Comments Add Comment

भारत कसरी पर्‍यो कोरोनाको चपेटामा ?

२१ वैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा दिन ढल्दै गर्दा शवहरू जलाइएको गन्ध हावामा फैलिरहेको हुन्छ । गत साताको एक साँझ दिल्लीस्थित सानो घाटमा एकैसाथ सातवटा चिता जलिरहेका थिए ।

‘म यहाँ आफ्नो परिवारसँग पूरा जीवन बस्दै आएको छु र दैनिक दुईपटक यो क्षेत्र हुँदै जान्छु,’ स्थानीय गौरव सिंह भन्छन्, ‘मैले कहिले पनि यति धेरै शव एकैपटक जलाएको देखेको थिइनँ ।’

अहिले भारतमा  ठूलो संख्यामा मानिसहरु कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाइरहेका छन् । सामाजिक सञ्जाल कफिन बाकस र स्वास्थ्य सहयोगको याचनाले भरिएका छन् ।

अस्पतालहरूमा बिरामीको उपचारका लागि बेड उपलब्ध छैन । कतिपय बिरामीले कोरोना संक्रमण भएको पुष्टि गर्ने रिपोर्ट नभएका कारण उपचार पाउन सकिरहेका छैनन् । स्वास्थ्यकर्मीहरूले आधारभूत सामग्री उपलब्ध गराउन सरकारसँग अपील गरिरहेका छन् ।

उत्तर प्रदेशकी स्वास्थ्यकर्मी कञ्चन पाण्डे भन्छिन्, ‘हामीलाई धेरै रिस उठेको छ । पीडा भएको छ । कम्तीमा हामीलाई केही मास्क र ग्लोब्स त दिनुपर्छ । के हाम्रो जीवनको कुनै मूल्य छैन ?’

‘हामीलाई धेरै रिस उठेको छ,’ उत्तर प्रदेशकी स्वास्थ्यकर्मी कञ्चन पाण्डे भन्छिन्, ‘कम्तीमा हामीलाई केही मास्क र ग्लोब्स त दिनुपर्छ । के हाम्रो जीवनको कुनै मूल्य छैन ?’

केही महिनाअघिसम्म भारतमा यस किसिमको भयावह अवस्था आउला भनेर शायदै कसैले सोचेको थियो । बालबालिकाहरू विद्यालय जान थालिसकेका थिए । राजनीतिकर्मी निर्वाचन प्रचारमा जुटेका थिए । मानिसहरू विवाहको उत्सवमा रमाइरहेका थिए ।

गत जनवरी २१ मा भारतको केन्द्रीय बैंकले अब छिटै नै सुनौलो दिन आउने दाबी गरेको थियो । त्यसको अर्को दिन प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीविरुद्ध र क्रिकेटमा अष्ट्रेलियासँग जित हात पारेको भन्दै ‘आत्मनिर्भर भारत’ भावनामा जोड दिएका थिए । उनले भनेका थिए, ‘सकारात्मक मनस्थितिले सधैं सकारात्मक नतिजा दिन्छ ।’

त्यतिबेला केही राज्यमा कोरोनाको संक्रमण बढ्न थालिसकेको थियो । तर, त्यतातर्फ कसैको ध्यान गएन । बरु फेब्रुअरी २१ मा भारतीय जनता पार्टीले भारतलाई कोरोनाविरुद्ध विजेता मुलुक घोषणा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गरेर एक प्रस्ताव पारित गरेको थियो ।

त्यसको दुई महिनापछि भारतले कोरोना महामारीको पहिलो लहरको क्रममा कायम गरेको सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न थाल्यो । जुन क्रम अहिले रोकिएको छैन । बरु बढ्दै गएको छ । पछिल्लो साता दिनयता भारतमा दैनिक साढे तीन लाखभन्दा धेरै नयाँ संक्रमित फेला पर्दै आएका छन् ।

शनिबार यो संख्या चार लाख नाघेको थियो । त्यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि तीन हजारभन्दा धेरै छ । आइतबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ३ हजार ७ सय पुगेको छ । यो क्रम सोमबार पनि उस्तै छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २० हजार नाघिसकेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या कम्तीमा दुई गुणा बढी हुनसक्ने मिसियन युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ भ्रमर मुखर्जी बताउँछन् । कोरोना संक्रमितको संख्या भने १० गुणा बढी हुनसक्ने उनको भनाइ छ ।

भारतको स्वास्थ्य प्रणाली अब थप माग थेग्न नसक्ने अवस्थामा पुगेको छ । अहिले नै भारतको स्वास्थ्य प्रणालीले माग धान्न सकेको छैन । भारतभरका अस्पतालहरूमा अक्सिजन, भेन्टिलेटर र बेडको अभाव शुरु भइसकेको छ ।  भारतीयहरू कोरोनाको उपचारमा सहयोग हुने रेम्डिसिभिरजस्ता औषधि खरिद गरिरहेका छन् ।

भारतका ल्याबहरू पनि मागअनुसार कोरोना परीक्षण गराउन नसक्ने अवस्थामा पुगेका छन् । १ अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतका लागि यो मानवीय संकट विनाशकारी हुनसक्ने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि अन्य मुलुकलाई भारतको जस्तो अवस्था आउनसक्ने भन्दै चेतावनी दिएको छ ।

गत वर्ष भारतमा कोरोना महामारीको पहिलो लहर फैलिँदा  सरकारले तत्काल लकडाउनको निर्णय गरेको थियो । जसको कारण अर्को राज्यका धेरै मजदुरको आफ्नो घर जाने क्रममा बाटोमै मृत्यु भएको थियो । त्यसले भारतको अर्थतन्त्रमा नराम्रो असर पर्‍यो । गत जुनमा सरकारले अर्थतन्त्रका लागि लकडाउन हटाएको थियो ।

गत वर्ष सेप्टेम्बरमा भारतमा दैनिक ९३ हजारको हाराहारीमा कोरोना संक्रमण भेटिन थालेका थिए । त्यसपछि भने संक्रमणमा विस्तारै कमी आएको थियो । तर, अहिले पहिलो लहरको उच्च बिन्दुमा पुगेको भन्दा चारगुणा बढी नयाँ संक्रमित भेटिइरहेका छन् ।

केहीले भारतमा निरन्तर घट्दो क्रममा रहेको कोरोना संक्रमणलाई हेरेर भारतमा हर्ड इम्युनिटीको विकास भएको बताएका थिए । युवाको संख्या धेरै हुनु, ६६ प्रतिशतभन्दा धेरै मानिस ग्रामीण क्षेत्रमा बस्नु र उनीहरू धेरै समय बन्द कोठाभन्दा बाहिर रहनुजस्ता कारणले संक्रमण धेरै नफैलिएको उनीहरूको भनाइ थियो । तर, अहिले भने यो आशा गर्न पनि जटिल बनेको छ । पछिल्लो समय कोरोना संक्रमण युवामा धेरै देखिएको छ भने बिहार र उत्तर प्रदेशजस्ता ग्रामीण क्षेत्र भएका राज्यमा कोरोना संक्रमण तीव्र फैलिएको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण ठूलो संख्यामा बढ्नुको कारण कोरोनाको नयाँ प्रकार (भेरियन्ट) हुनसक्ने बताइएको छ । तर, भारतमा भेरियन्टको विषयमा भने खासै धेरै परीक्षण तथा अनुसन्धान भएको छैन ।

अन्य केही कारण पनि छन्, जसले भारतमा कोरोना संक्रमण बढाइरहेका छन् । अहिले भारतमा कोरोना भाइरस संयुक्त परिवारबाट निकै तीव्र गतिमा फैलिरहेको छ । औसतमा भारतका १० मध्ये ४ परिवार संयुक्त अर्थात् दुई वा सोभन्दा धेरै पुस्ता सँगै बस्ने परिवार छन् ।

युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका डा. आशिष झा भन्छन्, ‘मानिसहरूलाई कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना गर्न लगाउनुको सट्टा भारतले निर्वाचनको र्‍याली आयोजना गर्ने, कुम्भ मेलाजस्ता पर्वलाई बढावा दिनेजस्ता कामले भारतमा व्यापक मात्रामा कोरोना संक्रमण फैलियो ।’

लामो समयदेखि भारतमा स्वास्थ्य सेवा उपेक्षामा पर्दै आएको थियो । जसको नतिजास्वरुप अहिले भारतका अस्पतालका उपकरणहरू जीर्ण बनिसकेका छन् र यसले बिरामीको माग धान्नसक्ने अवस्था छैन ।

भारतले स्वास्थ्य सेवाको लागि कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३.५ प्रतिशत रकम खर्च गर्दै आएको छ । यो रकम अन्य ठूला मुलुकको तुलनामा निकै कम हो । फ्रान्सले स्वास्थ्य सेवाको लागि ११.३ प्रतिशत रकम खर्च गर्छ भने बेलायतले १० प्रतिशत खर्च गर्छ । ब्राजिल र दक्षिण अफ्रिकाले पनि जीडीपीको ८ प्रतिशतभन्दा धेरै स्वास्थ्य सेवाको लागि खर्च गर्ने गरेका छन् ।

भारतको स्वास्थ्य सेवाको लागि खर्च हुने रकममध्ये एक तिहाइ मात्र सरकारले दिन्छ । बाँकीमध्ये अधिकांश रकम नागरिकहरूकै खल्तीबाट प्रयोग हुन्छ ।

अव्यवस्थाका बाबजुद भारतले समयमा नै तयारी गरेको भए अहिलेको संकट टार्न सकिने विशेषज्ञहरू बताउँछन् । यद्यपि सरकारले मानिसहरूलाई सचेत गराउने कार्यलाई बेवास्ता गर्नु र तथ्यांक तथा अन्य मुलुकबाट आएका भेरियन्टको विषयमा थप चासो दिएर काम नगर्नुले अहिलेको संकट आएको जानकारहरू बताउँछन् ।

गत मार्चको अन्तिमसम्ममा भारतमा कोरोना संक्रमण वृद्धि हुन थालिसकेको थियो । तर, सरकार भने त्यतिबेलासम्म केही पनि नभएको जस्तो गरी अघि बढिरहेको विशेषज्ञहरुको आरोप छ ।

मानिसहरूलाई कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना गर्न लगाउनुको सट्टा भारतले निर्वाचनको र्‍याली आयोजना गर्ने तथा कुम्भ मेलाजस्ता पर्वलाई बढावा दिनेजस्ता कामले भारतमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका डा. आशिष झाको बुझाइ छ ।

भारतले कोरोना संक्रमण नियन्त्रणको लागि उपयुक्त योजना बनाएर अघि बढ्नुको सट्टा बिस्तारै नयाँ संक्रमितको संख्यामा कमी आउँदा धेरै आत्मविश्वास देखाएको थियो । कोरोना नियन्त्रणको लागि स्वदेशी खोप मात्र प्रयोग गर्ने नीति भारतले लिएको थियो । जसको कारण समयमा नै उसले विदेशी खोप किन्ने प्रयास गरेन ।

भारतले विश्वलाई नै कोरोना खोप पुर्‍याउने दाबी गरेको केही महिना नहुँदै भारतमै कोरोना खोपको अभाव देखिन थालेको छ । अहिले भारतमा देखिएको स्वास्थ्य संकटको सामना गर्न विश्वभरका मुलुकहरूले भारतको लागि सहयोग पठाउनुपर्ने अवस्था आएको छ ।

त्यति मात्र होइन भारतले आफूलाई विश्वको फार्मेसी घोषणा गर्दै विश्वभर कोरोना खोप निर्यात गर्ने मुलुक बन्ने होडमा लाग्यो ।  प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतले विश्वका धेरै मुलुकमा कोरोना खोप निर्यात गरेको दाबी गरेका थिए । जतिबेला भारतले प्रतिदिन ०.२ प्रतिशत जनसंख्यालाई मात्र कोरोना खोप दिइरहेको थियो ।

भारतले विश्वलाई नै कोरोना खोप पुर्‍याउने दाबी गरेको केही महिना नहुँदै भारतमै कोरोना खोपको अभाव देखिन थालेको छ । खोप अभावको कारण भारतका केही स्थानमा खोप अभियान नै रोकिएको छ । अहिले भारतमा देखिएको स्वास्थ्य संकटको सामना गर्न विश्वभरका मुलुकहरूले भारतको लागि सहयोग पठाउनुपर्ने अवस्था आएको छ ।

भारतमा कोरोनाको अर्को लहर रोक्नका लागि अहिले जारी रहेको कोरोना खोप अभियान महत्वपूर्ण हुनसक्छ । अहिलेसम्म भारतमा ९ प्रतिशत मानिसले मात्र कोरोना खोप लगाएका छन् । भारतको खोप अभियान पनि निकै सुस्त चलिरहेको छ । एक अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतले आफ्नो कोरोना खोप कार्यक्रमलाई तीव्रता दिनु जरुरी रहेको जानकारहरूले बताउँदै आएका छन् ।

भारतको कोरोना खोप निर्माता सेरम इन्स्टिच्युटले मे महिनासम्म अन्य मुलुकलाई १० करोड डोज कोरोना खोप निर्यात गर्नुपर्ने थियो । तर, अहिलेसम्म उसले दुई करोड डोज  मात्र निर्यात गरेको छ । भारतले भने सेरम इन्स्टिच्युटलाई कोरोना खोप निर्यातमा रोक लगाएको छ । त्यसको सट्टामा अन्य मुलुकबाट खोप आयात गर्ने भारतको योजना छ ।

भारत पश्चिमा मुलुकको तुलनामा सम्पन्न मुलुक नभए पनि उसले यसअघि धेरै रोगविरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको इतिहास छ । यद्यपि कोरोना महामारी नियन्त्रणको लागि भने राजनीतिक स्वार्थभन्दा बाहिर निस्किएर स्वास्थ्यकर्मीहरूको शक्तिशाली सामुदायिक सञ्जाल विकास गर्न जरुरी देखिन्छ ।

द टाइम्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment