Comments Add Comment

गण्डकीमा कोरोना कहर : १० दिनमै ९४ जनाको मृत्यु

  • पाँच दिनअघि पोखराको एक परिवारले आफन्तसहित भेला भएर जन्मदिनको उत्सव मनायो । त्यो ‘बर्थ डे पार्टी’मा करिब २० जना सहभागी थिए । उनीहरुमध्ये केहीलाई ज्वरो र रुघाखोकी लाग्यो । परीक्षण गर्दै जाँदा सहभागी १७ जनालाई कोभिड पोजेटिभ देखियो । संक्रमितमध्ये एक जनालाई श्वास फेर्न गाह्रो भयो । अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भयो ।
  • पोखरा–१३ मा ७१ वर्षीय वृद्ध घरमै थिए । उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखा पर्‍यो । परिवारका अनुसार उनमा कुनै दीर्घ रोग थिएन । कमजोर महसुस गरेको बताएपछि चरक मेमोरियल अस्प्तालमा लगे । त्यहाँबाट बेड छैन भनेर भनेर पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याए । मणिपालमा पनि बेड नपाएपछि फेरि बेड मिलाएर चरकमा ल्याए । कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । अक्सिजन सपोर्ट दिएपछि ठीक देखिएका उनको भोलिपल्ट मृत्यु भयो ।
  • एक्कासी स्वास्थ्यमा समस्या देखिएर २७ गते चरक मेमोरियल अस्पताल पुगेकी पोखरा–७ की ४५ वर्षीया महिलामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । आईसीयूमा भर्ना गरेर उपचाररत उनको भोलिपल्ट २८ गते नै मृत्यु भयो ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पछिल्लो समय संक्रमित हुने र उपचार पाउँदा-नपाउँदै मृत्यु हुने संख्या बढ्दो छ । घरमै बसिरहेका भर्खरका तन्नेरीदेखि यसअघि कुनै स्वास्थ्य समस्या नभएका बुढा-बुढीले समेत ज्यान गुमाइरहेका छन् ।

गण्डकी प्रदेशमा पछिल्लो १० दिनमा ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्, जसमध्ये ५१ जना कास्कीका छन् । वैशाखभरी गण्डकीमा १११ जनाको मृत्यु भएको छ, उनीहरुमध्ये ५९ जना कास्कीका मात्र छन् ।

बिहीबार मात्र गण्डकी प्रदेशमा १४ जनाको मृत्यु भयो । बुधबार १६ जनाको मृत्यु भएको थियो । २५ गते १२ जना, २६ गते १३ जना र २७ गते १२ जनाको मृत्यु भएको थियो ।

तस्वीर : सरोज अधिकारी

‘कतिबेला कसलाई जटिल स्वास्थ्य समस्या आइपर्छ, कतिबेला अक्सिजनको मात्र ह्यात्तै घट्यो भन्ने जानकारी नै हुँदैन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल भन्छन्, ‘सञ्चो भयो भनेकाहरुले पनि मृत्युवरण गरिरहेका छन् ।’

केही समयअघि १७४ वटा नमूना परीक्षण गर्दा १०४ जनामा युके भेरियन्ट देखिएको थियो । त्यसमा पनि २७ जना ११ वर्षका बच्चामा देखिएको छ । नयाँ भेरियन्ट छिटो फैलिने मात्र होइन, जुन सुकै उमेर समूहलाई पनि असर गर्ने गरेको पाइएको छ ।

‘कोरोना संक्रमण दर हेर्दा हामी एकदमै जटिलतामा छौं । सामान्य रुपको देखिराखेको कोरोनाभन्दा धेरै फरक प्रकृतिको हामीले बेहोरिरहेका छौं,’ प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘अझै एक महिना संक्रमणसँगै मृत्यु बढ्नसक्छ, ।’

होम आइसोलेसन अर्को चुनौती

प्रदेशमा सबभन्दा बढी जोखिममा राजधानी पोखरा छ । वैशाखमा मात्र कास्कीमा ३ हजार १८६ जना संक्रमित थपिएका छन् । जबकी चैत मसान्तसम्म ४१६ जना मात्र थिए ।

सिंगो प्रदेशमा पनि त्यसरी नै संक्रमण बढेको छ । वैशाख पहिलो हप्तासम्म ४१६ जनामात्रै सक्रिय संक्रमित रहेको गण्डकी प्रदेशमा अहिले ७ हजार ३१ जना पुगिसकेको छ । अस्पतालहरु संक्रमितले भरिउका छन् । पोखरामा सरुवा रोग तथा संक्रामक अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलसन जटिल बिरामीले भरिइरहेका छन् । निजी अस्पतालका कोभिडका बेडहरु पनि भरिभराउ भएका छन् ।

संक्रिय संक्रमितमध्ये ६ हजार ८६८ जना होम आइसोलेसनमा छन्, तर उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी हुन सकेको छैन । ‘हामीले घरमा बसेका संक्रमितलाई फलोअप गर्न सकेका छैनौं,’ स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘अब घरमा रहेका त्यस्ता संक्रमितलाई कसरी छिटो र स्वास्थोपचार गर्नु प्रमुख चुनौती हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment