Comments Add Comment

यी हुन् संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिशमा परेकाहरु

२७ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेकाहरुको सूची सार्वजनिक भएको छ ।

आइतबार बसेको परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगका सदस्य र अन्य संवैधानिक आयोगहरुका पदाधिकारीमा सिफारिस भएकाहरुको नामावली पनि खुलेको थिएन ।

परिषद्को बैठकले लोकसेवा आयोगको सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), उदय सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गर्न सिफारिस गरेको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा डा. हरि पौडेल (बाग्लुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) को नाम सिफारिश गरिएको छ ।

डा. पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन् । उनले यसअघि स्थानीय तह निर्धारण आयोगमा रहेर पनि काम गरेका थिए । डा. श्रेष्ठ राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन् ।

त्यस्तै निर्वाचन आयोगको सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) लाई नियुक्त गर्न सिफारिस गरिएको छ । समावेशी आयोगका अध्यक्षमा डा. रामकृष्ण तिमिल्सेना (कास्की) तथा सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ) लाई सिफारिश गरिएको छ ।

विपीनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा) लाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिश गरिएको छ । राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी (पर्वत) लाई नियुक्तिका लागि सिफारिश गरिएको छ ।

राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौं), राष्ट्रिय आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ), मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी), थारु आयोगका सदस्य डा. उमाशंकर चौधरी (नवलपरासी पश्चिम) र मुस्लिम आयोगको सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिशमा परेका छन् ।

संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment