Comments Add Comment

वीरगञ्जमा भेन्टिलेटर अभाव : बिरामी छटपटिएको टुलुटुलु हेर्दै आफन्त

फाइल तस्वीर

३१ वैशाख, वीरगञ्ज । एक वर्ष अघि पनि नारायणी अस्पतालमा भेन्टिलेटरकै अभावमा मानिसरूरुले ज्यान गुमाइरहेका थिए । त्यतिखेर सर्पदंशका बिरामीलाई आवश्यक पर्दा हातले बेलुन थिचेर हावा दिने गरिन्थ्यो ।

कृतिम स्वास दिनुपर्ने बिरामी कमै संख्यामा आउने भएकोले त्यतातिर खासै कसैको ध्यान पुगेको थिएन ।

यो पनि पढ्नुहोस भेन्टिलेटरको अभावमै गुम्छ जीवन

अहिले परिस्थिति थप जटिल बनेको छ । अवस्था बदलिएको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमितलाई अक्सिजनमा राख्नुपरेको छ । हाई फ्लोमा अक्सिजन दिँदासमेत संक्रमितको अक्सिजन लेभल मेन्टेन हुन सकिरहेको छैन ।

बिरामीको स्थिति गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्छ भन्छन् । अस्पतालमा भेन्टिलेटर खाली हुँदैन, संक्रमितका आफन्तले भेन्टिलेटर खोज्दै गर्दा कतिपय बिरामीको मृत्यु भइसक्छ ।

तराई हस्पीटलमा बिहीबार त्यस्तै घटना भयो ।

यो पनि पढ्नुहोस बल्लतल्ल भेटियो भेन्टिलेटर, अस्पताल नपुग्दै बिरामीको मृत्यु

बुधबार नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा भेन्टिलेटर खाली पाइएन । भेन्टिलेटर नपाउँदा गाह्रो भएका बिरामीलाई पनि राख्न सकिएन । उनको उतिखेरै मृत्यु भयो ।

यो पनि पढ्नुहोस भेन्टिलेटर खाली नहुँदा अस्पताल पुगेर पनि बँच्न सकेनन् संक्रमित

पयाप्त भेन्टिलेटरको अभावमा वीरगञ्जका अस्पतालमा बिरामी छटपटाइरहेका छन् । विशेषगरी निजी अस्पतालमा भेन्टिलेटर नहुने समस्या देखिएको छ ।

भेन्टिलेटरकै लागि दैनिक २/३ वटा फोन आउने गरेको सामाजिक अभियन्ता एवं जसपाका युवा नेता ओम प्रकाश सर्राफ बताउँछन् ।

अस्पतालमा संक्रमितका आफन्त बिरामीको हेरचाहसँगै भेन्टिलेटर खोज्नमा हैरान छन् । भेन्टिलेटर खोज्दाखोज्दै बिरामीको मृत्यु भइरहेको छ । उनीहरू आफन्तको मृत्यु निरीह बनेर टुलुटुलु हेर्न बोहेक केही गर्न सक्दैनन् ।

त्यस्तै अवस्थाको सामना वीरगञ्ज २१ पटेलनगरका राजनकुमार पटेलले गरेका छन् । उनका बुवा ५६ वर्षीय रमेश राउत कुर्मीलाई दुई दिन जति ज्वरो आयो । वैशाख १९ गते वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि पुगे ।

कोरोना संक्रमण हुनसक्ने भन्दै अस्पतालले परीक्षण गरेर आउन भन्यो । नारायणी अस्पताल पुगेर एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । औषधि लिएर घर फर्किए ।

‘औषधि खाएपछि ठिक हुनुहुन्छ होला भन्ने लागको थियो, वैशाख २१ गते झनै स्थिति बिग्रियो,’ उनले भने, ‘बुबाले सास फेर्न गाह्रो भयो भनेपछि नारायणीमा लगेर भर्ना गर्‍यौं । स्वास्थ्य अवस्थामा सुधार आइरहेको थिएन ।’

उनका अनुसार वैशाख २७ गते बुबाको अवस्था झनै खराब भयो । नारायणी अस्पतालको भेन्टिलेटर खाली थिएन । सोही दिन आफूहरूले स्पर्श मल्टी स्पेस्यासिलिटी हस्पिटल लगेको राजन बताउँछन् ।

बुधबार नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा भेन्टिलेटर खाली पाइएन । भेन्टिलेटर नपाउँदा गाह्रो भएका बिरामीलाई पनि राख्न सकिएन । उनको उतिखेरै मृत्यु भयो ।

स्पर्शमा २ वटा मात्रै भेन्टिलेटर छ । भेन्टिलेटरमा पहिल्यैदेखि दुईजना बिरामी थिए । बुधबार राति १० बजेतिर नै अस्पतालले भेन्टिलेटर खोजेर बिरामीलाई लैजान भनिसकेको थियो । राति भेन्टिलेटर खोज्दा खोज्दै बुबाको मृत्यु भएको उनी सुनाउँछन् । राति भेन्टिलेटर खोज्दा खोज्दै बुवाको मृत्यु भएको उनी सुनाउँछन् ।

‘भेन्टिलेटर नपाएर छटपटियौं, वीरगञ्जका अस्पताल अस्पताल धायौं । नारायणी अस्पताल लगायत कुनै अस्पतालमा भेन्टिलेटर खाली थिएन,’ उनले भने ‘बुबाको अक्सिजन लेभल ९२ प्रतिशतसम्म पुगेको थियो, अब त सुधार भयो भन्ने लागेको थियो । तर ६०, ४५ गर्दै २५ प्रतिशतसम्म झर्‍यो । बुधबार राति सवा १२ बजेतिर हामीलाई छोडेर जानुभयो ।’

अक्सिजनका लागि छटपटिएर बुबा वितेको आफ्नै आँखाले देख्नुपर्दा मन रोएको उनी सुनाउँछन् ।

पर्सामा भेन्टिलेटरको अवस्था

अस्पतालहरूले जिल्ला प्रशासन कार्यालय पर्सालाई बुझाएको विवरण अनुसार वीरगञ्जमा कोभिड संक्रमितका लागि ३९ वटा भेन्टिलेटर छन ।

नारायणी अस्पतालमा १८ वटा, नारायणी बयोधामा २ वटा, नेशनल मेडिकलले बाबा होटलमा सञ्चालन गरेको आइसोलेसनमा १० वटा, वीरगञ्ज हेल्थ केयरमा ३ वटा, तराई अस्पतालमा ५ वटा, प्रभु हस्पिटल र पर्श मल्टि स्पेस्यासिलिटी हस्पिटलमा २/२ वटा, भवानी अस्पतालमा र आशाराम अस्पतालमा १/१ भेन्टिलेटर छन ।

ती भेन्टिलेटर प्रायः खाली हुँदैनन् । भेन्टिलेटरमा भएका बिरामीलाई निकालेर अर्कोलाई राख्ने कुरा पनि भएन । त्यसैले धेरैजसो निजी अस्पतालले बिरामीका आफन्तलाई भेन्टिलेटर भएको अस्पतालमा लैजानु भन्ने गरेका छन् । भेन्टिलेटर खोज्ने कि मृत्यु रोज्ने ? भन्ने अवस्थामा आफन्त पुग्छन् । तरपनि भेन्टिलेटर पाउँदैनन् ।

रौतहटको माधवनारायण नागरपालिका– ४ विसुनपुर्वाका पारस भण्डारी ५५ वर्षीय हजुरबुवाका लागि भेन्टिलेटर खोजीरहेका छन् । किनकी बिरामीलाई जुनसुकै बेला भेन्टिलेटर आवश्यक पर्न सक्छ ।

‘भेन्टिलेटर खाली छैन, बाहिर व्यवस्था गरेर बिरामी लैजानु’ तीन दिनअघि नै अस्पतालले भनिसकेको छ ।

५ दिन अगाडि स्वासप्रश्वासमा समस्या भएर उनलाई भवानीमा लगिएको थियो । त्यहि दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

‘कतै भेन्टिलेटर खाली भयो भने लैजान हुन्छ भनेर बेला बेलामा वीरगञ्जका विभिन्न अस्पताल धाउँछ,’ उनले भने, ‘कतैपनि पाइरहेको छैन, बुधबार भन्दा बिहीबार स्थितिमा सुधार छ । हाई फ्लोमा दिँदा अक्सिजन लेभल ८०/८५ छ । कतै पाइहाले लैजान हुन्थ्यो भनेर बसेका छौं ।’

के हो भेन्टिलेटर ?

भेन्टिलेटर एउटा मेशिन हो । जसले फोक्सोमा हावालाई पम्प गरेर सास फेर्ने प्रक्रियालाई पुनः समर्थन गर्दछ । यसलाई भेंट वा सास मेसिनको रूपमा चिनिन्छ । यदि कुनै व्यक्तिले आफैं पर्याप्त सास फेर्न सक्दैन भने डाक्टरले भेन्टिलेटर प्रयोग गर्छन ।

चिकित्सकले मेकानिकल भेन्टिलेसन कोरोना संक्रमणबाट फोक्सो गम्भिर असर परेको व्यक्तिलाई प्रयोग गरिरहेका छन् । उनीहरूका अनुसार कोरोना संक्रमणले फोक्सोमा तरल पदार्थ र खकार बनाउँछ । जसले फोक्सोको टिस्युहरूको अक्सिजेनेशन प्रक्रिया रोक्दछ ।

त्यस्तो अवस्थामा मेकानिकल भेन्टिलेसनले बिमीलाई सास फेर्न मद्दत पुर्‍याउँछ । जबसम्म उनीहरूको प्रतिरक्षा प्रणाली र उपचारले संक्रमण खाली गर्न सक्दैन भेन्टिलेटरले सास फेर्न सघाउँछ ।

भेन्टिलेटर खोज्दाखोज्दै बिरामीको मृत्यु भइरहेको छ । उनीहरू आफन्तको मृत्यु निरीह बनेर टुलुटुलु हेर्न बाहेक केही गर्न सक्दैनन् ।

सकारात्मक दबाव र नकारात्मक दबावको गरेर भेन्टिलेटर दुई प्रकारको हुन्छ । सकारात्मक दबावले हावालाई फोक्सोमा धकेल्छ । नकारात्मक दबावकोले छातीको विस्तार र सम्झौता गरी हावालाई फोक्सोमा सार्दछ । पुरानो भएकोले नकारात्मक दबावको भेन्टिलेटर खासै प्रचलनमा छैन ।

सकारात्मक दबावका भेन्टिलेटर पनि इन्भेसिभ (आक्रामक) र नन इन्भेसिभ (गैरआक्रमक) गरेर दुई प्रकारका हुन्छन् ।

आक्रामकमा ट्यूब बिरामीको हावामा (ट्रेकिआ) मुख वा नाक मार्फत घुसाउने र ट्यूब एयरवेमा बनेको प्वालबाट सम्मिलित हुनगरी दुई खालका हुन्छ ।

गैर आक्रामक भेन्टिलेटर मास्कको साथ आउँछन् र घरमा समेत प्रयोग गर्न सकिन्छ । पहिलो, निरन्तर सकारात्मक वायुमार्ग दबाव (सिप्याप)ले कन्सटेन्ट एण्ड स्टिडि हावाको चाप दिन्छ ।

दोस्रो, अटोट्रेटी ((समायोज्य) सकरात्मक वायुमार्ग दबाव (एप्याप)ले सास फेर्ने अनुसार हवाको चाप परिवर्तन गर्दछ ।

बिलेभल पोजिटिभ एयरवे प्रेशर (बाईप्याप) इन्सेलेसन र एक्लोसेसनको लागि बिभिन्न प्रेसरहरूको साथ हावा प्रदान गर्दछ ।

कोरोना संक्रमितका लागि नन इन्भेसिभमा पनि सीप्याप, वाइप्याप मेसिन प्रभावकारी देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दास बताउँछन् ।

‘त्यसो त हामीले आवश्यकता अनुसार इन्भेसिभ खालका भेन्टिलेटर पनि प्रयोग गरेका छौं,’ उनले भने ‘तर संक्रमितका लागि सीप्याप र बाइप्याप बढी प्रभावकारी देखिएका छन् ।’

बायोमेडिकल ईन्जिनियर नहुँदा समस्या

नारायणी अस्पतालको भेन्टिलेटर क्षमता अझै बढाउन सक्ने ठाउँ छ । किनकी नारायणी अस्पतालमा दुईवटा इन्भेसिभ मेशिन र एउटा नन इन्भेसिभ मेशिन बिग्रिएर थन्किएको छ ।

एनेस्थेसिया कन्सल्टेन्ट डाक्टर प्रल्हाद अधिकारी कोरोना संक्रमितका लागि प्रयोग गर्न दिइएको एउटा मात्रै इन्भेसिभ भेन्टिलेटर काम लाग्ने अवस्थामा छ ।

‘निरन्तर प्रयोगमा ल्याईयो, मेन्टेनेन्स गर्न पाइएको छैन, दुईवटा बिग्रिएरै थन्केको छ,’ उनले भने ‘एउटा मात्रै राम्रोसँग काम गरिरहेको छ, अरुको भर छैन ।’

नन इन्भेसिभ भेन्टिलेटर ९ वटा मध्ये ८ वटा काम चल्ने खालका छन् । विग्रिएको एउटाको मर्मत हुन पाएको छैन । हाई फ्लो नोजल क्यानुला पनि ४ वटा रहेको डाक्टर अधिकारीले बताए ।

‘ठूलोले आउटकम पनि राम्रो दिएन । बिग्रेको पनि छ, सीप्याप बाइप्याप जस्ता साना मेशिनले नै राम्रो काम गरिरहेको छ,’ उनले भने, ‘बिग्रेको मर्मत गरिदिन सरोकारवालालाई भनिरहेका छौं, भइरहेको छैन ।’

बुबाको अक्सिजन लेभल ९२ प्रतिशतसम्म पुगेको थियो, अब त सुधार भयो भन्ने लागेको थियो । तर ६०, ४५ गर्दै २५ प्रतिशतसम्म झर्‍यो । बुधबार राति सवा १२ बजेतिर हामीलाई छोडेर जानुभयो ।

कोभिडका बिरामीलाई अत्यावश्यक मानिएको भेन्टिलेर मर्मत गर्ने दक्ष जनशक्ति नारायणी अस्पतालमा छैन । भेन्टिलेटर मर्मतका लागि आवश्यक पर्ने बायोमेडिकल इन्जिनियर नारायणी अस्पतालमा छैन । बायोमेडिकल इन्जिनियरले भेन्टिलेटर मात्रै नभएर ल्याबका मेशिन, एक्सरे, इन्डोस्कोपी जतिपनि अस्पतालमा भएका उपकरण मर्मत गरिदिन्थे ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सञ्जय ठाकुर हिमालयन बैंकले दिएको एउटा भेन्टिलेटरमा सप्लायरको वारेन्टि पिरियड बाँकी रहेकोले उसैसँग मर्मत गराउने प्रयास गरेको तर काम नभएको बताउँछन् ।

अस्पतालले टिचिङ अस्पतालका इन्जिनिरलाई बोलाएर मर्मत गराउने गरेकोमा उनी पनि संक्रमित भएर बसेका छन् ।

‘अस्पतालमा बायो मेडिकल इन्जिनियरको दरबन्दी नै छैन, त्यसैले भेन्टिलेटरलगाय अस्पतालका उपकरणमा स–साना समस्या आउँदा पनि मर्मत गर्न लामो समय लाग्छ,’ उनले भने, ‘विद्युत आपूर्तिमा हुने गडबढीले गर्दा नयाँ मेशिन छिट्टै बिग्रने गरेको छ ।’

विद्युत प्राधिकरणसँग अस्पतालका लागि स्पेशल लाएनको व्यवस्था गर्न आग्रह गर्दा असफल भएको बताउँदै उनले बायोमेडिकल इन्जिनियर महामारीको बेला ६ महिनाको लागि करारमै भएपनि राख्ने तयारी गरेको बताए ।

अस्पतालले १० वटा हाई फ्लो नोजल क्यानुला र ६० थान नन इन्भेसिप बाइप्याप मेशिन खरिद प्रक्रिया सुरु गरेको उनले बताए ।

‘मन्त्रालयसँग बजेटका लागि माग गरेका छौं । बजेट सुनिश्चित हुने वित्तिकै सप्लायर्सले सामान दिन्छ,’ डाक्टर ठाकुरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment