Comments Add Comment

पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु

२४ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जका दुईवटा अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३ जना र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणको दोस्रो लहरबाट पर्सामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । अन्य जिल्लाबाट उपचारका लागि पर्सा आएका थप १९ जनाको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा वीरगञ्ज– ११ का ५४ वर्षीय, कालिकामाई–२ का ५५ वर्षीय र वीरगञ्ज– ११ कै ५४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज– ११ का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । स्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार नारायणी अस्पतालमा लगिएको थियो । नारायणी अस्पतालमा एन्टीजीन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा भेन्टिलेटर नभएका कारण वीरगञ्ज हेल्थ केयरमा रिफर गरिएको शुक्रबार बिहान उनको मृत्यु भएको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

कालिकामाइका पुरुष वैशाख २२ गते उपचारका लागि हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए । बिहीबार गरिएको एन्टीजीन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार बिहान ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज– ११ कै अर्का पुरुष वैशाख १८ गतेदेखि नै हेल्थ केयरमा उपचाररत थिए । सोही दिन पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार साँझ ६ः१० मा उनको मृत्यु भएको थियो ।

त्यसैगरी नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा वीरगञ्ज– ५ का ७९ वर्षीया महिला, पर्साको बहुदरमाईका ४० वर्षीय र वीरगञ्ज– २८ बगहीका वर्षीय पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज– ५ कि महिलाको स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गराउँदा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट झनै गाह्रो भएपछि बाबा होटल कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ११ बजे मृत्यु भएको कोरोना अस्पतालले जनाएको छ ।

बहुदरमाईका ४० वर्षीय पुरुषमा बैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनी होम आइसोलेसन वैशाख १९ गते स्वास्थ्यमा समस्या आएपछि कोरोना अस्पताल भर्ना भएका थिए । बिहीबार साँझ ५ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज–२८ का ६१ वर्षीय पुरुष बिहीबार नै बाबा होटल कोरोना अस्पतालमा भर्ना भएका थिए । सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा बेलुका साढे ६ बजे उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment