Comments Add Comment

प्रदेश १ : निजी अस्पतालमा संक्रमितको उपचार सुरु गर्न संसदीय समितिको निर्देशन

२९ वैशाख, विराटनगर । प्रदेश १ प्रदेशसभाको संसदीय समितिले निजी अस्पतालहरुमा तत्काल कोरोना संक्रमितको उपचार सुरु गराउन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

अस्पतालहरुको अनुगमनपछि बुधबार सामाजिक विकासमन्त्रीलाई बोलाएर प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेशको नियमन क्षेत्राधिकारभित्र रहेका सबै निजी अस्पतालमा कोभिड उपचारको सेवा सुरु गराउन निर्देशन दिएको हो ।

प्रदेश सरकारको तयारी सुस्त भएको निष्कर्ष निकाल्दै समितिले सरकारलाई निर्देशन दिएको समिति सभापति सरिता थापाले बताइन् । उनका अनुसार समितिले सुनसरी, पाँचथर, धनकुटा, संखुवासभा र उदयपुरका जिल्ला अस्पतालमा तत्काल संक्रमितको उपचार सुरु गर्न पनि निर्देशन दिएको छ । ती अस्पतालहरुमा उपचार सेवा सुरु गर्ने पूर्वाधार तयारी अवस्थामा छन् । अन्य जिल्लाका जिल्ला अस्पतालहरुमा पनि तत्काल सेवा सुचारु गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ ।

समितिले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको बन्द रहेको ८० बेड तत्काल सञ्चालन गर्न निर्देशन दिएको छ । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तत्काल बेड थप गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ । बीपीले १५० बेड भनेपनि ३० बेड मात्रै सञ्चालन गरेको समितिले दाबी गरेको छ ।

समितिले अक्सिजन आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउँदै चौबीसै घण्टा सहज विद्युत आपूर्तिको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

विराट मेडिकल कलेज र झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालले बिरामी भर्ना अघि धरौटी लिएको देखिएकाले शुल्क नलिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

समितिले बोलाएपछि बैठकमा उपस्थित प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले समितिको निर्देशन कार्यान्वयनमा लैजाने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment