Comments Add Comment

बन्दाबन्दीमा अनधिकृत निर्माण र प्रचार सामग्री हटाइँदै

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरका प्रहरीले सडक तथा सडकपेटीमा थुपारिएका अनधिकृत निर्माण सामग्री तथा प्रचार सामग्री हटाउन थालेको छ । सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम गरिरहेको छ ।

‘व्यस्त समयमा सवारी आवागमनले असजिलो भएका काम अहिले बन्दाबन्दीका समयमा गरिरहेका छौं’ नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्छन्, ‘सडकका ठाउँ-ठाउँमा केही न केही अनावश्यक सामग्री थुप्रिएका छन् । यस्ता सामग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामग्री हटाउँदैछौं ।’

महानगरका ठूला ८ वटा आकाशे पुलमा राखिएका प्रचार सामग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामग्री उक्काउन कठिन भएकोले रङ पोतेर छोडिएको छ ।

‘अप्ठ्यारा ठाउँमा राखिने भएकोले यस्ता सामग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामग्री हटाएका हौँ,’ महाशाखा प्रमुख सापकोटाले भने ।

कलंकीदेखि त्रिपुरेश्वरको मूल सडक, सुन्धारा, नयाँ सडक, भोटाहिटी, जमल, कान्तिपथ, दरबार मार्ग, कमलादी, पुतलीसडकको सामग्री हटाइएको छ । भोलिबाट बानेश्वर क्षेत्रतर्फ केन्द्रित हुने महाशाखाको योजना छ ।

महाशाखाका अनुसार सडक र सडकपेटी निर्माण तथा मर्मत गर्दा, खानेपानीको पाइप लाइन बिछ्याउँदा, टेलिकम र इन्टरनेटजन्य सुविधा वितरण गर्ने प्रयोजनले काम गर्दा बाँकी रहेका कुनै न कुनै सामग्री सडकमै छोडेर जाने गर्दा समस्या बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment