Comments Add Comment

बेहुलाले दुई दुना नजान्दा बिहे नै रद्द

दुनियाँमा कहिल्यै बेहुला वा बेहुलीले जोड, घटाउ, गुणन वा भागाको हिसाब नजानेको विषयले बिहे नै रद्द भएको सुन्नुभएको छ ? शायद यस्तो दुनियाँमा अन्त कहीं हुन्न होला । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तै घटना भएको छ ।

वास्तवमा जीवनसाथी छान्नका लागि हुनेवाला जीवनसाथीका निश्चित क्षमता वा दक्षता जसले पनि हेर्दछ । त्यसमध्ये शैक्षिक स्तर एउटा महत्वपूर्ण मापदण्ड हो ।

कतिपयले बिहे टुंगो लागिसक्दा समेत आफ्नो वास्तविक शैक्षिक योग्यता लुकाउने गर्दछन् । आफ्नो पति वा पत्नीसँग आफ्नो शैक्षिक योग्यता लुकाएर लुक्ने कुरा कहाँ पो हो र ? एकदिन खुलासा भैहाल्छ भन्नेपनि हेक्का हुँदैन कतिपयलाई ।

भारतको उत्तर प्रदेशस्थित माहोबामा हालै एउटा यस्तै घटना भयो । आफ्नो हुनेवाला पतिले सबैभन्दा सजिलो गुणनखण्ड अर्थात् २ का दुनाहरु नजानेपछि एक युवतीले बिहे नै रद्द गरिदिएकी छिन् ।

समाचार अनुसार बिहेको मण्डपमा पुगिसकेपछि बिहे संस्कार सुरु हुनु अगाडि बेहुलीले बेहुलाको परीक्षा लिने निधो गरिन् । त्यसपछि उनले आफ्नो हुनेवाला पतिलाई २ का दुना भन्न लगाइन् । तर बेहुलालाई २ का दुना फरर्र भन्न आएन । हुनेवाला लोग्नेलाई दुईका गुणनखण्ड समेत नआएको देखेपछि उनले बिहे नगर्ने निधो गरिन् र बिहे रद्द भएको भन्दै त्यहाँबाट निस्किइन् ।

प्रहरीका अनुसार उक्त बिहे मागी विवाह थियो । विवाह मण्डपमा बेहुलीले बेहुलाको परीक्षा लिएर विहे रद्दको घोषणा गरेर हिंडेपछि त्यहाँ उपस्थित सबै पाहुनाहरु तिनछक्क परे । बेहुलीका परिवारजनले उनलाई सम्झाउने कोशिश गरे तर उनले मानिनन् । आधारभूत शैक्षिक योग्यता पनि नभएको मानिससँग आफूले बिहे नगर्ने उनले बताइन् ।

बेहुलीको भतिजले जनाए अनुसार बेहुला पक्षले बेहुलाको शैक्षिक योग्यताको विषय ढाँटेको थियो । वास्तवमा बेहुला निरक्षर रहेछ अर्थात् स्कुल नै गएको रहेनछ ।

सामाजिक रुढिवादी संस्कार र भविष्यमा हुनसक्ने आलोचनालाई बेवास्ता गर्दै ती युवतीले लिएको निर्णयको सामाजिक सञ्जालमा समेत निकै प्रशंसा भएको छ  ।

अन्ततः बेहुलीको घोषणा अनुसार नै दुवै पक्षले समझदारीमा बिहे रद्द गर्ने निर्णय गरे । एकले अर्को पक्षलाई दिएका उपहार लगायतका वस्तुहरु समेत फिर्ता गर्ने समझदारी भएसँगै प्रहरीले यस विषयमा कुनै मुद्दा दायर नगरेको बताइएको छ ।

टाइम्सनाउ न्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment