Comments Add Comment

लकडाउनको मारमा सिरियल

काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणदर र मृत्युदर निरन्तर बढ्दो छ । यस्तो अवस्थामा निषेधाज्ञा फेरि थपिने अनुमान अधिकांशले लगाएका छन् । कोरोनाको दोश्रो लहरका कारण नेपाली मनोरञ्जन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।

निषेधाज्ञाको मारमा प्रशारण भैरहेका टेलिसिरियलहरु पनि परेका छन् । केही टेलिसिरियलको अझ केही भाग ‘स्टक’मा रहेपनि केही टेलिसिरियलको खिचिएको भाग प्रशारण भएर सकिएको छ । अब के प्रशारण गर्ने भन्ने अन्यौलमा यसका मेकरहरु देखिन्छन् । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ गत सातासम्म नयाँ भाग प्रशारण भएको थियो । यो साताका लागि प्रशारण गर्ने नयाँ भाग तयार छैन ।

सिरियलका लेखक, निर्देशक तथा कलाकारसमेत रहेका कुमार कट्टेल भन्छन्– ‘अहिलेको विषम अवस्थामा छायांकन गर्न गाह्रो छ । यो साताबाट पुरानो भाग दोहो¥याउने सोचमा छौं ।’

‘सक्किगोनि’ हिमालय टेलिभिजनमा हरेक बिहीबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ । अर्को हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ भने केही भाग ‘स्टक’ रहेको छ । निर्देशक दमन रुपाखेती अझै तीन साताका लागि पुग्ने भाग तयार रहेको बताउँछन् । उनले भने–‘तत्कालका लागि समस्या छैन । निषेधाज्ञा लम्बिदै गयो भने समस्या आउनसक्छ ।’ ‘मेरी बास्सै’ नेपाल टेलिभिजनमा हरेक बुधबार साँझ ८ः४५ बजे प्रशारण हुँदै आएको छ ।

सामाजिक विषयवस्तुमाथि निर्माण हुँदै आएको टेलिसियिरल ‘जुठे’पनि केही भाग ‘स्टक’मा छ । ‘हामीले गाउँमा खिच्नुपर्ने भएर ५–६ भाग एकैपटक खिच्छौं । निषेधाज्ञा हुनुअघि केही भाग खिचेका थियौं’ सिरियलका लेखक तथा निर्देशकमध्येका एक मरिचमान श्रेष्ठ भन्छन्–‘हामीलाई जेठभरीका लागि समस्या हुँदैन ।’ ‘जुठे’ हिमालय टेलिभिजनमा हरेक बुधबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ । यसलाई मरिचमान र राजु पौडेलले लेखन तथा निर्देशन गर्दै आएका छन् ।

यी दुई जनाकै लेखन तथा निर्देशन रहेको अर्को हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ भने एक भाग मात्र ‘स्टक’ रहेको मरिचमानले बताए । ‘हल्का रमाईलो’ नेपाल टेलिभिजनमा हरेक आईतबार प्रशारण हुँदै आएको छ ।

‘आज आइतबारको भाग तयार छ’ मरिचमानले भने– ‘प्रशारण रोक्ने सोचमा त छैनौं । अर्को साताको लागि के गर्ने छलफल गर्दैछौ ।’ हाँस्य टेलिसिरियल ‘भद्रगोल’को पनि बाँकी भाग स्टकमा छैन् । गत शुक्रबारसम्म नयाँ भाग प्रशारण गरिरहेको निर्माण टिम आउँदो शुक्रबारदेखि के गर्ने भन्ने अन्यौलमा छ । ‘भद्रगोल’ नेपाल टेलिभिजनमा शुक्रबार साँझ ८ः४५ बजे प्रशारण हुँदै आएको छ ।

टेलिसिरियल ‘अति भो’को पनि नयाँ भाग प्रशारण भएर गत शनिबार नै सकिएको छ । हिजो शनिबार टेलिसिरियलको विगतका भागका राम्रा–राम्रा क्लिपहरु जोडेर प्रशारण गरिएको थियो ।

निषेधाज्ञा लम्बिँदै गए आगामी शनिबार पनि पुराना क्लिपहरु जाडेर प्रशारण गर्ने सोचमा आफूहरु रहेको निर्देशक सुरज खनालले बताए । यो सिरियल एनटिभी प्लसमा हरेक शनिबार साँझ ९ बजे प्रशारण हुँदै आएको छ ।

लकडाउन लम्बिदै गएको खण्डमा दर्शकले लोकप्रिय हाँस्य सिरियलका पुरानै भागहरु हेर्नुपर्ने वाध्यता देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment