
१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो ।
कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालमा रिफर गर्ने सहमतिपछि अस्पताल थप संक्रमितलाई भर्ना लिन सहमत भएको बताइएको छ ।
‘स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहींबाट गर्नुहुन र त्यहाँ सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गरी पठाउनु हुन सबैमा अनुरोध गर्दछु,’ अस्पताल निर्देशक डा. डम्बर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार साँझ अस्पतालले एक विज्ञप्ति जारी गर्दै शनिबारबाट थप बिरामीलाई भर्ना लिन नसक्ने बताएको थियो । उक्त सूचना जारी गरेपछि सर्वसाधारणले अस्पताल प्रशासन र प्रदेश सरकारप्रति सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेका थिए ।
अस्पतालले भने नेपालगञ्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसक्ने जनाएको थियो । तर, अस्पताललाई कम्पनीहरुले कर्णालीमा अक्सिजन आपूर्ति नरोकेको एचओ अक्सिजन इण्डष्ट्रिज प्रालि नेपालगञ्जका सञ्चालक रामु खड्काले बताए ।
‘बिहीबार र शुक्रबार गरी ११० वटा सिलिण्डर पठाएका थियौं, हामीले अवरोध गरेका छैनौं, पालो आउन समय लागेको मात्र हो,’ खड्काले भने ।
प्रतिक्रिया 4