Comments Add Comment

अक्सिजन कन्सन्ट्रेटरः के हो ? कसरी प्रयोग गर्ने, सिलिण्डर राम्रो कि कन्सन्ट्रेटर ?

काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै अत्यावश्यक अक्सिजनको अभाव चुलिएको छ । सिंगो सरकारदेखि अस्पताल सन्चालक र बिरामीका आफन्तहरु अक्सिजनको जोहो गर्न भौंतारिरहेका छन् ।

सरकारले भएका अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र अक्सिजन उत्पादनलाई तीव्रता दिने निर्णय गरिसकेको छ । अक्सिजन उद्योगहरुमा सिलिण्डर भर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता आइसकेको छ ।

पहिले अक्सिजन उत्पादन जति पनि गर्न सकिन्छ, हामीलाई अभाव भनेको त्यसलाई भर्ने सिलिण्डरको हो भनिएको थियो । त्यसैले सरकारले चीनबाट समेत अक्सिजन सिलिण्डर ल्याएको छ र कलकारखानाहरुमा भएका सिलिन्डर पनि मागेको छ । तर अहिले अक्सिजन उत्पादनमै समस्या र कमी सिर्जना भएका समाचार आइरहेका छन् । अक्सिजन चाहिने बिरामीको चाप बढेसँगै अक्सिजनको माग र आपूर्तिबीचको अन्तर बढ्दै गएको छ । भारतबाट लिक्विड अक्सिजन ल्याउन सरकारले कूटनीतिक पहललाई तीव्रता दिएको छ ।

यस्तो हाहाकारमा अक्सिजन कन्सन्ट्रेटरको माग उच्च छ । सिलिण्डरको जोहो सँगसँगै यो कन्सन्ट्रेटर पनि प्रयोगमा ल्याउने हो भने अक्सिजन नपाएरै ज्यान गुमाउनुपर्ने जोखिमलाई केही हदसम्म टार्न सकिन्छ ।

त्यसैले राजधानी काठमाडौंमा अक्सिजन कन्सन्ट्रेटर पाउनै मुस्किल छ । अक्सिमेड ट्रेड लिंक चाबहिलको सेल्स डिपार्टमेन्टमा कार्यरत सुदिन श्रेष्ठले भने, ‘कन्सन्ट्रेटरको माग यति धेरै छ कि फोन उठाउन भ्याइनभ्याइ छ । तर अहिले हामीसँग एउटा पनि स्टक बाँकी छैन ।’

काठमाडौंमा १५ वर्षदेखि चिनियाँ कम्पनी एनएस वायो मेडिकलका उत्पादन बिक्री गर्दै आएका एक बिक्रेताले पनि अहिले अक्सिजन कन्सन्ट्रेटर सकिएकाले थप मगाइएको बताए ।

आखिर अक्सिजन कन्सन्ट्रेटर के हो ? यसले कसरी र के काम गर्छ ? आउनुहोस् जानौं ।

अक्सिजन कन्सन्ट्रेटर के हो ?

हाम्रै वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउने एक उपकरण हो अक्सिजन कन्सन्ट्रेटर । यो यस्तो मेडिकल डिभाइस हो, जसले हाम्रो आसपास रहने हावालाई तान्छ र त्यसलाई छानेर शुद्ध अक्सिजनमात्र दिन्छ । यसबाट बिरामीलाई थप अक्सिजन प्राप्त हुन्छ । अझ सजिलो गरी भन्नुपर्दा यो एक प्रकारको छनौटो हो, जसले हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ ।

हामीले लिने हावामा झन्डै २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु अन्य ग्यास हुन्छ । जसलाई शुद्ध गरेर ९० प्रतिशत भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर मेसिनले दिन्छ ।

यसको प्रयोग अहिलेको महामारीको समयमा आइसोलेसन सेन्टर/होल्डिङ सेन्टरहरुमा पनि प्रयोगमा ल्याउन सकिन्छ ।

अक्सिजन कन्सन्ट्रेटर किन्दा ध्यान दिनुपर्ने कुरा

कोरोना महामारीसँगै अक्सिजन कन्सन्ट्रेटरको अभाव छ । यही अभावको मौका छोपेर बजारमा नक्कली कन्सन्ट्रेटर पनि देखिन थालेको छ । कतिपयले त ह्युमिडफायर र नेबुलाइजरलाई पनि अक्सिजन कन्सन्ट्रेटरको नाममा बेचिरहेका छन् । त्यसैले अक्सिजन कन्सन्ट्रेटर किन्दा विशेष सावधानी अपनाउनुपर्छ ।

सामान्यतया बजारमा ५ लिटर र १० लिटर प्रतिमिनेट फ्लो रेट भएको अक्सिजन कन्सन्ट्रेटर पाइन्छ ।  किन्ने बेलामा अक्सिजनको फ्लो रेट प्रतिमिनेट कति छ भन्ने कुरालाई जाँच गर्नुपर्छ । उपकरणमा लेखिएअनुसारको फ्लो रेट रहेको एकिन गरेपछि मात्रै अक्सिजन कन्सन्ट्रेटर किन्नुपर्छ ।

सो उपकरणले दिने अक्सिजनको शुद्धताबारे पनि ख्याल गर्नुपर्छ । शुद्ध अक्सिजन ९० प्रतिशत भन्दा कम हुनु हुँदैन ।

कहिलेकाहिँ ५ लिटर प्रतिमिनेट अक्सिजन फ्लो रेट लेखिए पनि त्यसबाट ३ वा ३.५ लिटर प्रतिमिनेट अक्सिजन फ्लो रेट रहन्छ । त्यसैले यदि ५ लिटरवाला कन्सन्ट्रेटर किन्ने हो भने त्यसले ९० देखि ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन पाँच लिटर प्रतिमिनेटको दरले प्रवाह गर्नुपर्छ ।

कुनै–कुनै कन्सन्ट्रेटर भने एक साथ एकभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने पनि हुन्छन् । तर यसको पनि प्रयोग नगर्दा राम्रो हुन्छ

उपकरण किन्ने बेलामा त्यसको सर्टिफिकेसन पनि जाँच गर्नुपर्छ । विश्वसनीय कम्पनीले उत्पादन गरेको अक्सिजन कन्सन्ट्रेटर नै किन्दा राम्रो हुन्छ ।

कन्सन्ट्रेटर किन्दा ह्युमिडफायर भएको किन्नुपर्छ, जुन पानीको बोतल जस्तो हुन्छ । त्यसमा पानी राखिन्छ ।

कन्सन्ट्रेटरको क्षमताअनुसार त्यसले गर्ने बिजुलीको खपत पनि फरक फरक हुन्छ । कम बिजुलीमा पनि चल्न सक्ने कन्सन्ट्रेटर किन्नुपर्छ । हालबजारमा इन्भर्टर वा कारको ब्याट्रीबाट पनि चल्ने अक्सिजन कन्सन्ट्रेटर पाइन्छन् । ब्याट्री ब्यापकवाला अक्सिजन कन्सन्ट्रेटर पनि बजारमा पाइन्छ । झोला बोकेजस्तो बोकेर हिँड्न मिल्ने कन्सन्ट्रेटर पनि कम्पनीहरुले उत्पादन गरेका छन् ।

एउटा कन्सन्ट्रेटरलाई कम्पनीअनुसार ४०–५० हजार रुपैयाँदेखि ३–४ लाख रुपैयाँसम्म पर्छ । एउटा अक्सिजन सिलिण्डरलाई बढीमा  १० देखि २५ हजार रुपैयाँसम्म पर्छ । यसलाई भर्दा १ हजार ५ सयदेखि ४ सय रुपैयाँसम्म पर्छ । अग्रिमअर्डर गरेमा १० देखि ३० लिटर क्षमताको निड्याक ब्रान्डको कन्सन्ट्रेटर पनि उपलब्ध गराउन सकिने कान इन्टरनेशनल नेपालका प्रबन्धक कुमार दहाल बताउँछन् । उक्त मेसिन कम बेड भएका हेल्थ सेन्टर तथा अस्पतालमा नियमित प्रयोगमा ल्याउन सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

स्वास्थ्य सेवामा लामो समयको अनुभव संगालेर सेवा निवृत्त भएका दिपेन्द्र न्यौपानेका अनुसार अलग–अलग बिरामीको लागि एउटै अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्नु हुँदैन । यदि त्यसो गरियो भने इन्फेक्सनको खतरा रहन्छ । कुनै–कुनै कन्सन्ट्रेटर भने एक साथ एकभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने पनि हुन्छन् । तर यसको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । एउटै डिभाइसबाट धेरैले अक्सिजन लिँदा पनि क्रस इन्फेक्सनको खतरा हुन्छ ।

जुन ठाउँमा बिरामीलाई राखिएको छ, त्यो ठाउँमा हावा आउ–जाउ गर्नुपर्छ भन्ने कुरालाई पनि ध्यानमा राख्नुपर्छ । एसी जडान गरिएको कोठामा प्राकृतिक हावा कम हुन्छ । यस्तो ठाउँमा कन्सन्ट्रेटरको प्रभावकारीता कम हुन सक्छ ।

अर्को कुरा बेला बेलामा यसको भित्री फिल्टर पनि फेर्नुपर्छ । जसको केही हजार रकम पर्दछ र बाहिरी फर्मवाला फिल्टर आफैं बेला बेलामा सफा गरेर धुलो फाल्नु पर्दछ ।

कन्सन्ट्रेटरमा जडान गरिएको ह्युमिड फायरमा पानी भर्ने बेलामा ख्याल गर्नुपर्छ । म्याक्सिमम वाटर लेभल जहाँसम्म लेखिएको छ, त्यहाँसम्ममात्र शुद्ध खानेपानी भर्नुपर्छ (यसकै लागि आउने अलग पानी पनि हुने गर्दछ) ।

अक्सिजन कन्सन्ट्रेटर अक्सिजन सेचुरेशन लेभल ८० देखि ९४ को बिचमा छ भने यसको प्रयोग गर्न सकिन्छ । त्यो भन्दा कम सेचुरेशन भएकोलाई अक्सिजन कन्सन्ट्रेटर फाइदाकारी नहुन सक्छ ।

अक्सिजन सिलिण्डर राम्रो कि कन्सन्ट्रेटर ?

अक्सिजन चाहिने बिरामीहरुलाई सिलिण्डर वा कन्सन्ट्रेटर दुबैबाट अक्सिजन दिन सकिन्छ । न्यौपानेका अनुसार यी दुईका आ–आफ्नै विशेषता छन् । दुवैका विशेषता र आफ्नो बजेटलाई हेरेर यसलाई किन्न सकिन्छ ।

अक्सिजन सिलिण्डरमा ९९ प्रतिशत शुद्ध अक्सिजन भरिएको हुन्छ, जसलाई लगाउनासाथ बिरामीले अक्सिजन पाउँछन् । तर अक्सिजन कन्सन्ट्रेटर मेसिन चलाएपछि हावालाई सोसेर शुद्ध अक्सिजन फिल्टर गरेर बिरामीलाई उपलब्ध गराउँछ ।

सिलिण्डरमा अक्सिजन सकियो कि भनेर बेलाबेलामा चेक गर्नुपर्छ र सकियो भने भर्न उद्योगसम्म पुर्याउनुपर्छ । कन्सन्ट्रेटरमा भने यो झन्झट हुँदैन ।

कन्सन्ट्रेटरलाई चलाउन चौबिसै घण्टा बिजुली सप्लाई चाहिन्छ तर अक्सिजन सिलिण्डर बिजुलीविना प्रयोग गर्न सकिन्छ ।

अक्सिजन कन्सन्ट्रेटरमा बेलाबेलामा एयर फिल्टर फेरियो भने ४–५ वर्षसम्मप्रयोग गर्न सकिन्छ । सिलिण्डरमा फिल्टर फेरिराख्नुपर्ने झन्झट हुँदैन ।

अक्सिजन कन्सन्ट्रेटरमा ९० देखि ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन हुन्छ । अक्सिजन सिलिण्डरमा भने ९९ प्रतिशत वा त्योभन्दा पनि बढी शुद्ध अक्सिजन भरिन्छ । सिलिन्डरमा शुद्ध अक्सिजन छ कि छैन भनेर अक्सिजन एनालाइजरबाट जाँच गर्नुपर्ने हुन्छ ।

सामान्य कन्सन्ट्रेटरबाट केबल ५ देखि १० लिटर प्रतिमिनेट फ्लोको दरले अक्सिजन दिन सकिन्छ । योभन्दा बढी फ्लोमा अक्सिजन दिनु परेमा सिलिण्डर नै चाहिन्छ ।

सिलिण्डर अग्लो हुने भएकाले यो ढल्यो भने चोटपटक लाग्ने जोखिम हुने हुँदा यसलाई राम्रोसँग अड्याएर राख्नुपर्छ । कन्सन्ट्रेटर भने होचो र यताउता सार्न पनि सजिलो हुन्छ ।

बजारमा पाइने अक्सिजन कन्सन्ट्रेटर

अक्सिजन नेपालमै उत्पादन हुन्छ तर त्यसलाई भर्ने सिलिण्डर भने विदेशबाट ल्याउनुपर्छ । कन्सन्ट्रेटर पनि विदेशबाटै मगाउनु पर्छ । छिमेकी मुलुक भारत र चीनका साथै अमेरिकन कम्पनीबाट उत्पादित अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा पाइन्छन् । भारतमा हेस्ली, सोरा, फिलिप्स, एक्वानोक्स, डाक्टर मोर्पिन जस्ता कन्सन्ट्रेटर पाइन्छन् । तर कन्सन्ट्रेटर किन्न पनि पालो कुर्नुपर्ने बाध्यता छ ।

अहिले नेपालमा अक्सिजन अभाव भएपछि छिमेकी मुलुक चीनले सिलिण्डरका साथै १७३ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । व्यवसायिक कम्पनीहरुले पनि नेपाल सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको समाचार आउन थालेका छन् । नेपाल उद्योग परिसंघले बुधबार मात्रै आफ्नो सदस्य संस्था होङ्सी–शिवम सिमेन्टमार्फत् ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

भारतलाई विश्वका ठूला कम्पनी अमेजन, माइक्रोसफ्टका साथै बलिउड कलाकारहरुले पनि अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने क्रम बढेको छ ।

कोरोना महामारी पूर्णरुपमा रोकथाम हुन केही वर्ष लाग्न सक्दछ । अतः १५ बेड देखि माथि क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने बाध्यकारी नियम बनाउन सके भविष्यमा अक्सिजन अभावको विकराल स्थिति नआउने हुन्छ ।  केही अस्पतालहरु मिलेर पनि अक्सिजन प्लान्ट बनाउन सकिन्छ । बिरामी भर्ना गरेर राख्ने अस्पतालको लागि अक्सिजन अपरिहार्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment