Comments Add Comment

कालीमाटी तरकारी बजारबाट खुद्रा कारोबार बन्द

२८ वैशाख, काठमाडौं । अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्र्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ ।

खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताए ।

बजारको अघिल्लोतर्फ रहेको किसान बजार र खुद्रामा तरकारी बिक्री गर्ने खाली क्षेत्र क्रमशः बन्द गर्दै लगिने उनको भनाइ छ । हाल होलसेल बजारमाबाट तरकारीको खुद्रा कारोबार पनि गर्न नपाइने कार्यकारी निर्देशक भट्टराईले बताए ।

बजारमा रहेका स्टलबाट थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहने उनले बताए । ‘बजारमा अब खुद्रा कारोबार निषेध गरिएको छ, होलसेल स्टलले थोकमा गर्ने कारोबार भने नियमित रुपमा गर्न पाउँछन्,’ कार्यकारी निर्देशक भट्टराईले भने ।

देशका बिभिन्न ठाउँका किसानले बारीमा रहेको तरकारी सिधै बिक्री गर्न पाउनेगरी बजारभित्रको ‘अक्सन यार्ड’ भने खुला राखेको समितिले जनाएको छ । किसानले आफ्नो उत्पादन उक्त यार्डमा ल्याएर बिक्री गर्न सक्ने कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment