बर्मालाई सामाजिक सञ्जालमार्फत हौसला र भावनात्मक साथ दिने प्रयोगकर्ताको कमी छैन । एक डाक्टरको यो समर्पणको प्रसंसा गर्नेले देश थला परेकोबेला राजनीतिको सत्ता गिराउने र जोगाउने ‘फोहोरी’ खेल भइरहेकोप्रति आक्रोस समेन व्यक्त गरेका छन् ।

कुराकानी गर्दागर्दै कोरोना संक्रमणबाट थप दुई जना गम्भीर प्रकृतिका बिरामी आएको भन्दै उनले अनलाइनखबरसँग टेलिफोनवार्ता छोट्याउन आग्रह गरे । एउटा डाक्टरको बिरामीप्रतिको समर्पणमा हामीले पनि अवरोध भइरहन चाहेनौँ ।

नेपालगञ्ज मेडिकल कलेजमा मात्रै होइन बिरामीको सेवामा अनवरत खटिएका बाँकेकै भेरी अस्पतालमा कार्यरत ९ जना चिकित्सकसहित ९० जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।  संक्रमितको चाप उच्च हुँदै  जाँदा उपचारमा खटिने चिकित्सकको अभाव पनि चुलिँदै गएको छ । राज्यले भने अवस्था जति भयावह छ, त्यो अनुरुपको यथेष्ट प्रबन्ध मिलाउन सकेको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतबार मात्रै कोरोना महामारीको उपचारका लागि थप स्वास्थ्यकर्मी पठाइदिन उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आग्रह गरेका छन् । सुनुवाई कहिले हुने हो ? त्यो अनिश्यकै गर्भमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment