Comments Add Comment
महामारीमा विराटनगर :

पूर्व तयारीमा अलमल, घरमै अक्सिजन पुर्‍याउँछन् मेयर

अक्सिजन सिलिण्डरमा पाइप जोड्दै मेयर भीम पराजुलीका अंगरक्षक चित्र दाहाल

२२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा मंगलबारसम्म एक हजार ५३ सक्रिय सङ्क्रमित रहेको तथ्याङ्क छ । दैनिक २०० को हाराहारीमा संक्रमित थपिइरहेका छन् । तर ती संक्रमित कहाँ र कुन अवस्थामा छन् भन्ने लेखाजोखा स्थानीय सरकारलाई छैन ।

महामारी उच्च विन्दुमा पुगेपछि पूर्व तयारीमा जुटेको महानगर अल्मलिएको छ । मेयर भीम पराजुली भने होम आइसोलेसनमा रहेका सङ्क्रमितका लागि घर–घर अक्सिजन सिलिण्डर पुर्याउँछन् । तर महानगर भित्रै समन्वय नहुँदा सङ्क्रमितको व्यवस्थापन र कन्ट्रयाक ट्रेसिङ भएको छैन ।

‘हामीले पहिलो जस्तो डाटा राख्न पाएका छैनौं’ महानगरको कोभिड १९ स्वास्थ्य संयोजक हैदर अली भन्छन्,‘ हामीले जिम्मेवारी पाएपछि काम गरिरहेका छौँ ।’

महामारीको पहिलो लहरमा अलीले  नै कोभिड व्यवस्थापन हेर्थे । सङ्क्रमित नभेटिएपछि महानगरको दैनिक काममा फर्किए । महामारी उच्च विन्दुमा पुगेपछि बिहीबार उनैलाई कोभिड १९ स्वास्थ्य संयोजक बनाइएको छ । ‘बिहीबारसम्म ८५० जना संक्रमित थिए’ उनले भने, ‘सबै संक्रमितको सम्पर्क गर्ने प्रयास गरिरहेका छौं, तर पहिलेको जस्तो व्यवस्थित आइसोलेसन र डाटा छैन ।’

सङ्क्रमण बढेका कारण महानगरले बिहीबारबाट मात्रै विराटनगर १, ७ र १५ नम्बर वडामा स्वाब संकलन सुरु गरेको छ ।

सङ्क्रमणको पहिलो लहरमा व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन र होम आइसोलेसनमा भएका संक्रमितलाई औषधि वितरण गरेको महानगर दोस्रो लहर नियन्त्रण बाहिर पुग्दा अलमलमा छ ।

‘पहिले जस्तो आइसोलेसन क्वारेन्टाइन बनाएर सञ्चालन गर्न सक्ने अवस्था छैन’ स्वास्थ्य संयोजक रमेश कार्की भन्छन्, ‘नाकामा स्वास्थ्य जाँच हुन्छ, १९ बेडको आइसोलेसन भर्खरै सुरु भयो, संक्रमितलाई सहयोगका लागि एम्बुलेन्स र डाक्टरको परामर्श पनि छ ।’

उनका अनुसार त्यसबाहेक जनचेतनामूलक सूचना प्रसारण गरिरहेको छ । ‘संक्रमण कम्युनिटी लेभलमा व्यापक भएको छ’ उनले थपे, ‘अवस्था धेरै जटिल छ ।’

बल्ल आइसोलेसन

कोरोना सङ्क्रमण नियन्त्रण बाहिर पुगेपछि सोमबारबाट कन्ट्रयाक ट्रेसिङ सुरु गरेको महानगरपालिकाले १९ बेडको आइसोलेसन पनि सुरु गरेको छ ।

स्वास्थ्य संयोजक कार्कीका अनुसार विराटनगर– १५ रानीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, विराटनगर– ७ आदर्श स्कूलको विज्ञान भवन र विराटनगर–१ स्थित पुरानो दमकल कार्यालयमा स्वाब संकलन सुरु गरिएको हो ।

विराटनगर– १९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको १९ बेडको आइसोलन केन्द्र सुरु भएको छ । आइसोलेसन केन्द्रमा ४ जना सङ्क्रमित छन् ।

अक्सिजन बोकेर घर–घर पुग्छन् मेयर

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पुर्याउन थालेका छन् । महामारीको समयमा अक्सिजनको राजनीति सुरु गरेको भन्दै उनको आलोचना गर्नेहरु पनि छन् । तर महानगरको स्वास्थ्य महाशाखाबाट गर्नुपर्ने काममा आफैं खटिन उनले छोडेका छैनन् ।

‘मेरो गाडीमा अक्सिजन, पीपीईलगायत स्वास्थ्य सामग्री भइरहन्छ’ उनले भने, ‘अफ्ठ्यारो पर्याे भन्दै जनताले फोन गर्छन्, आवश्यक परेको अवस्थामा घरसम्म पुर्याइदिन्छु ।’ राति ११ बजे पनि कोरोना सङ्क्रमितलाई अक्सिजन पुर्याउन घरसम्म पुगेको उनले सुनाए ।

‘अहिले बजारमा अक्सिजन अभाव छ, सिलिण्डर खोजेर भर्दै पुर्याउँछु’ उनले भने, ‘स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टिमले काम गरिरहेको छ, फोन गरेको ठाउँमा म पुग्छु ।’

कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझेर मात्रै अक्सिजन दिइने गरेको उनले बताए । ‘स्वास्थ्यकर्मीको टिमले अक्सिजन लेभलको जाँच गर्छ’ उनले भने, ‘हामीसँगै हुने स्वास्थ्यकर्मीले अक्सिजन जोडिदिन्छन् ।’ कोरोना अवधिभर आफू खटिने उनले बताए ।

‘संक्रमितको घरसम्म पुग्दा मलाई जोखिम हुन्छ, तर पनि जान्छ’ उनले भने, ‘आवश्यक सतर्कता पनि अपनाएको छु ।’ मेयर पराजुलीले ३५ भन्दा बढी परिवारलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताए ।

‘मेयरको अक्सिजन राजनीति’

महामारीको समयमा मेयर भीम पराजुलीले अक्सिजनको राजनीति सुरु गरेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल बताउँछन् ।

जनतालाई सहज रुपमा अक्सिजन पुर्याउने संयन्त्र विकास गर्नुको साटो मेयर आफैं अक्सिजन सिलिन्डर बोकेर हिंड्ने गरेको उनले बताए ।

‘मेयरसाबले जनताले सहज रुपमा पाउने गरी संयन्त्रको विकास गर्ने हो, आफैं घर–घर पुगेर फोटो खिच्ने होइन’ उनले भने, ‘मेयरसाबले सस्तो लोकप्रियता खोज्नु भो ।’

मेयरको कामप्रति जनप्रतिनिधि पनि सन्तुष्ट छैनन् । ‘आइसोलेसन बनाउन चासो छैन, घरघर सिलिण्डर बाँडेको फोटो खिच्नु हुन्छ’ एक वडा अध्यक्षले भने, ‘सस्तो लोकप्रियताको राजनीति गर्ने होइन, जनताले सहज रुपमा पाउने गरी मेयरले सिस्टम बसाल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment