Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा थप ५ जनाको मृत्यु

२९ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन जना, नेशनल मेडिकलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पताल र वीरगञ्ज हेल्थ केयर एक/एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये पर्सा र बाराका २/२ जना र एक जना रौतहटका संक्रमित हुन् । योसँगै कोरोना संक्रमणको दोस्रो लहरबाट वीरगञ्जमा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । जसमध्ये ६८ जना पर्साका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ८१० पुगेको छ ।

बुधबार रौतहटको गरुडा नगरपालिका–४ का ४१ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट उनको पोजेटिभ आएको थियो । उपचारको क्रममा साँझ ५ः२५ बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका–२३ का ६२ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको छ । दिउँसो साढे ३ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । वैशाख २४ गते भर्ना भएका उनको दुई दिनपछि गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ थियो ।

नेशनल बाबा होटल कोरोना अस्पतालमा १० वटा भेन्टिलेटर छ । भेन्टिलेटर खाली नहुँदा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीका ६८ वर्षीय पुरुषको बुधबार बिहान साढे ६ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते उनी अस्पतालमा भर्ना भएका थिए ।

नारायणी अस्पतालमै पर्साको छिपहरमाई गाउँपालिका–५ का ७२ वर्षीय पुरुषको गएराति साढे १ बजे मृत्यु भएको छ । वैशाख २३ गते भर्ना भएका उनको कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम गरिरहेको थिएन ।

यस्तै बाराको प्रसौनी गाउँपालिका–२ का ५७ वर्षीय पुरुषको नारायणी अस्पतालमै मंगलबार राति साढे १० बजे मृत्यु भएको छ । वैशाख २० गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment