Comments Add Comment
साहित्य–वार्ता :

बेलाबेला म आफैं इतर भएको महसुस हुन्छ

पराजित पोमु ‘इतर आवाज साहित्य समाज’ का अध्यक्ष हुन् । वैदेशिक रोजगारीको सिलसिलामा उनी दक्षिण कोरियामा छन् । श्रमसँगै उनी त्यहाँ पनि साहित्यमा सक्रिय छन् । उनी साहित्य लेखन, विमर्श, पुस्तक प्रकाशन गरिरहेका छन् ।

नेपाली समाजमा पिछडिएका जाति–समुदायको प्रतिनिधित्व गर्दै उनले सन् २०१६ देखि ‘इतर साहित्य’ अभियान चलाएका छन् । यही आन्दोलनको प्रमुख दस्तावेज स्वरूप प्रकाशित संयुक्त कवितासंग्रह हो, ‘इतर कविता ।’

इतर कवितामा राई, लिम्बू, नेवार, कोइँच, थारू, शेर्पालगायत १३ आदिवासी–जनजातिका नेपाली भाषामा लेखिएका ३४२ कविता समेटिएको छ । इतर आवाज आन्दोलनबाट कवि एवं अभियन्ताको परिचय बनाएका पराजित पोमुसँग ‘इतर कविता’ र नेपाली साहित्यबारे निर्भीकजंग रायमाझीले गरेको कुराकानी :

इतर कविता’मा आदिवासी जनजातिको मात्रै कविता समेटिएको छ । यसले नेपालको सबै इतर समुदाय, समूह वा क्षेत्र समेट्न सक्छ त ?

सबै इतर समुदायको आवाजलाई समेट्ने हाम्रो मूल प्रयत्न हो । पहिलो चरणमा आदिवासी–जनजाति, दलित  तथा मधेसी समुदायका कवितालाई मात्रै समावेश गर्नसक्यौं । यसको अर्थ यो होइन कि राज्यको मूल प्रवाहबाट इतर पारिएका अन्य समूह र वर्गहरूसँग हामी जानकार छैनौं ।

नेपाली समालोचना क्षेत्र अहिले मृतप्रायः छ । समालोचनाको क्षेत्र नै नभएपछि गम्भीर व्याख्या हुँदैन । फलतः आन्दोलनहरू खुम्चिएजस्तो, साँघुरिएजस्तो देखिएको पक्कै हो ।

आखिर सत्ताको केन्द्रले जहिल्यै अरूलाई इतर बनाइरहेको हुन्छ । सत्ताको केन्द्रमै पनि भाषा, जाति, वर्ण, लिङ्गका आधारमा इतर बन्ने–बनाउने प्रक्रिया भइरहेको हुन्छ । यो संग्रहमा सबै इतर वर्ग र समुदाय नसमेटिए पनि सत्ताले इतर पारेको ठूलो हिस्सालाई भने हामीले समेट्न सक्यौं । राज्य मातहतका साहित्यिक संस्थाले गर्न नचाहेको काम हामीले गर्‍यौं ।

इतर कविता’ प्रकाशनको मूल उद्देश्य के हो ?

नेपालमा भएको विविध जाति, भाषा, धर्म, संस्कृति, भूगोल साहित्यमा  प्रतिबिम्बित हुनुपथ्र्यो । तर राज्यको एकल जातीय नीतिका कारण साहित्यमा पनि निश्चित समुदायको मात्रै प्रभुत्व देखिन्छ ।

साहित्य, राजनीति, सत्तामा प्रतिनिधित्व गरिंदा एउटा निश्चित जाति, संस्कृति, धर्म वा समुदायलाई मात्र चिन्ने अवस्था छ । जुन दुःखद पक्ष हो । यसले एउटै राज्यभित्रका बासिन्दाबीच प्रष्ट विभेद सिर्जना गर्‍यो नि । आदिवासी जनजाति, सीमान्तकृत, उत्पीडित, दलित, मधेसी समुदाय के अनागरिक हुन् त ?

महिलाको अवस्था पनि उस्तै दर्दनाक छ । यौनिक अल्पसंख्यकको विषय पनि छ । क्षेत्रीय इतरतामा परेका समुदायको कुरा छ । त्यसैले यी  सबै इतर समुदायको भाषा, संस्कृति र संवेदनालाई साहित्यमा स्थापित गर्नु हाम्रो मूल लक्ष्य हो ।

तपाईं आफू कोरिया बसिरहनुभएको छ । नेपाली समाजको परिवर्तनका लागि त नेपाल नै बसेर काम गर्नुपर्ने होइन र ?

केही समयदेखि म कोरियामा बस्दै आएको छु तर म एक्लो होइन । हामी जहाँ रहेपनि प्रतिरोधको आवाज कुनै न कुनै रूपमा उठाइरहेका हुन्छौं । फेरि राष्ट्रवादी भइपल्टने नाममा कतै हलचलै नगर्ने, क्रान्तिकारी हुने नाममा टायर बालेर, चक्काजाम गरेर मात्र समाज परिवर्तन हुन्छ भन्ने मान्यतासँग म सहमत छैन । जुनसुकै स्थानमा रहेर पनि समाज परिवर्तनमा योगदान गर्न सकिन्छ ।

तपाईंहरू आन्दोलनमा छौं भन्नुहुन्छ । गएका तीन दशकमा नेपालका कुनै पनि साहित्यिक आन्दोलन सफल देखिंदैनन् नि !

साहित्यिक आन्दोलनहरू समयका उपज हुन् । हरेक आन्दोलन नयाँ विचार, एजेन्डा र विषयका वाहक हुन् । त्यसको व्याख्या, विस्तार र मूल्यांकन गर्ने काम बौद्धिक, चिन्तक, समालोचकहरूको हो । अनि त्यसलाई ग्रहण गर्ने, आम स्वीकृति दिने समाजले हो ।

दुःखद पक्ष नेपाली समालोचना क्षेत्र अहिले मृतप्रायः छ । समालोचनाको क्षेत्र नै नभएपछि गम्भीर व्याख्या हुँदैन । फलतः आन्दोलनहरू खुम्चिएजस्तो, टाक्सिएजस्तो देखिएको पक्कै हो । तर, आन्दोलनसँग जोडिएका लेखकहरू कम उर्वर छैनन् । जसरी सन् १९६०÷७० को दशकमा अफ्रिका र अमेरिकामा ब्ल्याक लिटरेचर आन्दोलन उठ्यो, गोरा जातिहरूको दबदबाका बीच पनि त्यस आन्दोलनले पछि ‘ब्ल्याक पोइट्री’को मान्यता पायो ।

हाम्रा इतर आवाजहरूलाई त्यस्ता आन्दोलनहरूसँग जोडेर किन ‘रिभ्यु’ गरिंदैन ? प्रष्ट छ, सत्ता भनौं संस्थापन पक्षले जहिले पनि उत्पीडनको, किनाराको आन्दोलनलाई ‘म्युट’ बनाउने कोशिश गर्छ । त्यसैले आन्दोलनहरू असफल होइन कि जीवित छन् या छैनन् भन्ने महत्वपूर्ण हो ।

इतर कविता’को मूल स्वर राजनीतिसँग निकै नजिक देखिन्छ किन ?

किनाराका स्वरहरू पीडाका हुन्छन्, कारूणिक हुन्छन् । तर पनि सुनिंदैनन् । कारण, केन्द्रले यस्ता आवाजलाई पर राखेर हेर्छ । अनि नसुनिएपछि पीडाको स्वरहरूले विद्रोहको रूप लिन्छ । हरेक परिवर्तनको मुख्य केन्द्र राजनीति नै हो । केन्द्र र इतर राजनीतिकै दुई पाटा हुन् ।

यो संग्रहको जाति विशेषको कवितामाथि लेखिएका भूमिकाहरू निकै सतही र औसत देखिन्छ किन ?

यो संग्रह बृहत् छ । यसभित्र फरक–फरक समुदायका कविलाई समेटिएको छ । भिन्न समुदायका भिन्न ऐतिहासिक, सांस्कृतिक, राजनीतिक पृष्ठभूमि छन् । उनीहरूमा धेरै हदसम्म समानता भनेको राज्यसत्ताबाट भएको उत्पीडन हो, उनीहरूको सहअस्तित्वको पहिचान हो । हामीले यसमा ती समुदायभित्रबाट खस नेपाली भाषामा लेख्ने कविका कवितालाई छनोट गरेर राखेका छौं ।

किनाराका स्वरहरू पीडाका हुन्छन्, कारूणिक हुन्छन् । तर पनि सुनिँदैनन् । कारण, केन्द्रले यस्ता आवाजलाई पर राखेर हेर्छ । अनि नसुनिएपछि पीडाको स्वरहरूले विद्रोहको रूप लिन्छ ।

कतिपय कविता सम्बन्धित समुदायको मातृभाषाबाट पनि अनुवाद भएका छन् । नेपालका सबै समुदायले के खस नेपाली भाषामा मात्रै आफूलाई अभिव्यक्त गर्छन् त ? त्यसमा पनि कतिले कवितामार्फत् अभिव्यक्त गर्लान् ? यो विचारणीय छ ।

हामीले के थाहा पायौं भने १२४ भन्दा बढी जाति र भाषा भएको हाम्रो मुलुकमा सीमित जाति समुदायले मात्र खस नेपाली भाषामा कविता सृजना गर्दा रहेछन् । त्यसैले हामीले यहाँ जति पनि समुदायको कविता राखेका छौं, त्यसमाथि हामीले अलिक फरक आग्रहका टिप्पणी लेखाएका छौं ।

अबको नेपाली साहित्यको मूलधार यही इतर समूह बन्छ वा मूलधार फेरिन सम्भव छ ?

अहिलेको तथाकथित मूलधारभन्दा इतरमा रहेका लेखकका सृजनामा मौलिकता छ, नयाँपन छ । तथाकथित मूलधार भनिएको साहित्य विश्व भूमण्डलीकरण र औपनिवेशिक चिन्तनले ग्रसित छ । पाश्चात्य र संस्कृत साहित्यकै शैली, प्रवृत्ति दोहोरिएको छ । यो पुनरावृत्तिले मौलिक नेपाली साहित्य निर्माण हुन सक्दैन । त्यसैले इतर समुदायले अहिले जुन आफ्नै माटो, जराको लेखन गरिरहेको छ, त्यो नै मूलधार बन्नुपर्छ ।

विदेशमा नेपाली साहित्यमा सक्रिय हुँदा नेपालबाट कत्तिको समर्थन पाउनुभएको छ ?

बेलाबेला आफूभित्र ‘इतरको पनि इतर’ भएको महसुस हुन्छ ! तर इतर अवधारणा समय र स्थानले निर्धारित गर्नेमा म प्रष्ट छु । त्यसैले म भन्छु– इतर लेखकको काम जहाँसुकै बसेर पनि लेख्नु हो ।

हामीले नेपालबाट सहयोग पाउने अथवा लिने अपेक्षा स्वभाविक हो । किनभने हामी इतर अभियन्ताहरू सबै नेपाली नै छौं । केही वर्षअघि मेरो पहिलो कवितासंग्रह ‘लेप्मुहाङको डुङ्गा’ नेपालबाटै प्रकाशित भयो । अर्की अभियन्ता सुष्मा रानाहँमाको ‘आमाको तासफोटो’ कविताकृति र यही ‘इतर कविता’ संयुक्त कवितासंग्रह पनि नेपालबाटै प्रकाशित भयो ।

यसो त जहीं पनि सत्ताधारीहरू आफूलाई केन्द्र मान्ने, आफ्नै वरिपरि स्तुति–भजन गाइरहून् ठान्दछन् । र नै त्यस्ता गलत मान्यता भत्काउन इतर स्वरहरू उठ्ने गरेका छन् । राज्य तहबाट हामीलाई सहयोग छैन ।

कोरियामा नेपाली साहित्यको अवस्था कस्तो पाउनुहुन्छ ?

कोरिया विश्वको कडा परिश्रम गर्ने देशमा तेस्रो नम्बरमा पर्छ । यहाँका कामदारहरूले लामो समय कडा मिहिनेत गर्नुपर्छ । यद्यपि यहाँ नेपाली पाँच–छवटा साहित्यिक संस्थाहरू स्थापना भएका छन् । जहाँ लेखकहरू संगठित छन्, सृजनारत छन् । तिनले गर्ने सृजना र रचनात्मक गतिविधि नै यहाँको नेपाली साहित्य हो ।

विशेष त कोरियामा वर्षमा ४ वटा लामो छुट्टी हुने गर्छ, यही मौका छोप्ने हो हामीले । भेटघाट, कार्यक्रम गर्ने हो । सन् २०१६ मा हामीले इतर आवाज साहित्य संस्था स्थापना गरेपछि यहाँको साहित्यले अलिक गति लिएको हामीले महसुस गरेका छौं ।

सरकारी तहबाट कोरिया र नेपालको साहित्य सम्बन्ध विस्तार गर्न सकिंदैन ?

यसका लागि राज्यस्तरबाट पहल हुनु पर्‍यो नि । हामी त यहाँका आवधिक कामदार हौं तर पनि हामीले सकेजति गरिरहेका छौं । जस्तो, कोरियन गैरसरकारी संस्था युरेसिया फोरम र नेपाली लेखक संघबीच मैत्रीपूर्ण सम्बन्धमा हामी पनि पुलजस्तै छौं ।

यी संस्थाका पहलमा यहाँका नेपाली कविहरूको ‘यो मेसिनको शहर हो’ संयुक्त कवितासंग्रह सम्पादन गर्ने मौका मैले पाएको थिएँ । यसले कोरियामा ‘बेस्ट सेलर’, ‘बेस्ट अनुवाद’ र ‘बेस्ट अवार्ड’ प्राप्त गर्‍यो । राज्यस्तरबाटै साहित्यिक–सांस्कृतिक सम्बन्धका कार्य अघि बढे त झनै राम्रो हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment