+
+
Shares
कोरोना महामारीः विगत एक महीनाको विश्लेषण :

दक्षिण एशिया वर्तमान प्यान्डेमिकको केन्द्र, नेपाल विश्वकै उच्च जोखिम मध्ये एक

डा. प्रबीण श्रेष्ठ डा. प्रबीण श्रेष्ठ
२०७८ वैशाख २४ गते १५:०३

कोरोना प्यान्डेमिकले विश्वलाई उथलपुथल बनाइराखेको बेला दक्षिण एशिया र नेपाल पनि अछुतो रहनसक्ने सम्भावना नै भएन । करीब एक डेढ महीना मात्रै अगाडिसम्म पनि नेपाल कोरोना संक्रमणको हिसाबले शान्त भूमि थियो । प्यान्डेमिकको पहिलो लहरबाट यो भूमि करीब-करीब तङ्ग्रिसकेको थियो । विश्वमा कोरोना प्यान्डेमिकले आतंक मच्चाई नै रहेको बेला नेपाल झन्डै कोरोनामुक्त भइसकेको थियो र त्यतिबेला नेपालले पहिलो लहरबाट प्रशस्त अनुभव र शिक्षा हासिल गरी भविष्यमा फेरि कोरोनाले दुःख नदेओस् भनी यथेष्ट योजना र नीति तयार गरी कार्यान्वयन पनि गर्न सक्दथ्यो । तर त्यसो गर्न सकेन र नतिजा हाल हामी सबैले भोगिरहेका छौं ।

भनिन्छ, राम्रो कामको लागि कहिल्यै ढिलो हुँदैन । अझै पनि भविष्यमा कोरोना प्यान्डेमिकको कैयौं लहर आउन बाँकी नै छ होला, त्यसको रोकथामको लागि पनि अहिल्यैबाट शिक्षा लिन सके राम्रो हुनेथियो । शिक्षा लिनु र सिक्नु सरकारको मात्रै काम होइन, सारा नागरिकले कोरोनाको पाठ सिक्नु जरूरी देखिन्छ । त्यसको लागि एकपटक हामीले पछाडि फर्केर प्यान्डेमिकलाई नजिकबाट नियालेर हेर्नु जरूरी हुन्छ । धेरै पछाडि फर्केर हेर्नु यस सानो लेखको सीमाभित्र नपर्ने हुनाले विगत एक महीनामा दक्षिणएशिया र नेपालमा कोरोनाले कस्तो तहल्का मच्चायो विश्लेषण गरी हेरौं :

यस लेखमा उद्धृत गरिएका तथ्यांकहरू विभिन्न स्रोतहरूबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्ल्यूएचओ, वल्र्डोमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (सीडीएमसी) आदि । यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठक वर्गसमक्ष पुर्‍याउनु हो ।

मार्च महीनाको अन्त्यसम्म नेपालमा करीब दैनिक डेढ सय जति मात्रै नयाँ संक्रमण देखा परिरहेको बेला छिमेकी राष्ट्र भारतमा प्यान्डेमिकको दोस्रो लहरको मूल फुटिसकेको थियो जतिबेला त्यहाँ दैनिक करीब १५ हजार नयाँ संक्रमण देखा परिसकेको थियो । त्यसै ताका भारतमा कोरोनाभाइरसको नयाँ प्रजाति बी१६१७ नामक डबल म्युटेन्ट भेरियन्टको उदय भई दक्षिणएशियामा फैलिसकेको थियो । त्यति नै बेला अविलम्ब नेपाल भारत बीचका सबै नाका बन्द गरी स्वदेश फर्किने सबै नेपालीलाई सुरक्षित अवतरण गराउनुपर्दथ्यो । राजनीतिक रूपमा नाका बन्द गर्नु त्यति सजिलो थिएन होला तर स्मरण रहोस् चीनको वुहानमा सन् २०२० को शुरुआतीमा कोरोना संक्रमणको पहिलो लहर शुरु भएको बेला उत्तरकोरियाले चीनसँगको एउटा मात्र नाका खुल्ला गरी बाँकी सबै बन्द गरेको थियो ।

चित्र नं. १ ले दक्षिणएशियाको दैनिक कुल कोरोना संक्रमण र कुल कोरोना मृत्यु देखाएको छ जुन अप्रिल १ देखि ३० सम्म निरन्तर तीव्र गतिमा बढिरह्यो र हाल पनि यो क्रम जारी छ । अप्रिल महीनाभरि दैनिक संक्रमण वृद्धिदर करीब औसतमा ९–१० प्रतिशतसम्म रह्यो जुन १ प्रतिशत या त्योभन्दा कम भएको राम्रो हो । दैनिक संक्रमणसँगै दैनिक मृत्यु पनि समानान्तर हिसाबले बढ्दै गएको देखिन्छ जसको वृद्धिदर पनि लगभग दैनिक संक्रमणको जत्ति नै देखिन्छ ।

एक महीनाको अन्तरालमा दैनिक संक्रमण करीब चार गुणा बढ्नु र दैनिक मृत्यु पाँच गुणा बढ्नु कोरोना प्यान्डेमिकको इतिहासमा नयाँ कीर्तिमान हो । मार्च महीनासम्म सामान्य अवस्थामा रहेको यो क्षेत्र अप्रिलको अन्त्यसम्म आइपुग्दा विश्वमै प्यान्डेमिकको केन्द्रबिन्दु बन्यो । स्मरण रहोस् यस क्षेत्रमा प्यान्डेमिकको पहिलो लहरभन्दा वर्तमान दोस्रो लहर चार गुणाले ठूलो भइसकेको छ र विश्वकै दैनिक कुल नयाँ संक्रमणको करीब आधा यहीं देखिने गरेको छ । त्यसमध्ये ९५ प्रतिशतभन्दा धेरै भारतमा मात्रै रहेको छ ।

दक्षिणएशिया प्यान्डेमिकको केन्द्र बन्दै गएको कुरा भूटान र माल्दिभ्सले पनि पुष्टि गर्दछ । फेब्रुअरी र मार्च महीनाताका दैनिक संक्रमण शून्यप्रायः देखिएको भूटानमा हाल दैनिक दर्जनभन्दा धेरै नयाँ संक्रमण देखिन थालेको छ भने माल्दिभ्स जनसंख्याको हिसाबले निकै सानो देश भए तापनि दैनिक संक्रमण निरन्तर बढ्दै गई पछिल्लो समय हरेक दिन नयाँ कीर्तिमान बन्दै गएको छ ।

प्यान्डेमिकका विभिन्न मापदण्डमध्ये एक हो संक्रमण दर या पोजिटिभिटी जसले प्रति १०० परीक्षण गरिएका मध्ये कतिमा नतिजा पोजिटिभ आयो भन्ने देखाउँछ । पोजिटिभिटी परीक्षणको दैनिक मात्रा, परीक्षणको लक्षित वर्ग, कन्ट्रयाक्ट ट्रेसिंग आदिमा भर पर्दछ र यो जति धेरै भयो उति प्यान्डेमिक बढ्दै गएको संकेत गर्दछ ।

डब्ल्यूएचओको गाइड लाइन अर्थात् निर्देशिका अनुसार पोजिटिभिटी ५ प्रतिशत भन्दा धेरै भएमा प्यान्डेमिक अनियन्त्रित भएको मानिन्छ र त्यसै अनुरूप यसको नियन्त्रणका सम्पूर्ण उपायहरू तत्काल शुरु गर्नु पर्दछ । चित्र नं. २ ले दक्षिण एशियाली देशहरूको अप्रिल महीनाको शुरुदेखि अन्त्यसम्मको दैनिक पोजिटिभिटी (जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाद्वारा साप्ताहिक औसतको रूपमा हिसाब गरिएको) देखाएको छ । चित्रमा देखाइए जस्तै सबै देशहरूको पोजिटिभिटी पछिल्लो समय बढ्दै गएको छ भने नेपालको पोजिटिभिटीको गति अन्यको भन्दा निकै तीव्र भई दक्षिणएशियामा सबैभन्दा उच्च बन्न पुग्यो ।

तुलनाको लागि, अप्रिलको अन्त्यसम्म अमेरिकाको पोजिटिभिटी करीब ८ प्रतिशत, जापानको ७ प्रतिशत र बेलायतको ०.२ प्रतिशत थियो भने विश्वकै उच्च इक्वाडोरको पोजिटिभिटी ४२ प्रतिशत थियो । यसबाट विश्व मानचित्रमा पछिल्लो समयमा प्यान्डेमिकको अवस्था दक्षिण एशिया र नेपालमा कस्तो हुँदै गएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

चित्र नं. ३ ले अप्रिल महीनाभरि नेपालको दैनिक परीक्षण, दैनिक नयाँ संक्रमण र नयाँ मृत्यु देखाएको छ । अप्रिल महीनाको पूर्वाद्र्धसम्म दैनिक परीक्षण अति कम गरिएको थियो र दैनिक संक्रमण र मृत्यु पनि सामान्य जत्तिकै थियो । तत्पश्चात दैनिक संक्रमण र मृत्यु तीव्र गतिमा बढ्न थाल्यो र त्यसै अनुरूप नेपाल सरकारले पनि दैनिक परीक्षणमा क्रमशः वृद्धि गर्दै लगेको देखिन्छ । यसरी नेपालमा दैनिक नयाँ संक्रमण बढ्दै जाने क्रममा काठमाडौं उपत्यका भित्र र बाहिर सबै ठाउँमा संक्रमण बढेको देखिन्छ । मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लाहरूमा जहाँ नयाँ संक्रमण फाट्टफुट्ट मात्रै देखिन्थे ती ठाउँहरूमा पनि पछिल्लो समय प्रशस्त सक्रिय संक्रमितहरू देखा परिरहेका छन् ।

नेपालमा प्यान्डेमिकको पहिलो लहर जुन गत वर्ष असोज कात्तिकमा देखा परेको थियो त्यतिबेला अधिकांश कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र थिए । वर्तमान अवस्थामा नेपालमा कोरोना संक्रमण काठमाडौं उपत्यका भित्र र बाहिर कुन अनुपातमा बढेको छ चित्र नं.४ ले देखाएको छ ।

चित्रमा देखाइए जस्तै अप्रिल महीनाको उत्तरार्धमा काठमाडौं भित्र र बाहिर एक्कासी दैनिक संक्रमणमा निकै वृद्धि हुँदै गयो । तर यस पटक काठमाडौंभित्र भन्दा बाहिरको अनुपात ठूलो देखियो । पहिलो लहरको बेला देशको जम्मा दैनिक संक्रमणमध्ये ६०–७० प्रतिशत काठमाडौं उपत्यका भित्र देखिन्थे भने हाल औसतमा ५५ प्रतिशत जति काठमाडौं उपत्यका बाहिर र करीब ४५ प्रतिशत मात्र भित्र देखिएको छ । त्यसमा पनि छिमेकी राष्ट्र भारतको सीमा नजिक रहेका जिल्लाहरू कैलाली, बाँके, रूपन्देही, बारा, पर्सा, मोरङ आदि जिल्लाहरूमा अत्यधिक नयाँ संक्रमण देखा पर्न थाले ।

नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालको दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी अप्रिल महीनाभरि कसरी वृद्धि हुँदै गयो चित्र नं.५ ले देखाएको छ । अप्रिल महीनाको शुरुआतदेखि नै नेपालको दैनिक पोजिटिभिटी ५ प्रतिशत नाघ्न शुरू गरेको देखिन्छ जुन बेलादेखि प्यान्डेमिक नियन्त्रणका उपायहरू कडाइका साथ लागू गर्नुपर्दथ्यो र अप्रिल महीनाको अन्त्यतिर आइपुग्दा यो दर झन्डै ४० प्रतिशतसम्म पुगिसकेको थियो ।

त्यतिबेलासम्म पनि नेपालमा प्यान्डेमिक नियन्त्रणको लागि न नेपाल सरकार न नेपाली जनताले नै विशेष प्रयास गरेको देखिन्छ । यो जनचेतनाको अभाव र हेलचेक्र्याइँको पराकाष्ठा हो । चित्र नं. २ मा देखाइए जस्तै अप्रिलको शुरुआतीतिर बंगलादेशमा जब पोजिटिभिटी २०५ नाघ्यो त्यतिबेला लकडाउन शुरू गरियो र करीब तीन हप्तामा प्यान्डेमिक केही नियन्त्रणमा आयो । यद्यपि त्यहाँ पनि लकडाउन र अन्य उपाय धेरै ढिलो शुरू गरेको थियो भने र हाल पनि त्यहाँ संक्रमण दर १२ प्रतिशतभन्दा धेरै छ जुन उच्च हो ।

पछिल्लो समय दक्षिणएशिया कोरोना प्यान्डेमिकको केन्द्र बनिरहेको अवस्थामा नेपाल यस क्षेत्रमा मात्रै होइन विश्वमै दैनिक पोजिटिभिटी अति उच्च भएको स्थितिमा पुगिसकेको छ । यो हामी सबैको लागि चिन्ता र गम्भीर संकटको विषय बनिसकेको छ । विगतको अनुभव र विश्वको अन्यत्रबाट पाठ सिक्न नसक्नु हाम्रो ठूलो कमजोरी र भूल भएको छ । हाल नेपालमा अस्पतालहरूमा कोरोना उपचारको लागि ठाउँ पाउन निकै गाह्रो भइसकेको अवस्था छ । अक्सिजन र अन्य औषधिको अभावको समाचार नयाँ हुन छाडेको छ ।

स्वास्थ्यकर्मीहरू दिनरात उपचारमा लागेका छन् भने कति त आफैंलाई कोरोना लागी–लागी पनि अस्पतालमै कार्यरत छन् । यस्तो बेला सम्बन्धित सबैले धैर्य धारण गरी स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गर्नु पनि आवश्यक देखिन्छ । तर अझै हामीले गर्नुपर्ने र गर्न सक्ने कुरा धेरै छन् । लकडाउनको पूर्ण पालना गरी घरै बसी शारीरिक र मानसिक व्यायाम गरे हामी सजिलै कोरोनाबाट बच्न सक्दछौं ।

कोरोना संक्रमण भइहालेमा पनि नियमित सामान्य अनुशासनको पालना गरे ८५ प्रतिशत भन्दा धेरै मानिसलाई यसले केही दुःख दिंदैन । बाँकी १५ प्रतिशतमध्ये १० प्रतिशतले अस्पताल र औषधिको सहयोगले सहजै यसबाट मुक्ति पाउन सक्दछ । करीब २–५ प्रतिशतलाई कडा कोभिड लाग्न सक्दछ भने नेपालको हालको कोरोना मृत्यु दर अनुसार करीब १ प्रतिशतले यसैको कारणले ज्यान पनि गुमाउन सक्दछ ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एकपटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ । प्यान्डेमिकको पहिलो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एकपटक व्यावहारिक रूपमा नेपाल सरकार र नेपाली जनताले लागू गर्ने पर्ने बेला आएको छ । विशेषगरी हाल नेपाल र छिमेकी राष्ट्रहरूमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले नेपालले कोरोना प्यान्डेमिकलाई नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आयातित हुनबाट रोक्न सम्पूर्ण प्रयास गर्नुपर्ने देखिन्छ ।
नेपाली जनताले पनि प्यान्डेमिकको पछिल्लो यथार्थ बुझी आफ्नो तर्फबाट गर्न सक्ने होशियारी तथा सतर्कता हरपल यथाशक्य पालना गर्नुपर्दछ र हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुराहरू कडाइका साथ अपनाउनुपर्ने देखिन्छ ।

यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ र यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो । जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ ।

(डा.श्रेष्ठ बी एण्ड बी अस्पतालका प्रमुख कन्सल्टेन्ट न्यूरोसर्जन हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?