Comments Add Comment

रुपन्देहीमा बढ्यो कोरोना संक्रमितको मृत्यु

होम आइसोलेसनमा बस्दा मृत्युदर बढ्यो : चिकित्सक

२८ वैशाख, बुटवल । कोभिड–१९ दोस्रो लहरको हटस्पट बनेको रुपन्देहीमा सोमबार मात्र ११ जना संक्रमितको मृत्यु भयो । यससँगै वैशाख महिनाका २७ दिनमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको छ ।

जबकी जेठ २०७७ देखि चैत अन्तिमसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १५७ मात्र थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार पछिल्लो तीन हप्तामा कोभिड–१९ संक्रमितसँगै मृतकको संख्या ह्वात्तै बढेको छ । वैशाखको पहिलो साता ४ जनाको मृत्यु भएको थियो भने दोस्रो साता थप १८ जनाको मृत्यु भयो । तेस्रो साता ४५ जनाको मृत्यु भयो भने त्यसपछिका ६ दिनमा ५९ जना संक्रमितको मृत्यु भयो ।

तीन हप्तामा कोरोनाका सक्रिय संक्रमितको संख्या पौने ४ सयबाट बढेर ६ हजार ४४० पुगेको छ, जसमध्ये ६ हजार ८८ जना संक्रमित होम आइसोलेसनमा छन् ।

होम आइसोलेसनमा बढ्दा मृत्युदर बढ्यो : चिकित्सक

संक्रमितको संख्यासँगै मृत्यु बढ्नुमा मुख्यतः तीन–चारवटा कारण रहेका चिकित्सकहरु औंल्याउँछन् ।

त्यसमा पनि मुख्य कारण संक्रमितहरु स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउनु रहेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन कन्सल्ट्यान्ट फिजिसियन डा. नन्दु पाठक बताउँछन् ।

अस्पताल भर्ना भएका संक्रमितले नै बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटर पाउन सकेका छैनन् । यस्तो अवस्थामा होम आइसोलेसनमा बसेकाप्रति राज्यको ध्यान गएको छैन । ‘अहिले पनि मान्छेहरुमा कोरोनालाई सामान्य रुपमा लिने, आफूखुशी औषधि खाने, अक्सिजन लिने प्रवृत्ति छ’ डा. पाठक भन्छन्, ‘जब अवस्था क्रिटिकल बन्छ, अनि ढिलो अस्पताल आउने कारणले मृत्यु दर बढेको छ ।’

यसपटकको कोरोना भाइरस पहिलेको भन्दा फरक र दोब्बर खतरनाक रहेपनि मान्छेहरुले हेलचेक्र्याई गरिरहेको र अन्तिम अवस्थामा अस्पताल आउने गरेकाले संक्रमितलाई बचाउन नसकिएको डा. पाठकले औंल्याए । ‘कोरोना पोजेटिभ भएपछि चिकित्सकको परामर्श लिएर अस्पताल भर्ना हुनु नपर्ने अवस्थामा मात्र होम आइसोलेसनमा बस्नुपर्ने हो’ उनले भने, ‘त्यहाँ बस्दा पनि निश्चित प्रोटोकल पूरा गर्नुपर्छ तर यहाँ आफूखुशी भएको छ, जसले मृत्यु बढेको छ ।’

होम आइसोलेसनमा बसेकाहरुलाई सरकारले अनिवार्य चिकित्सकको निगरानी र परामर्श, औषधिको उपलब्धतालगायतका विशेष व्यवस्था गर्नुपर्ने डा. पाठकको सुझाव छ ।

घर–घरमा अक्सिजन, अस्पताल छैन

होम आइसोलेसनमा बसेकाहरुले चिकित्सकको प्रेस्क्रिप्सनमा एन्टिभाइरल, एन्टिबायोटिक लगायतका औषधि लिन सक्छन् । त्यस्तै  अक्सिजन लिनुपरे अस्पतालको आइईसीयू वा एचडीयूमा लिनुपर्ने भएपनि त्यसो नगरी आफूखुसी औषधि खाने र अक्सिजन लिने गरेको समेत पाइएको डा. पाठक बताउँछन् । ‘अहिले धेरैजसो संक्रमितलाई अस्पतालमा चिकित्सकको निगरानीमा अक्सिजन सपोर्टमा उपचार गर्नुपर्ने अवस्था छ’ डा. पाठकले भने, ‘तर कतिपय स्थानीय तह र संघसंस्थाले सस्तो लोकप्रियता कमाउने नाममा अक्सिजन सिलिण्डिर आफूखुशी बाँड्नु गलत हो । यस्तै गलत कामका कारण अस्पताल भर्ना भएका संक्रमित अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।’

कन्ट्याक्ट ट्रेसिङ नगन्य

यसपटक संक्रमितको मृत्यु दर बढ्नुको अर्को कारण कन्ट्याक्ट ट्रेसिङ एकदमै नगण्य हुनु रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी स्वीकार गर्छन् ।

वैशाख लागेसंगै नयाँ वर्ष विशेष कार्यक्रम, विवाह, विभिन्न कार्यहरु यही महिनामा धेरै भएको मान्छेको जमघट र भीडभाड बढेसंगै संक्रमण समुदायस्तरमा फैलिएको डा. गिरीले बताए ।

खोप आइसक्यो अब केही हुँदैन भनेर हेलचेक्र्याई बढेको उनको ठम्याइ छ । ‘खोप आइसक्यो अब केही हुन्न भनेर जमघट, भीडभाड रोकिएको छैन, कन्ट्याक्ट ट्रेसिङको पाटो पनि एकदमै नगण्य छ’ उनले भने,‘खोप सबैले लगाउन पाएका छैनन् भन्ने हेक्का राखेर कन्ट्याक्ट ट्रेसिङ बढाउनपर्छ ।’

परीक्षण नै हुँदैन 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि आम रुपमा अझै पनि कोरोना परीक्षण नगर्ने परिपाटी रहेकाले संक्रमण र मृत्यु दर बढ्न गएको डा. गिरीको ठम्याइ छ ।

‘कतिपयले कोरोनालाई हल्का रुपमा लिएर, कतिपयले यसलाई लुकाउन चाहेर पनि परीक्षण गराएका छैनन्’ डा.गिरीले भने, ‘समस्या लुकाएर/च्यापेर बस्ने र अवस्था जटिल बनेपछि मात्रै जाँच गराउने परिपाटीले संक्रमण र मृत्यु दर दुबै बढाएको छ ।’

खोप नै अचूक उपाय

कोरोना संक्रमण र मृत्यु रोक्न खोप नै अचुक उपाय भएकाले सरकारको प्राथमिकता जतिसक्दो छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनेमा केन्द्रीत हुनुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनाल सुझाउँछन् ।

खोप लगाएका व्यक्ति कमै मात्र संक्रमित हुने र भइहाले पनि गम्भीर बिरामी नभएको पाइएको छ । ‘बेलैमा खोप नलगाएका कारण अस्पतालहरुले अहिले कोरोना संक्रमितलाई मात्रै उपचार गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘खोप ल्याउन जति ढिला हुन्छ, संक्रमण र मृत्यु दर झनै बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment