Comments Add Comment

अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड फिरौती

अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणालीको रुपमा रहेको कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकरहरुलाई अमेरिकाले ६ करोड रुपैयाँभन्दा धेरै रकम फिरौती बुझाएको छ ।

कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सुचारु भएको छ ।

कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण भएको थियो । जसका कारण पाँच दिनसम्म प्रणाली बन्द हुँदा अमेरिकाका विभिन्न ठाउँमा डिजेल, पेट्रोल तथा हवाई इन्धनको आपूर्ति प्रभावित भएको थियो भने इन्धनको मूल्यवृद्धि समेत भएको थियो । सोमबार अमेरिकाले विभिन्न राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेको थियो ।

अमेरिका सरकारले ह्याकरहरुलाई माग बमोजिमको फिरौती दिइएको कुरा नबताएको भएपनि सीएनएन, न्युयोर्क टाइम्स, ब्लुम्बर्ग तथा वालस्ट्रिट जर्नलहरुले विभिन्न सूत्रहरुलाई उद्धृत गर्दै अश ह्याकरलाई रकम तिरेको दाबी गरेका छन् ।

त्यस्तै कोलोनियल कम्पनीले पनि यस विषयमा केही बताएको छैन ।

स्मरण रहोस् शुक्रबार मात्रै जापानी कम्पनी तोसिबाको फ्रान्सस्थित युरोपेली युनिटमा सोही ह्याकर समूहले साइबर हमला गरेको थियो । यद्यपि उक्त हमलामा कुनैपनि डाटा लिक नभएको र निकै कममात्र डाटा गुमाउनु परेको तोसिबाले जनाएको छ ।

के हो कोलोनियल पाइपलाइन ?

कोलोनियल पाइपलाइन अमेरिकामा प्रशोधित पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन प्रणाली हो ।

यो पाइपलाइन ८ हजार ९ सय किलोमिटर लामो छ र यसले आम रुपमा पूर्वी तटीय क्षेत्रमा हरेक दिन २५ लाख ब्यारेल तेल आपूर्ति गर्दछ ।

त्यसैले यो पाइपलाइन बन्द भएको छैटौं दिनमै अमेरिकाका पेट्रोल पम्पहरुमा गाडीको लाइन लाग्न सुरु भएको थियो र बुधबार अमेरिकामा पेट्रोलको मूल्य वृद्धि भएको थियो । पूरै दक्षिण पूर्वी इलाकाका कैयौं पम्पहरुमा इन्धन रित्तिएको थियो ।

आफ्नो प्रणाली ह्याक भएसँगै सुरुमा त कोलोनियलले ह्याकरलाई फिरौती रकम नदिने बताएको थियो । गत बुधबारदेखि प्रणाली पुनः सुचारु हुने उसको दाबी थियो । तर उसले ह्याकरलाई माग अनुरुपको फिरौती रकम तिर्नुपरेको बताइएको छ । आपूर्ति श्रृंखला सामान्य अवस्थामा आउन अझै केही दिन लाग्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको शनिबारसम्ममा आपूर्ति प्रणाली सामान्य हुने दाबी गरेका छन् ।

के हो डार्कसाइड ?

साइबर सुरक्षा विज्ञहरुका अनुसार डार्कसाइड ह्याकर समूहले विभिन्न कम्पनीहरुका कम्प्युटर नेटवर्कमा घुसपैठ गरी संवेदनशील डाटा चोरी गर्ने गर्दछ ।

त्यसपछि डार्कसाइडले सो कम्पनीलाई सूचना दिन्छ कि उसका डाटाहरुको कपी आफूसँग सुरक्षित छ । यदि माग अनुसारको फिरौती नदिएमा ती डाटा लिक गरिदिने चेतावनी डार्कसाइडले दिने गरेको छ ।

डार्कसाइडले यसखाले साइबर आक्रमणका लागि सफ्टवेयर तयार गर्दछ र आफ्ना सदस्यहरुलाई सफ्टवेयरको तालिम दिएर साइबर हमला गर्न लगाउँछ । साइबर हमलापछि प्राप्त रकम फिरौती समूहका सदस्यहरुले बाँडीचुँडी लिन्छन् ।

कोलोनियलमाथि भएको साइबर आक्रमणलाई लिएर धेरैले अनुमान गरेका थिए कि त्यो राजनीतिक उद्देश्यका साथ गरिएको थियो ।

तर त्यस्तो अनुमानलाई गलत सावित गर्दै डार्कसाइडले आफ्नो वेबसाइटमा लेखेको थियो, ‘हाम्रो उद्देश्य केवल पैसा कमाउनु हो न कि समाजका लागि समस्या पैदा गर्नु ।’

डार्कसाइडलाई फिरौती : बाइडेनलाई झट्का

कोलोनियल पाइपलाइनले ह्याकरहरुलाई फिरौती दिनुपरेको घटना अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि एउटा ठूलो झट्का भएको विश्लेषण गरिएको छ ।

यसै हप्ता उनले संघीय साइबर सुरक्षालाई अझै मजबूत बनाउनका लागि एक आदेशमा हस्ताक्षर गरेका थिए । ताकि अमेरिकालाई भविष्यमा हुने साइबर हमलाहरुबाट सुरक्षित राख्न सकियोस् । तर बाइडेनको यो प्रयास विफल हुँदै गएको साइबर सुरक्षा विज्ञहरुको ठम्याइ छ ।

कोलोलियन जस्तो व्यापक साइबर हमलाको घटनापछि बाइडेन प्रशासनले कम्पनीहरुलाई आफ्नो कम्प्युटर नेटवर्कलाई हमलाबाट जोगाउनका लागि लाखौं रकम खर्च गर्न प्रोत्साहित गर्न सक्दछ । कतिपयले यस घटनापछि ह्याकरहरुलाई फिरौती दिने कुरामा बन्देज लगाउनुपर्ने समेत मत प्रकट गर्न थालेका छन् ।

तर कहिलेकाहीं यस्ता साइबर हमलाका कारण कम्पनीहरु, रोजगारी तथा मानिसको जीवन समेत खतरामा पर्न जान्छ र यस्तो बेला नीति निर्माताहरुका लागि फिरौती नदिने गरी कुनैपनि फैसला लिन गाह्रो हुन्छ ।

फिरौतीमा बन्देज लगाउनुपर्ने भन्ने मानिसहरुको तर्क यो पनि छ कि कोलोनियलले फिरौती दिइसकेपछि पनि साइबर अपराधीहरुले उक्त पाइपलाइन प्रणालीलाई निकै नै सुस्त गतिमा सुचारु गराइरहेका छन् । सबै सामान्य अवस्थामा आउन केही समय लाग्नेछ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment