Comments Add Comment
स्थलगत रिपोर्ट :

बिरामी कुरुवा आफैं जोहो गर्छन् जगेडा अक्सिजन सिलिन्डर

२३ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको एचडीयू वार्डको बेड नं ८ का बिरामीलाई अक्सिजन दिएर राखिएको छ । बिरामी कुरुवा युवाले बाहिरबाट अर्को अक्सिजन सिलिण्डर लगेर छेउमै राखेका छन् ।

बिरामीका कुरुवाले आफैं सिलिण्डर गुडाएर लगिरहेको दृश्य नारायणी अस्पतालमा यत्रतत्र देख्न सकिन्छ । यसो गर्नु उनीहरूको बाध्यता हो । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट त परको कुरा, अक्सिजन पाईपलाइन पनि छैन । अधिकांश संक्रमितलाई हाईफ्लो अक्सिजन दिनु परिरहेको छ ।

एउटा सकिने वित्तिकै अर्को तत्कालै फेर्न सकिएन भने बिरामीको मृत्यु हुनसक्छ । अस्पताल बस्दा बस्दा बिरामीका कुरुवा पनि यसबारेमा जानकार भइसकेका छन् । एचडीयू मात्रै हैन, आईसीयू, सर्जिकल वार्डमा पनि संक्रमितका कुरुवाले अक्सिजन सिलिण्डर एक्ट्रा लगेर राखेको देखिन्छ ।

रौतहटको गौर नगरपालिका २ का सन्नी साहले बुवालाई अक्सिजन बिना गाह्रो हुने भएकोले जगेडा अक्सिजन सिलिण्डर राख्नुपरेको बताए । ‘बुवालाई अक्सिजनकै भर छ, हुन त जरुरी पर्दा अस्पतालका कर्मचारीले नै ल्याईदिन्छन्,’ उनले भने, ‘तर कर्मचारी कम छन्, बाहिर अक्सिजन आएको रहेछ, आवश्यक पर्दा नपाइएला भनेर जगेडा ल्याएर राखेको हुँ ।’

उनका अनुसार बुवालाई ज्वरो आएको थियो । घरमै उपचार गर्दा निको भयो । पछि खोकी लाग्न थाल्यो । एक्स–रे गराउँदा छातीमा इन्फेक्सन भएको देखायो । घरमै अक्सिजन लगाएर राखिएको थियो । स्वास्थ्यमा राम्रो सुधार भइरहेको थियो ।

तर छरछिमेकले संक्रमण फैलने डरले अस्पताल लैजान दबाव दिएपछि दुईदिन अघि नारायणी अस्पतालमा भर्ना गरिएको हो । ‘घरमा अक्सिजन लेभल ९२ सम्म थियो, अहिले त झन घटेको छ’, उनले भने ।

आँखै अगाडि अरु संक्रमितको मृत्यु भएको देखेर उनी अत्तालिएका छन् । तर आफूलाई सम्हालेर बुवाको हौसला बढाइरहेका छन् । कतिपय नर्सिङ स्टाफको रुखो व्यवहारले उनलाई नराम्रो लाग्दो रहेछ । ‘बिहान र बेलुका एकएक पटक औषधि लगाउन नर्स आउँछन् । बीचमा बोलाउँदा झर्कन्छन्,’ उनले भने, ‘उनीहरूलाई पनि गाह्रो साह्रो होला, तर हामीसँग झर्केर के हुन्छ ?’

बिरामीका कुरुवा आफैले अक्सिजन सिलन्डिर जोड्ने गर्छन । इर्मजेन्सीमा अक्सिजन सकियो भने काम लाग्छ भनेर एउटा जगेडा राख्छौं’, संक्रमितका आफन्तको तर्क छ ।

सर्लाहीबाट आएका बिरामी कुरुवा अरुण यादव भन्छन्– ‘अस्पतालका स्वास्थ्यकर्मी मरीमरी काम गरिरहेकै छन् । तर पनि के नमिलेको के नमिलेको जस्तो भएको छ । संक्रमितको संख्या बढी छ, स्वास्थ्यकर्मी कम भएर त्यस्तो भएको होला ।’

 

बारा जीतपुरका राजेन्द्र प्रसाद रौनियार अक्सिजनक मास्क फुस्किँदा आफैंले लगाईदिने गरेको बताउँछन् । ‘बिरामीको अवस्था बिग्रँदै गएकोले एचडीयु वार्डमा सारेपछि थोरै राहत भएको छ’, उनले भने ‘भेन्टिलेटर छ, जोड्ने मान्छे हुँदैन ।’

सर्लाहीको रामनगरका अरुण यादव ३३ वर्षीय कोरोना संक्रमित भाइको उपचारका लागि बैशाख ११ गतेदेखि नारायणी अस्पतालमा छन् । ११ दिन अस्पतालमा उभिएरै बिताएको उनी सुनाउँछन् । सुरुमा ज्वरो रुघाखोकी लागेको थियो पीसीआर गराउँदा पोजेटिभ आयो । अहिले उनलाई अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । अस्पतालमा उनलाई अक्सिजन सकिन्छ कि भन्ने मात्रै डर छ । त्यसैमा ध्यान दिएर बस्छन् ।

‘अक्सिजन कै त भर छ । टुटाउनै हुँदैन, ५–७ मिनेट पाएन भने निकै गाह्रो हुन्छ’, उनले भने, ‘त्यसैले एक्ट्रा अक्सिजन सिलिण्डर राखेका छौं । जरुरी पर्दा काम लाग्छ ।’

संक्रमितको संख्या बढिरहे पनि स्वास्थ्यकर्मी र कर्मचारीको संख्या भने थोरै भएका कारण अस्पतालको अवस्था अस्तव्यस्त भएको उनको अनुभव छ ।

‘अस्पतालका स्वास्थ्यकर्मी मरीमरी काम गरिरहेकै छन् । तर पनि के नमिलेको के नमिलेको जस्तो भएको छ, उनले भने, ‘संक्रमितको संख्या बढी छ, स्वास्थ्यकर्मी कम भएर त्यस्तो भएको होला ।’

तर अस्पताल प्रशासन भने अक्सिजन सिलिण्डरको अभाव नहुने भएकाले जगेडा गर्न नपर्ने बताउँछ । पाँच सय सिलिण्डरको जोहो गरिसकेको ९० वटा जति मात्रै प्रयोगमा आउने गरेको दाबी अस्पताल प्रशासनको छ ।

‘संक्रमितले प्रयोग गर्ने ट्वाईलेटमा बत्ति छैन, सार्वजनिक भन्दा खत्तम छ’, एक जना संक्रमितका कुरुवाले नाम उल्लेख नगर्ने शर्तमा भने ।

एचडीयु र आईसीयू वार्डमा संक्रमित र कुरुवाले प्रयोग गर्ने शौचालय एउटै हो । स्टाफका लागि मात्रै छुट्टै छ । १७ बेडको एचडीयु र ९ बेडको आईसीयू संक्रमितले भरिएका छन् ।

संक्रमितसँगै एकजना कुरुवा पनि छन् । सरसफाईका लागि आग्रह गर्दागर्दा हैरान भईसकेको संक्रमितका कुरुवाहरू बताउँछन् ।

आईसोलेसन वार्डको नर्सिङ इन्चार्ज स्टाफ नर्स अहेमा थापा भने बिरामी र कुरुवालाई जथाभावी फोहोर नगर्न आग्रह गर्दै थिइन् । त्यतिकैमा उनलाई कसैको फोन आयो ।

‘बिरामी कहाँ छ डाक्टर साहेब ?’ सायद कुनै चिकित्सकको फोन थियो । ‘आईसीयू निड भएकालाई मात्रै राख्ने हो । अक्सिजन स्याचुरेसन मेन्टेन छ भने ठिकै छ त, क्रिटिकललाई नै आईसीयू÷एचडीयूमा राख्ने हो’, फोनबाट बिरामीलाई आईसीयू वा एचडियुमा राख्न दबाव आएको स्पष्टै बुझिन्थ्यो ।

०००

‘१० दिनदेखि सँगै छु । छाती दुख्यो मात्रै भनेको छ । सुधार भईरहेको छैन’, आइसोलेसन वार्डको एउटा कुनामा संक्रमितका एक जना आफन्त भिडियो कलमा रुँदै कुरा गर्दै थिए ।

अस्पतालमा रुने, कराउने, आक्रोस पोक्ने, गुनासो गर्ने मात्रै छैनन् । बिरामीको अवस्थामा सुधार आएको देखेर खुशी भएका पनि भेटिन्छन् । तीन दिनअघि आमालाई आईसीयूमा सारेको अहिले धेरै राम्रो भएको बताउँछन पर्साको डकैला बहुअरीका हरिनारायण रौनियार ।

५० वर्षीया आमा मोटरसाईकलको पछाडि बसेर अस्पताल आएकी थिइन् । तर पछि स्वास्थ्य अवस्था विग्रँदै गयो । दुई दिन निजी अस्पतालमा राखेपछि नारायणीको आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था आयो । उपचारपछि अवस्था सुधारउन्मुख देखेर उनी खुशी छन् ।

बारा जीतपुरका ४० वर्षीया महिला ६ दिनदेखि अस्पतालमा उपचाररत छिन् । सामान्य अक्सिजनबाट भेन्टिलेटरमा पुगिसकेको अवस्था छ । अस्पतालमा भएको उपचारलाई लिएर उनको छोरासँग कुनै गुनासो छैन । ९ बेडको आईसीयूमा संक्रमित भरिभराउ छन् । सबैभन्दा शान्त वार्ड त्यहि देखिन्छ ।

अस्पतालमा रुने, कराउने, आक्रोस पोक्ने, गुनासो गर्ने मात्रै छैनन् । बिरामीको अवस्थामा सुधार आएकोमा खुशी हुनेहरू पनि भेटिन्छन् । तीन दिनअघि आमालाई आईसीयूमा सारेको अहिले धेरै राम्रो भएकोमा खुशी छन् पर्सा डकैलाका हरिनारायण रौनियार ।

नारायणी अस्पतालमा कोभिड संक्रमितका लागि ११२ बेड छुट्याईएको छ । जसमध्ये ८ बेड स्वास्थ्यकर्मीका लागि छुट्याईएको छ । चैत १५ गतेदेखि कोभिड सेवा शुरु गरेको नारायणीले २२१ जना संक्रमितलाई भर्ना लिइसकेको छ ।

अक्सिजन चाहिने खालका संक्रमितको मात्रै उपचार नारायणीमा भइरहेको छ । जसमध्ये १०० जना डिस्चार्ज भएका छन् । ३२ जनाको मृत्यु भएको छ । भने ९ जनालाई अन्यत्र रिफर गरिएको छ । बुधबार साँझसम्म ८० जना संक्रमित उपचाररत छन् ।

अस्पतालका डाक्टर एनामुल हक कोभिड संक्रमितको उपचारमा जनशक्ति नपुगेको गुनासो गर्छन । ‘चाहेर पनि व्यवस्थित गर्न सकिरहेका छैनौं, किनकि हामीसँग सिमित जनशक्ति छ । जनशक्ति पुगिरहेको छैन’, उनले भने, ‘राति १ बजेपनि बेडका लागि फोन आउँछ, अझै ७० बेड थप्ने तयारीमा छौं, तर मेडिकल डाक्टर, नर्सहरूको अभाव छ ।’

०००

ज्वरो आएर छाती दुखेको छ । पीसीआर गर्ने कि के गर्ने डाक्साब ? इन्जेक्सन लगाउने वित्तिकै उसलाई बेचैनी भयो । के गर्ने डाक्टर साहेब ? डाक्टर सरोज रोशन दासलाई देख्ने वित्तिकै प्रश्नको ओईरो लाग्यो । कालो भेष्ट र पाईन्टमा तीनवटा मास्क लगाएर अस्पताल पुगेका उनी निकै बेस्त छन् ।

अस्पतालमा कोभिड संयोजकको जिम्मेवारी पाएदेखि उनी निरन्तर खटिरहेका छन् । अत्यावश्यक समयमा उनी पीपीई समेत नलगाई बिरामीको उपचारका लागि अघि सर्छन् ।

‘मान्छेको मृत्यु नभएको दिन एकदमै खुशी लाग्छ’, उनले भने, ‘बेड भरिए भरियोस, तर मान्छे नमरोस भन्ने लाग्छ, तर के गर्ने ?…’

उनका अनुसार आउने बिरामी सबै सिरियस अवस्थामा आइरहेका छन् । अक्सिजन चाहिने मात्रै आईरहेका छन् । सास फेर्न अप्ठेरो भयो भनेर आउँछन्, अक्सिजन स्याचुरेसन ३० देखि ५० सम्म हुन्छ । हाई फ्लो अक्सिजनमा राख्दा पनि अक्सिजन मेन्टेन हुँदैन । अनि भेन्टिलेटरमा राख्छौं । १७ वटा भेन्टिलेटर छ, जसलाई आवश्यक छ, प्रयोग गरिरहेका छौं । सुधार पनि भइरहेको छ ।

अन्तिम अवस्थामा पुगेका संक्रमितलाई इन्भेजिभ भेन्टिलेटरमा राख्दा गाह्रो भइरहेको उनले सुनाए । शुरुको फेजमा आएकालाई सुधार भएर नर्मल अक्सिजनमा राख्दा हुने भएको छ ।

दीर्घ रोग नभएका, युवा अवस्थाका मानिसलाई समेत गाह्रो भइरहेको छ । प्रेसर, सुगर, मुटु, दमको रोग भएका एकदमै कम छन् । आउनेहरू समुदायमै कोरोना पोजेटिभ भएर आइरहेका छन्, त्यसैले उनको अनुमान छ अब त समुदाय मै संक्रमण फैलिसकेको छ ।

‘बिरामीका कुरुवालाई नछिर्नुस, संक्रमणको जोखिम हुन्छ भनेर हामी हेर्छौ, भन्दा निहुँ खोज्ने झगडा गर्ने गर्छन् । त्यसैले एक जना कुरुवालाई जान दिएका छौं’, डाक्टर दास भन्छन्, ‘कतिपय नर्मल बिरामीहरू आउँछन्, जसलाई होम आइसोलेसनमै बसेर उपचार गर्दा हुन्छ । डरले पनि होला र जीद्धि गरेर घर जान मान्दैनन् ।’

अभावमा दबाब

बाहिर पानी परिरहेको थियो, दिउँसो १ बजे डाक्टर सरोज रोशन दास हस्याँङ फस्याङ गर्दै आईसोलेसन वार्डमा उक्लिए । पर्साको कुनै एक पार्टीको जिल्ला अध्यक्षको फोन आएको रहेछ, उनले उठाएनछन् । मेसु सञ्जय ठाकुरले फोन गरेर गम्भिर बिरामी आईरहेकोले हेरिदिन आग्रह गरेछन् ।

‘खै कुन नेताको फोन आएको रहेछ, मैले उठाउन पाईन, मेसु सरले फोन गरेर भन्नुभयो । सिरियस बिरामी ल्याउँदैछन्’, उनले भने ।

नभन्दै एकैछिनमा एक हुल मानिस स्टेचरमा बिरामी लिएर आइपुगे । पर्साको बहुदरमाई नगरपालिका ५ विश्रामपुरकी ४५ वर्षीया कौशिल्यादेवीलाई गाह्रो भएको रहेछ । बैशाख २० गतेदेखि गण्डक अस्पतालमा उपचाररत उनको स्वास प्रश्वासमा समस्या देखियो । निकै गाह्रो भएपछि ‘सोर्स फोर्स’ लगाएर नारायणी अस्पतालमा भर्ना गरिएको रहेछ ।

‘घरमा दुईवटा विवाह समारोह थियो, त्यसपछि उहाँ बिरामी हुनुभएको हो’, बिरामी ल्याउनेमध्ये एक जनाले भने, ‘गएराति १२ बजेबाट अवस्था बिग्रियो, अक्सिजन लेभल ४५ भन्दा कम देखाउन थाल्यो ।’

उनलाई सिधै एचडीयू वार्डमा लगियो, नर्सले हतार हतार पीपीई लगाईन । डाक्टर दासले पीपीई लगाउन समेत भ्याएनन् । फेस सिल्ड मात्रै लगाएर उनी बिरामी भएको ठाउँमा गए । दुवै मिलेर सिप्याप मेसिनबाट अक्सिजन दिए । अक्सिजन लेभल ८० भन्दा माथि देखायो । अब सुधार हुन्छ भनेर उनी बाहिर निस्किए ।

गेटमै नर्स सुभद्रा चौधरी आईपुगिन । डाक्टर साप सर्जिकल वार्डमा एक जना कोरोना संक्रमितको अवस्था बिग्रियो । उनीसँगै डक्टर उता लागे । उनी बाराको महागढीमाई नगरपालिका २ बरियारपुरका ५२ वर्षीय पुरुष थिए । त्यतिखेर डाक्टरले थामथुम पारेपनि पछि उनको मृत्यु भएको खबर आयो ।

०००

दिउँसो साढे १ बजे, ग्रामिण अनुसन्धान तथा विकास संस्था हरिपुर्वा सर्लाही लेखिएको ज १ च १२ ४० नम्बरको एम्बुलेन्स अस्पतालको इर्मजेन्सी वार्ड अगाडी गेटमै रोकिएको थियो । अस्पतालको इर्मजेन्सीमा पनि अहिले कोरोना संक्रमितको उपचार हुन्छ । त्यहाँ ३८ वटा बेड लगाईएको छ ।

अलि कम जोखिममा रहेका संक्रमितलाई त्यहि वार्डमा राखिन्छ । गाह्रो भएपछि एचडीयु, आईसीयूवार्डमा सार्नुपर्ने हुन्छ । एम्बुलेन्सले बाटो छेकेको भन्दै अरु संक्रमितका कुरुवा रिसाउँदै थिए । एम्बुलेन्स चालक जितेश यादव के गर्ने के नगर्ने अलमलमा थिए । वीरगञ्जका विभिन्न निजी अस्पताल डुलाउँदा पीसीआर रिपोर्ट मागेपछि नेता मार्फत फोन गराएर उनलाई त्यहाँ लगिएको रहेछ ।

लालबन्दीबाट रिफर गरेर पठाएका ८४ वर्षीय वृद्धको मृत्यु भईसकेको रहेछ । ‘अघिसम्म सास चल्दैथियो, अस्पतालमा छिर्ने वित्तिकै बन्द भयो । यहाँ कोहि हेर्न मानिरहेका छैनन्’, उनले भने, ‘ज्युँदै छन् कि मरिसके भनेर भनिदिए पनि त हुन्थ्यो ।’

छोरा चन्द्रिका सिंह पनि अलमलिए छन् । एम्बुलेन्सबाट मान्छे उतार्नु अघि पीसीआरका लागि पुर्जी कटाउ पुगेछन् । ‘स्वासप्रस्वासको समस्या थियो, लालबन्दीले आइसोलेसन भएको ठाउँमा जानुस भनेको थियो’, उनले भने, ‘वीरगञ्जका निजी अस्पतालले पीसीआर चाहिन्छ भने एक घण्टा डुलाउँदा भर्ना गराउन सकिएन, सास त चल्दै थियो, नारायणीमा ल्याइ त पुर्याइयो, सास बन्द भएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment