
२० वैशाख, काठमाडौं । सरकारले नेपाल–भारत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकको आवगमन बन्द गर्दै नेपाली नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सीमा नाकाबाट प्रवेश गर्ने नागरिकको एन्टिजेन परीक्षणको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नेछ । तर, त्यसमा प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेछ ।
‘यसरी आउनेलाई १० दिन होम वा संस्थागत क्वारेन्टिनमा राख्नुपर्ने पनि आदेश छ’, दाहालले अनलाइनखबरसँग भने, ‘क्वारेन्टिनमा बसे/नबसेकोबारे स्थानीय तहले अनुगमनसमेत गर्नुपर्ने छ ।’
क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय ठाउँमा भएका सार्वजनिक भवन, होटल तथा पार्टी प्यालेसहरुलाई पनि प्रयोग गर्न सकिने भनिएको छ । मन्त्रिपरिषद्ले नेपाल प्रवेशका लागि १३ वटा नाका पनि तोकेको छ ।
प्रतिक्रिया 4