Comments Add Comment

कोरोना नियन्त्रणका लागि पर्साका स्थानीय तहको तयारी सुस्त

फाइल तस्वीर

२० वैशाख, वीरगञ्ज । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहरले पर्सा जिल्ला पनि आक्रान्त बनेको छ । भारतमा संक्रमण बढ्दा १०७ किलोमिटर खुला सीमा रहेको पर्सामा पनि तीव्र रुपमा संक्रमण बढिरहेको छ । २०७७ चैतको अन्तिम साताबाट बढ्न थालेको कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको छ ।

आइतबार वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा १९२ जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भयो । जसमध्ये १०४ जना पर्साका छन् । पर्सामा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३५० पुगिसकेको छ । दोस्रो लहरमा संक्रमित भई मृत्यु हुनेको संख्या २४ छ । १४ वटा पालिकामध्ये छिपहरमाई, कालिकामाई गाउँपालिका, पोखरिया र बहुदरमाई नगरपालिकाका १/१ जनाको मृत्यु भएको छ । बाँकी सबै वीरगञ्ज महानगरपालिकाका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) पर्साले स्थानीय पालिकालाई कोरोना महामारीविरुद्ध तयारी अवस्थामा रहन पटक–पटक आग्रह गरेको छ । तर पर्साका स्थानीय पालिकाहरुले यसलाई गम्भीर रुपमा लिएका छैनन् । उनीहरुको तयारी एकदमै सुस्त छ, कतिपय पालिकाले कुनै तयारीसमेत नगरेको पाइएको छ ।

गत वर्ष वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालका चिकित्सकका लागि क्वारेन्टिन, गण्डक अस्पतालमा अस्थायी कोभिड सेवा सञ्चालन गर्‍यो । चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरी नारायणी अस्पताललाई दियो । क्वारेन्टिन, आइसोलेसन सेन्टरहरु सञ्चालन र व्यवस्थापन गर्नुको साथै भिटिएम, रिएजेन्ट खरिद गरेर जिम्मेवार पालिकाको रुपमा प्रशंसा बटुलेको थियो ।

तर कोरोना भाइरसको दोस्रो लहरबाट वीरगञ्ज आक्रान्त भइसक्दा पनि यसपालि महानगरपालिका तातिएको छैन । संक्रमणदर तीव्र हुनुका सार्थ दैनिक मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । पर्सामा भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा नै छन् । मृत्यु हुनेको संख्या पनि बढी यहीं बढी छ । तर कोरोना महामारी नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिका अघिल्लो वर्ष जस्तो तातिएको पाइँदैन ।

महानगरपालिकाले निःशुल्क अक्सिजन वितरण, एम्बुलेन्स र होम आइसोलेसनमा औषधि दिने, नाकामा हेल्थ डेस्क सञ्चालन गर्ने र ५ वटा केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम बनाएर काम गरिरहेको छ ।

कोरोना भाइरसको दोस्रो लहरबाट वीरगञ्ज आक्रान्त भइसक्दा पनि यसपालि महानगरपालिका तातिएको छैन । संक्रमणदर तीव्र हुनुका सार्थ दैनिक मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । पर्सामा भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा नै छन् ।

नगर प्रमुख विजयकुमार सरावगी गत वर्ष गरेको खर्चको सोधभर्ना नै नभएको बताउँछन् । ‘गत वर्ष गण्डक कोभिड अस्पतालमा मात्रै १० करोड जति खर्च भएको छ, जम्मा तीन करोड रुपैयाँ भुक्तानी पाएका छौं,’ उनले भने, ‘मेसुसँग चर्काचर्की भएपछि चिकित्सक स्वास्थ्यकर्मीलाई होटल क्वारेन्टिन राख्दा लागेको खर्च दिनुभएको छ । सिद्धार्थ, त्रिजुद्ध स्कुलहरुमा सेमी, आइसोलेसन, क्वारेन्टिन चलाएका थियौं । त्यसको झण्डै ६ करोड रकम स्वास्थ्य मन्त्रालयसँग माग गरेका थियौं, तर पाएनौं ।’

यसवर्ष जिम्मेवारी अनुसारको मात्रै काम गरिरहेको उनले बताए । ‘१५ बेडको अस्पतालसँग सम्झौता गरेर सञ्चालन भनेको छ । वीरगञ्जमा भेन्टिलेटर सुविधा भएको १५ बेडको अस्पताल नै छैन । त्यसैले  महानगरपालिका त्यसमा अघि बढिरहेको छैन,’ उनले थपे, ‘२ सय बेडको प्रदेश सरकारले अधिकार दिएको छ । २ सयभन्दा बढीको सबै संघ सरकारले आफूसँग राखेको छ । अधिकार प्रत्यायोजन गरेपछि मात्रै महानगरपालिकाले केही गर्न सक्छ, अन्यथा भोलिका लागि सोधभर्ना पाइँदैन ।’

तर पनि गोपाल सेवा समितिमा महानगरपालिकाले दुई सय बेडको आइसोलेसन सेन्टर बनाउन तयारी थालेको उनले जानकारी दिए ।

पोखरियामा नगर प्रमुख र उपप्रमुखको जुहारी

पर्साका तीन नगरपालिकामध्ये पोखरिया नगरपालिकामा मात्रै अस्पताल छ । बहुदरमाई र पर्सागढीमा साना स्वास्थ्य संस्था मात्रै छन् । उनीहरुले जागरुकताका साथ तयारी थालेको देखिंदैन ।

कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि तयारी नभएको भन्दै पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले त विज्ञप्ति नै जारी गरेकी छन् । उनले वैश्विक महामारीका बेला पनि आँखा चिम्लेर तथा कानमा तेल हालेर बस्नु उचित नभएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

‘यस्तो बेलामा द्रुत गतिमा काम गर्नुपर्ने हो, नगरपालिकाको कार्यालय नै पूर्ण रुपमा बन्द भएपछि पीडित जनता कहाँ जाने ? कोरोना महामारीको दोस्रो चरणको भयावह अवस्थाबारे हामी सबै जानकार छौं । तर त्यसको सामना गर्न तम्तयार रहनुको सट्टा हामी किन मौन छौं ?’ उनले विज्ञप्तिमा भनेकी छन् ।

ध्यानाकर्षण गराउँदा–गराउँदा थाकेपछि विज्ञप्ति जारी गर्नु परेको उनले बताइन् । ‘यदि कुनै तयारी हुँदैछ भने पनि के–के हुँदैछ पालिकाका सबै जनप्रतिनिधिले त्यसबारे औपचारिक जानकारी पाउनुपर्छ,’ उनले भनेकी छन् ।

नगर प्रमुख दीपनारायण रौनियारले भने विज्ञप्ति निकालेर काम नचल्ने प्रतिक्रिया दिएका छन् ।

‘विज्ञप्ति निकालेर हुँदैन, महामारीमा काम गर्नुपर्छ,’ उनले भने, ‘मोबाइल अफ गरेर भागेको छैन । समन्वय गर्न रोकेको छैन । नगरबासी कसैलाई कोरोना संक्रमण पुष्टि भए राख्नका लागि आइसोलेसन सेन्टर तयार गरिरहेका छौं ।’

पोखरिया अस्पतालमा ओपिडी सेवा बन्द छ । तल्लो तलामा इमर्जेन्सी सेवा दिएर माथिल्लो तलामा कोभिड सेवा दिने गरी तयारी गरिएको छ ।

पोखरिया अस्पताल ८ बेडको आइसोलेसन सेन्टर तयार भइसकेको र पालिकाले त्यसलाई २५ बेड पुर्‍याउने गरी काम शुरु गरेको नगर प्रमुख रौनियारले बताए ।

अन्य पालिकाको यस्तो छ तयारी

पर्सागढी नगरपालिकाका नगर प्रमुख लोकनारायण यादव १५ बेडको कोरोना अस्पताल नै बनाउने तयारी भइरहेको बताउँछन् । ‘पालिकामा खासै संक्रमित देखिएका छैनन्, स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार १५ बेडको अस्पताल बनाउने तयारी हुँदैछ,’ उनले भने, ‘भौतिक पूर्वाधार नभएको ठाउँ छ । हेल्थ पोष्ट बन्द गर्न पनि उचित लागेको छैन । भोलि बैठक बसेर निर्णयमा पुग्छौं ।’

कोरोना महामारीका लागि पालिकाले थोरै बजेट छुट्याएकाले मन्त्रालयबाट सोधभर्ना लिने गरी काम अघि बढाउन लागेको उनले बताए ।

पालिकामा दैनिक संक्रमित भेटिएपनि प्रशासनको असहयोगले तयारी गर्न नपाएको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहले बताए । ‘कुनै पनि अस्पतालसँग सहकार्य गर्न केन्द्रीय निर्देशन आएको छ । बजेट आएको छैन,’ उनले भने, ‘महामारीविरुद्ध लड्न, प्रहरी, प्रशासनलाई मात्रै जिम्मेवारी दिएको छ । पालिकालाई नदिएको जस्तो भान भएको छ । कार्यालयको कामले निस्केका कर्मचारीलाई समेत प्रहरी प्रशासनले रोकेको छ ।’

कार्यालयमा दुई चारजना स्वास्थ्यकर्मी र सफाइकर्मी काममा बोलाउनु भनेकोले बैठक गर्न समेत नसक्ने अवस्था बनेको उनले गुनासो गरे ।

१० बेडको आइसोलेसन तयार पारिसकेको सखुवाप्रसौनी गाउँपालिकाले २५ बेड पुर्‍याउने गरी तयारी थालेको गाउँपालिका अध्यक्ष प्रदीपकुमार जयसवाल बताउँछन् ।  ‘पालिका स्तरीय विपद् व्यवस्थापन समितिका लागि १५ लाख रुपैयाँ छुट्याएका थियौं, त्यसैबाट १० बेडको आइसोलेसन सेन्टर तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘त्यसलाई २५ बेड बनाउने तयारी छ । अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन डीसीसीएमसीसँग आग्रह गरेका छौं ।’

होम आइसोलेसनमा ८ जना संक्रमितलाई चिकित्सकको निगरानीमा राख्नुको साथै निःशुल्क औषधि वितरण गरिरहेको उनले बताए ।

सखुवाप्रसौनीबाहेक अन्य गाउँपालिकाले तयारी गरे/नगरेको कुनै जानकारी जिल्ला प्रशासन कार्यालयमा गराएका छैनन् । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले पालिकाहरु तयारीकै चरणमा रहेको बताए ।

मुख्यमन्त्री लालबाबु राउतले महामारीविरुद्ध सबै पालिका एक जुट भएर तयारी थाल्न निर्देशन दिएका थिए । जिल्ला समन्वय समितिमा बसेको सरोकारवालाको बैठकमा जिल्लामा ‘साझा कोभिड कोष’ बनाएर काम अघि बढाउने लगायत विविध विषयमा छलफल भएको थियो । तर ती कामहरु अघि बढ्न सकेका छैनन् ।

जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीले आफैं बिरामी परेर पालिकासँग समन्वय गर्न नपाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment