२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो ।
बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने ।
एनएसएल अघि भारतीय लिगमा अइजवाल एफसीबाट खेलेकाले अभिषेक अक्सनका लागि लिस्टमा थिएनन् भने एनएसएलका लागि आइकोनिक प्लेअरको रुपमा थिए । तर उनलाई कुनै टिमले अनुबन्ध गरेको थिएन । अभिषेकले भारत र माल्दिभ्सको लिगमा खेलिसकेका छन् ।
आई लिग खेलेका किरण चेम्जोङलाई भने धनगढी एफसीले आइकोनिक प्लेयरको रुपमा अनुबन्ध गरेको थियो ।
एनएसएलमा उत्कृष्ट शुरुवात गरेको बुटवल चार खेल खेल्दा ५ अंकसहित चौथो स्थानमा छ । बुटवलले अब लिगमा ललितपुर सिटी एफसी र धनगढी एफसीसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4