Comments Add Comment

निषेधाज्ञाबाट प्रभावितलाई नि:शुल्क भोजन खुवाउँदैछ वीरगञ्जको रेल्वे कटेज

२७ वैशाख, वीरगञ्‍ज ।  कोरोना महामारीका कारण होटेल खोलेको १६ दिनमा बन्‍द भएपछि वीरगञ्जस्थित रेल्वे कटेज सामाज सेवामा अग्रसर देखिएको छ । २५ लाखको लगानीमा वैशाख १ गते खोलिएको होटल निषेधाज्ञामा बन्द भएपछि  अति विपन्न तथा  निषेधाज्ञाबाट प्रभावितहरुलाई रेल्वे कटेजले बिहीबारदेखि  नि:शुल्क भोजन वितरण गर्न थालेको  छ ।

काम, दाम नभएका गरिब, विपन्न तथा बेसहाराहरुको सहारा बन्न र भोकाहरुको भोक मेट्न निःशूल्क भोजन वितरण गरिरहेको होटलका सञ्चालक रवी गुप्ताले बताए ।

‘होटेल खोलेपछि खासै व्यापार गर्न पाएको थिईन, निषेधाज्ञाले गर्दा दैनिक ज्याला मजदुरी गरेर खाने, रिक्सा, ठेला चलाउने मानिसहरु भोकले सडकमा भौतारिएको देखें ।’ उनले भने ‘ उनीहरुलाई नि:शुल्क खाना खुवाउँछु भन्ने मनमा आयो । त्यसैले अभियान थालनी गरेको हुँ ।’

‘फिड फर निडी’ (खाँचोमा परेकालाई खुवाउने’ अभियानमा दैनिक ९-१० हजार खर्च आइरहेको छ । दुई दिन आफूले खर्च गरेपछि यो अभियानलाई निरन्तरता दिनुपर्छ भनेर साथीभाईले सहयोग गर्न थालेको उनको भनाइ छ ।

निषेधाज्ञाका कारण प्रभावित गरिब, निमुखा, अलपत्र परेका यात्रु, सडक मानव तथा अस्पतालका बिरामीका कुरुवाहरुलाई खाना  दिन थालिएको छ । अभियान शुरु भएको ४ दिनमा बिहान र राति गरेर ७ सय ७० जनालाई खाना वितरण गरिसकिएको कटेजका संरक्षक एवं जसपाका युवा नेता ओमप्रकाश सर्राफले जानकारी दिए ।

साहिब दरबार सेवा संस्थानले पनि बिहीबारदेखि वीरगञ्जमा नि:शुल्क खाना वितरण गरिरहेको छ । संस्थानका प्रमुख राजेशमान सिंह दैनिक ५ सय देखि साढे ५ सय खाना वितरण भइरहेको बताए ।

‘ नारायणी अस्पताल, नेशनल मेडिकल कलेज लगायत अस्पतालको वरीपरी र सडकमा अलपत्र परेका मानिसहरुलाई खाना खुवाउँछौं ।’ उनले भने ‘ सक्नेले त आफैंले खानेकुराको जोहो गर्छन, नसक्ने सहयोगको खाँचो परेकालाई हामीले सहयोग गर्ने हो ।’

त्यस्तै सामुदायिक संस्था सानो पाइलाले ‘फिडिंग नेपाल’ अभियानको थालनी गरेको छ । इम्प्रुभिङ वीरगञ्ज चाइल्ड क्लबसँगको समन्वयमा संस्थाले निषेधाज्ञामा प्रभावितहरुका लागि निःशूल्क भोजन वितरण अभियान शुरु गरेको हो ।

शनिबारबाट सुरु भएको अभियानअन्तर्गत वीरगञ्जल तथा आसपासका क्षेत्रमा २ सयभन्दा बढीलाई निःशूल्क भोजन उपलब्ध गराइएको संस्थाले जनाएको छ । गरिब, विपन्न, दैनिक ज्यालादारी गर्ने मजदुरलगायत निषेधाज्ञाबाट प्रभावितको जीवनयापन सहज बनाउन अभियान सुरु गरिएको संस्थाका सञ्चालन प्रमुख जय साहले जानकारी दिए । ‘ निषेधाज्ञाका कारण कोही पनि भोकै बस्न नपरोस भन्ने अभियानको लक्ष्य हो ।’ उनले भने ।

गतवर्ष लकडाउन हुँदा फिडिंग नेपाल अभियानबाट नेपालका विभिन्न स्थानमा १ लाखभन्दा बढी प्रभावितलाई निःशुल्क भोजन उपलब्ध गराइएको दावी सानो पाईलाले गरेको छ ।

होम आइसोलेसनमा रहेकाहरुका लागि ‘नैवेद्य’ अभियान

सानो पाइलाले होम आईसोलेसनमा रहेका संक्रमितहरुका लागि ‘नैवेद्य’ भोजन अभियान सञ्चालन गरेको छ । कोरोना संक्रमण पुष्टि भइ होम आईसोलेसनमा बसेकाहरुका लागि निःशुल्क पौष्टिक भोजन उपलब्ध गराउन अभियानको थालनी गरिएको हो ।

होम आईसोलेसनमा रहेर भोजनमा समस्या भईरहेका संक्रमितलाई स्वस्थकर, पौष्टिक र सन्तुलित भोजन निःशुल्क उपलब्ध गराउन ‘नैवेद्य’ अभियान शुरु गरिएको सानो पाईलाले जनाएको छ ।

संस्थाले सार्वजनिक गरेको सम्पर्क गरेर विवरण उपलब्ध गराएपछि संक्रमितको घरसम्मै भोजन पुर्‍याउने गरि संस्थाले व्यवस्था मिलाएको छ । ‘असहज समयमा सहज रुपमा भोजन’ नारा दिईएको अभियानमा हरेक दिन दुईपटक पौष्टिक र स्वस्थकर भोजन घरसम्मै पुर्‍याइने छ ।

त्यसका लागि संक्रमितले पीसीआर तथा एनटीजेन रिपोर्ट भने अनिवार्य उपलब्ध गराउनुपर्नेछ । सानो पाईलाका सञ्चालन प्रमुख साह वीरगञ्जबाट भन्दा काठमाण्डुबाट बढी चासो आईरहेको बताए ।

‘ वीरगञ्जमा त ५ जना संक्रमितले सम्पर्क गरे, परिवारसँग हुने भन्दा भाडामा बस्ने बढी प्रभावित छन्, काठमाण्डुबाट बढी फोन र म्यासेज बढी आएको छ ।’ उनले भने ‘ उतापनि सेवा सुरू गर्ने बारे छलफल भइरहेको छ ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड र चिकित्सकहरुको सल्लाहबमोजिम निर्माण भएको तालिका अनुसार संक्रमितहरुलाई भोजनको व्यवस्था गरिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment