+
+
Shares

पर्साको जगरनाथपुरमा थप १७ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १२:५४

३१ बैशाख, वीरगञ्‍ज । समुदायमै कोरोना संक्रमण फैलिएको पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझप्टीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

२७ बैशाखमा घर घरमा ज्वरोका विरामी रहेको समाचार बाहिरिएपछि भोलिपल्ट स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको थियो । गाउँमा सोहि दिन ११ जनाको एन्टीजीन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यकर्मीको टोलीले गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका र सामान्य मानिसहरु गरी २५ जनाको स्वाब नमुना पीसीआर परीक्षणका लागि वीरगञ्ज ल्याएका थिए ।

संक्रमण पुष्टि भएकालाई घरमै आइसोलेसन बस्न लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिए । ‘गाह्रो छैन, हल्का फुल्का ज्वरो छ भने होम आइसोलेसनमै राख्छौं ।’ उनले भने ‘ धेरै ज्वरो र खोकी छ र अक्सिजन चाहिने छ भने वीरगञ्जमा पालिकाले बनाएको आइसोलेसन सेन्टर वा अस्पताल पठाउँछौं ।’

गाउँमा कोरोना र कोरोनासँग मिल्दो जुल्दो लक्षणले मानिसहरु मर्न थालेपछि बल्ल पालिका तातेको छ । पालिकाले वीरगञ्जको एक होटलमा २५ बेडको आइसोलेसन सेन्टर बनाएको छ ।

शुक्रबार नै होम आइसोलेसनमा बस्ने संक्रमितलाई गाउँपालिकाले औषधी समेत वितरण गरेको छ ।संक्रमितको स्वास्थ्य जाँच पछि आवश्यकताको आधारमा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख साहले बताए ।

क्लेभान, एजीथ्रोमाईसिन, डोलोपार, लिभो सिट्राजीन, भिटामिन बी कम्पलेक्स, भिटामीन डी तथा जींक चक्की लगायतका पालिकाले खरिद गरेको ३ सय किट औषधी पालिकाले खरिद गरेको छ ।

स्थानीय प्रशासनले चिलझप्टीमा निषेधाज्ञाको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । तर मानिसहरु झुण्ड झुण्डमा बसिरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले स्थानीय प्रहरी युनिटलाई मोनिटरीङ गर्न भनेको बताउँछन् ।

पालिकाकाको अन्य गाउँमा पनि छ समस्या
बिहीबार जगरनाथपुर गाउँपालिका– ५ मसिहानीका ८० वर्षीय पुरुषको मृत्यु भयो । वीरगञ्जको नगवा स्थित नेशनलको बाबा होटेल कोरोना अस्पतालमा मृत्यु भएको थियो । बैशाख २० गते अस्पताल भर्ना भएका उनको बिहीबार बिहान ११:०९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

जगरनाथपुर–३ विजवनियाका ४० वर्षीय पुरुषको पनि दुई दिन अघि वीरगञ्जकै एडभान्स अस्पतालमा मृत्यु भएको थियो । स्वास प्रश्वासको विरामी भई सिकिस्त भएका उनको पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएको थियो तर रिपोर्ट आउनु अघि नै उनको मृत्यु भएको थियो ।

गाउँ गाउँबाट वीरगञ्ज ल्याईएका विरामीको कोरोना संक्रमणबाट मृत्यु भएपछि गाउँमा त्रास बढेको छ । किसान नेता सहरुम राउत गद्दी पालिकाले समयमै ध्यान दिन नसक्दा समस्या जटिल बन्दै गएको बताउँछन् ।

‘गाउँमा ज्वरो रुघा खोकीको विरामी बढेका छन्, स्वास प्रश्वासको समस्याले मानिस मरिरहेका छन, कसैलाई कोरोना पुष्टि भएको छ कोहि त्यसै मरेका छन् ।’ उनले भने ‘ हुने खानेले त लाखौं लाख खर्च गरेर उपचार गराउँछन, गरिबले कहाँबाट पैसा ल्याएर जाँच गराउँछन् ।’

गाउँपालिका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष लगायत जनप्रतिनीधिहरु जिम्मेवार नहुँदा गाउँमा एन्टीजीन परीक्षण समेत हुन नसकेको आरोप उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?