Comments Add Comment

पेनाल्टीमा चुक्दा काठमाडौंसँग बुटवल पराजित

२१ वैशाख, काठमाडौं । बुटवल लुम्बिनी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै काठमाडौं रेजर्स नेपाल सुपर लिगको तेस्रो स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा काठमाडौंले बुटवललाई १-० ले पराजित गरेको हो । यस जितपछि काठमाडौंले ४ खेलबाट विराटनगर सिटी एफसी र धनगढी एफसी समान ७ अंक जोडेको छ । तर गोल अन्तरमा काठमाडौं तेस्रो स्थानमा छ । पहिलो हारपछि ४ खेलबाट ५ अंक जोडेको बुटवल चौथो स्थानमा झरेको छ ।

काठमाडौंको जितमा विदेशी खेलाडी स्टेफेन विनोङ समिरले निर्णायक गोल गरे । खेलमा बुटवलका खेलाडीले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

खेलको पाँचौ मिनेटमा स्टेफेन विनोङ समिरले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । उनले लामो पासमा बुटवलको गोलकिपर तथा कप्तान विशाल श्रेष्ठ अलमलमा परेको बेला हाफ भली मार्फत गोल गरे ।

बुटवलले दुई मिनेटपछि नै बराबरी गोल गर्ने अवसर गुमायो । सातौं मिनेटमा काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाई पेनाल्टी एरियामा फाउल गरेपछि बुटवलले पेनाल्टी पाएको थियो ।

तर बुटवलका विदेशी खेलाडी विलियम ओपोकु असिइदेडले पेनाल्टी प्रहार काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले डाइभ गर्दै बचाए ।

खेलको १८ औं मिनेटमा काठमाडौले अग्रता दोब्बर पार्ने अवसर गुमायो । कर्नरबाट आएको बलमा छिरिङ गुरुङले प्रहार गरेको बल बुटवलका ओमालाजाले गोल लाइनबाट हेड गर्दै सेभ गरेका थिए । त्यसमा रिबाउण्ड भएको बल गोलकिपर विशालले बचाए ।

पहिलो हाफको इन्जुरी टाइममा आशिष राईले सुदिल राईको पासमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर पर्किएको थियो ।

काठमाडौं रेजर्सका सुदिल राईले खेलको इमर्जिङ प्लेअर बन्दै नगद १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै काठमाडौंकै कप्तान विकेश कुथु म्यान अफ दि म्याच बने । खेलमा पेनाल्टी रोकेका उनले नगद २५ हजार रुपैयाँ पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment