Comments Add Comment
सुदूरपश्चिममा कोरोना संक्रमण नियन्त्रण बाहिर :

अस्पताल भरिभराउ, अक्सिजन लिइरहेका बिरामी पनि आँगनमै

२३, वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न थालिएको छ ।

‘बिरामीहरुलाई इमर्जेन्सी वार्ड, ग्यालरी र अस्पताल परिसरमा समेत राखेर उपचार गरिरहेका छौं,’ सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज सिनियर अहेब भरत खातीले अनलाइनखबरसँग भने, ‘कोभिड अस्पतालबाहेक ३९ जना बिरामी छन् । सबैलाई अक्सिजन सपोर्टमा राखेका छौं । उनीहरुमध्ये ५/७ जनाको रिपोर्ट आउन बाँकी छ, अरु सबै संक्रमित हुन् ।’

स्थिति नियन्त्रण बाहिर गइसक्यो

सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे अवस्था नियन्त्रण बाहिर गइसकेको बताउँछन् । यद्यपि स्रोत साधनको अभावका बीच स्वास्थ्यकर्मीले संक्रमितको ज्यान जोगाउने कोसिस गरिरहेको उनले बताए ।

‘स्थिति नियन्त्रण बाहिर गइसक्यो । अहिले भुईंमै राखेर भएपनि अक्सिजन दिनु ठूलो कुरा भएको छ,’ मेसु पाण्डेले अनलाइनखबरसँग भने, ‘भारतमा जस्तै सयौं विस्तरा राखेर अक्सिजन दिएर मानिसहरुको ज्यान जोगाउनुपर्‍यो ।’

तर अक्सिजन आपूर्तिमै समस्या देखिएको छ । अस्पतालले मालिका ग्यास उद्योगसँग अक्सिजन आपू्र्तिका लागि सम्झौता गरेको थियो । । ‘उद्योगकै प्रस्तावअनुसार दैनिक सय वटा सिलिन्डर उपलब्ध गराउने सम्झौता भएको थियो,’ प्रमुख मेसु पाण्डेले भने, ‘तर दैनिक ३०/३२ वटा सिलिन्डर मात्र दिइरहेको छ ।’

संक्रमितहरुलाई राख्ने ठाउँ नभएपछि अस्पतालको आँगनमा अस्थायी टेन्ट गाडिएको छ । अस्पताल प्रशासनको आग्रहमा नेपाली सेनाले बिहीबार अस्थायी टेन्ट बनाएको हो, जहाँ अस्पताल आउने विरामीको प्रारम्भिक चेकजाँच हुन्छ ।

मेसु पाण्डे भन्छन्, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने बिरामीलाई इमर्जेन्सी वार्डमा पठाउँछौँ । अन्य बिरामीको ओपीडी नजिकै उपचार गर्ने व्यवस्था मिलाउदैछौं ।’

महाकालीको अवस्था फरक छैन

कञ्चनपुरको महाकाली अस्पतालको अवस्था पनि उस्तै छ । त्यहाँ पनि सेती अस्पतालमा जस्तै संक्रमितलाई भुईंमै राखेर उपचार गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

त्यसमाथि अक्सिजनको अभाव पनि छ । कोभिड- १९ फोकल पर्सनसमेत रहेका डा. गोविन्द रोकाया भन्छन्, ‘जनशक्ति जसोतसो व्यवस्थापन गरिरहेकै छौं । अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने अवस्था आइसक्यो ।’

डा. रोकायाका अनुसार अस्पतालमा अहिले ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैलाई अक्सिजन सपोर्ट दिइएको छ । इमर्जेन्सी वार्ड र अस्पतालको ग्यालरीमा १५ जना शंकास्पद संक्रमितको उपचार भइरहेको छ । उनीहरुलाई पनि अक्सिजन सपोर्ट दिनुपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment